अफगानिस्तानमा अमेरिकाले भियतनामको नियति भोग्दै छ

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

इतिहासकै सबैभन्दा ठूलो सैन्यशक्ति अमेरिकाले रातको छेको पारेर अफगानिस्तानबाट बाहिरिनुपर्यो 

अप्रिल १९, १९७५ मा उत्तरी भियतनामी फौजले साइगन विमानस्थलमा रकेट बर्साउन थाल्यो । भीषण बमबारीका कारण अमेरिकी फौजसँग चौथो विकल्प (अप्सन आइभी) कार्यान्वयन गर्नेबाहेक अन्य विकल्प बाँकी रहेन । चौथो विकल्प कार्यान्वयनका लागि भियतनामभित्र रहेका सबै अमेरिकी अधिकारी, तिनका भियतनामी सहयोगी र तिनको नातेदारलाई शीघ्रतासाथ देशबाट निकाल्नुपर्ने थियो । यसका लागि १८ घन्टा लामो अप्रेसन चलाइयो । सयौँ हेलिकोप्टरमार्फत भियतनामस्थित अमेरिकी दूतावासभित्र डर र व्यग्रतासाथ बसिरहेका मानिसलाई उद्धार गरिएको थियो । अमेरिकी दूतावासबाट उद्धार गरिएका मानिसलाई नजिकै समुद्री किनारमा पर्खिरहेको अमेरिकी युद्धक विमानवाहकसम्म पुर्याइएको थियो ।

अमेरिकी सेनाले दूतावासभित्र रहेका मानिसलाई उद्धार गर्ने हल्ला सुनेर हजारौँ भियतनामी दूतावासको गेटमा जम्मा भएका थिए । धेरैले उद्धारका लागि याचना गरिरहेका थिए । उनीहरू हिंसाग्रस्त देशबाट उम्कन चाहन्थे । ‘भियतनाम : अ हिस्ट्री’का लेखक स्ट्यान्ले करनाउले त्यस दिनको घटनाबारे व्याख्या गर्दै लेखेका छन्, ‘आतंकित भियतनामीहरू उद्धारका लागि चीत्कार गरिरहेका थिए, तर अमेरिकी सेनाले तिनलाई बेवास्ता गर्यो ।’ 

झन्डै आधा शताब्दीपछि अमेरिकी फौजले फेरि पनि भियतनामबाट जस्तै लज्जास्पद बहिर्गमन गर्यो । यसपटक उसले ‘साम्राज्यको चिहान’ भनेर परिचित मुलुकबाट भाग्नुपर्यो ।

झन्डै आधा शताब्दीपछि अमेरिकी फौजले फेरि उस्तै लज्जास्पद बहिर्गमन गर्यो । यसपटक अमेरिकी फौज ‘साम्राज्यको चिहान’ भनेर परिचित मुलुकबाट भाग्नुपर्यो । हुन त अमेरिकीहरूले कहिल्यै बृहत्तर इतिहासबाट पाठ सिकेनन्, तर उनीहरूले भियतनाममा भोग्नुपरेको नियतिबाट भने पाठ सिकेको जस्तो देखियो । 

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाभित्रका केही सामरिक र व्यापारिक केन्द्रमा आतंकवादी आक्रमण भएपछि अमेरिका रन्थनिएको थियो । अमेरिकी सरकार र नागरिक दुवैमा आक्रमण गर्नेहरूलाई जसरी पनि तह लगाउनुपर्छ भन्ने भावना देखिन्थ्यो । गुप्तचर संस्थाले आक्रमणमा अल–कायदा र त्यसका प्रमुख ओसामा बिन लादेन जिम्मेवार रहेको सूचना पायो । तिनै निकायले लादेन अफगानिस्तानमा लुकेर बसेको बताए । लादेनलाई सुम्पन अमेरिकाले गरेको मागलाई अफगानिस्तानको तत्कालीन तालिवान सरकारले अस्वीकार गर्यो । त्यसपछि अमेरिकाले कुनै समय सोभियत संघसँगको युद्धमा आफ्नो सहयात्री रहेका तालिवानविरुद्ध आक्रमण सुरु गर्यो । 

तालिवानलाई सत्ताच्युत गर्ने र अलकायदालाई ध्वस्त बनाउन भनेर अमेरिकाले २० वर्षअघि सुरु गरेको सो युद्धको केन्द्र थियो, काबुलबाट २५ किमी उत्तरमा रहेको बग्राम हवाई अड्डा । तर, ६ जुलाईको झिसमिसे अन्धकारमै अमेरिकी सेनाले सो हवाई अड्डा छाड्यो । हल्लाखल्ला नहोस् भनेर रातमै निस्किएका अमेरिकीले सो हवाई अड्डाका अफगान कमान्डरलाई समेत खबर गरेनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बग्राम हवाई अड्डामा तैनाथ अफगान सेनाले हवाई अड्डामा बिजुली अवरुद्ध भएर निस्पट्ट अँध्यारो भएपछि मात्र अमेरिकी फौज गइसकेको चाल पाएका थिए । अफगान युद्ध सबैभन्दा भीषण भएको समयमा यो हवाई अड्डामा एक लाखसम्म अमेरिकी फौज बस्थे । इतिहासकै सबैभन्दा ठूलो सैन्यशक्ति अमेरिकाले आफ्नो सबैभन्दा नजिकको स्थानीय मित्रलाई समेत सूचना नदिई बाहिरिँदा केहीले भियतनामको घटना सम्झेको हुनुपर्छ । समाचारअनुसार अमेरिकी सेनाले हवाई अड्डामा ३५ लाख उपकरण छाडेका छन् । तिनमा हजारौँ नागरिक प्रयोजनमा प्रयोग हुने गाडी र सयौँ सैन्य वाहन पनि छन् । अधिकांश गाडीका साँचो भने छाडिएका छैनन् । केही साना हतियार र गोलीगठ्ठा पनि नलगेको अफगान सेनाले मिडियालाई बताएको छ । 

ती सामग्री तालिवानको हातमा पर्नबाट बच्यो भने अमेरिकाका अफगान मित्रहरूको उपयोगमा आउलान् । अमेरिकालाई हराएर उत्तरी भियतनामी फौजले जसरी भियतनाम युद्ध जितेको थियो, अहिले तालिवानले अफगानिस्तानमा त्यस्तै सफलता हासिल गर्ने सम्भावना बढेको छ । 

रोमन इतिहासकार ट्यासिटसको एउटा चर्चित भनाइ छ– ‘उनीहरूले सबै तहसनहस बनाएपछि त्यसैलाई शान्तिको नाम दिए ।’ इतिहासकार स्ट्यान्ले करनाउले भियतनाम : अ हिस्ट्री नामक पुस्तक यही भनाइबाट सुरु गरेका छन् । यदि कसैले सेप्टेम्बर ११ को परिप्रेक्ष्यमा अफगानिस्तानको इतिहास लेख्न सुरु गर्यो भने ट्यासिटसको भनाइ यस सन्दर्भमा पनि एकदम उपयुक्त हुन्छ । 

(एलेक्स लोले हङकङ र टोरन्टोबाट प्रकाशित हुने विभिन्न प्रकाशनमा रिपोर्टर र सम्पादकका रूपमा काम गरिसकेका छन्) 
साउथ चाइना मर्निङ पोस्टबाट

 

सुझावित समाचार