कालीगण्डकी र नदी संरक्षणको बहस

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

प्राकृतिक रूपमा अनुपम विशेषता बोकेको कालीगण्डकी सांस्कृतिक रूपमा पवित्र र अपरिमित सम्भावना बोकेको नेपालका तीन ठूला नदी प्रणालीमध्ये एक हो । यस नदीले बोन, मष्ट, बौद्ध तथा हिन्दू सम्प्रदायको जीवन पद्धतिसँग ऐतिहासिक कालदेखि सीधा सम्बन्ध राख्छ ।

नदी उत्पत्तिका सन्दर्भमा भूगर्भशास्त्रीय अध्ययनले लाखौँ वर्ष पहिले नेपालको हिमालय क्षेत्रमा टेथिस सागर विस्थापित भई नदी उत्पत्ति भएको तथ्यलाई उजागर गरेको छ । जसअनुसार भारतीय उपमहाद्वीपको भौगर्भिक प्लेट निरन्तर माथितिर धकेलिने र तिब्बतीयन भौगर्भिक प्लेट स्थिर रहने प्राकृतिक स्वभावका कारण कालान्तरमा सागर रहेको क्षेत्र विस्थापित भई हालको हिमालय क्षेत्र तथा जलनिकासका लागि कालीगण्डकी नदीलगायतको उत्पत्ति भएको मानिन्छ । कालीगण्डकी नदीमा भेटिने शालिग्रामलाई तत्कालीन सामुद्रिक जीवावशेषका रूपमा लिइन्छ । हिन्दू धर्मग्रन्थहरूमा कृष्ण (काली) गण्डकी नदीको व्याख्या छ । वराह पुराणअनुसार महर्षि गण्डककी सुपुत्री गण्डकीले श्रीकृष्णको तपस्या गरी आफू गण्डकी नदी र श्रीकृष्णलाई सुपुत्रका रूपमा शालिग्रामका रूपमा प्रकट गरेको उल्लेख छ । यो नदी देवघाटमा त्रिशूली नदीसँग मिसिएपछि नारायणी नदीका रूपमा चिनिन्छ ।

प्रागऐतिहासिक कालदेखि नै कालीगण्डकी धार्मिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक जीवन पद्धतिको अभिन्न अंगका रूपमा रहेको छ । सभ्यता तथा राज्य उत्पत्तिको सिद्धान्तअन्तर्गत जलीय सिद्धान्तको व्याख्यासँग मेल खाने गरी आदिम मानव समुदाय, मंगोल, खस–आर्य तथा वैदिक–आर्य समुदायको सभ्यताको युगौँ लामो अभ्यास कालीगण्डकी तटीय क्षेत्रमा देखिन्छ । धर्मका दृष्टिले कालीगण्डकी क्षेत्र बोन, बौद्ध तथा हिन्दू धर्म सम्प्रदायको बसोवास तथा महत्वको क्षेत्र हो । श्रीमद्भागवत महापुराणमा नदीहरूमा श्रेष्ठ नदी कृष्णगण्डकी रहेको व्याख्या छ । भगवान् विष्णुले यस क्षेत्रमा तपस्या गरेको र नदीको उद्भवस्थल मुक्तिनाथमा लोककल्याणका लागि विराजमान भएको सन्दर्भ पनि धार्मिक ग्रन्थमा पाइन्छ ।

मुक्तिनाथलाई बौद्ध धर्मावलम्बीहरूले छुमिङ ग्यासा (पवित्र स्थल)का रूपमा लिने गर्छन् । बोन मलावलम्बीको मुख्य धार्मिक स्थल कागबेनीनजिक रहेको लुप्रा बोन्यो गुम्बा पनि यही नदीको तटीय क्षेत्रमा पर्छ । ग्युसेप तुसीले १९५० को दशकको प्रारम्भमा गरेको स्थलगत अध्ययनमा गण्डकी उपत्यका क्षेत्रमा लामा–धर्म (बोन), बौद्ध तथा हिन्दू सम्प्रदायको मिश्रित सभ्यता रहेको उल्लेख गरेका छन् । थकाली, छन्त्याल तथा पुनमगरको आदिथलो पनि यही नदीको प्रभाव क्षेत्र हो । दामोदर कुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, रिडी, देवघाटजस्ता स्थल कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका धार्मिक सम्पदाहरू हुन् । विगतमा तिब्बतदेखि लुम्बिनी तथा भारत र भारतदेखि मुक्तिनाथसम्मको तीर्थाटनको मुख्य मार्ग कालीगण्डकी किनारा भएर नै हुन्थ्यो । 

करिब २३ सय वर्ष पुरानो कौटिल्यको अर्थशास्त्रमा नेपालको हिमाली क्षेत्रबाट ऊन, जडीबुटी, जनावरको छाला मगधको राजधानी पाटलीपुत्रमा निर्यात हुने गरेको उल्लेख छ । यसको एउटा हिस्सा कालीगण्डकीको बाटो हुँदै जाने गरेको स्पष्ट हुन्छ । हेमिल्टनले सन् १८०० को दशकमा यस क्षेत्रको स्थलगत अध्ययनबाट कालीगण्डकी नदीको बालुवामा सुन, सल्फर, फलाम क्रिस्टल तथा तामाजस्ता खनिजहरू पाइने गरेको र यस क्षेत्रका तामाखानीबाट उत्पादित तामा भारत तथा तिब्बत निर्यात हुने गरेको पनि उल्लेख छ । कालीगण्डकीको उद्गम क्षेत्रमा युरेनियम पाइने प्रमाणित भइसकेको छ । अघिल्लो शताब्दीमा तिब्बतको नुन र नेपालको अन्न विनिमयका लागि पनि कालिगण्डकी नाका मुख्य रहेको थियो । 

कालीगण्डकी प्रवाह क्षेत्रमा भौगोलिक तथा जैविक विविधताको उत्कृष्ट संयोजन छ । संसारकै गहिरो गल्छीसहित फरक विशेषता बोकेको उपत्यका यसै क्षेत्रमा छ । आठ हजार मिटर अग्ला तीनवटा हिमाल रहेको यस नदीको जलग्रहण क्षेत्र ४६ हजार तीन सय वर्गकिलोमिटर रहेको छ । संसारका उत्कृष्ट १० पदयात्रा गन्तव्यमध्येको एक अन्नपूर्ण संरक्षण क्षेत्रको एक हिस्सा र दुर्लभ एकसिंगे गैँडाको वासस्थानका रूपमा प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज पनि यसै नदी प्रणालीको प्रभाव क्षेत्रमा छ । यी सबले कालीगण्डकी क्षेत्रको बहुआयामिक महत्व उजागर गर्छन् । 

एकातर्फ उच्च आर्थिक वृद्धिको आकांक्षा पूरा गर्न प्राकृतिक स्रोतमा निर्भरता तथा उच्चस्तरको उपयोग र अर्काेतर्फ प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगको प्रतिबद्धताले नदी संरक्षण कार्य अस्पष्ट बनेको छ 

विगतमा नदीको उपयोग : पूर्वीय दर्शनले मानव जीवनमा सबैभन्दा बढी सहयोग र संरक्षण गर्ने वस्तुलाई ईश्वरीय महत्व दिई व्याख्या गरेको देखिन्छ । नदी किनार संरक्षणका खातिर मन्दिर, तीर्थ, घाट तथा गौचरण गराइए । नदीको पवित्रताको मान्यताले नदी प्रदूषण तथा अतिक्रमण प्रत्यक्ष तथा परोक्ष रूपमा रोकेको थियो । उदाहरणका लागि तामाङलगायतका केही जातजातिमा नदीबाट लोहोरो झिक्दासमेत नदीलाई ढुंगा चढाएर मात्र लिनुपर्छ भन्ने जस्तो संरक्षणवादी मान्यता थियो । कृषि क्षेत्रमा सिँचाइ तथा दैनिक उपभोगका लागि पानी उपयोग गरिनुका अतिरिक्त केही जातजातिमा माछा मार्ने र डुंगा तार्ने पेसाका रूपमा थियो । स्विस भूगर्भविद् टोनी हेगनले गण्डकी तटीय क्षेत्रमा प्राकृतिक स्रोतको उपयोगको उत्कृष्ट अभ्यास रहेको सन्दर्भलाई प्रस्तुत गरेका छन् । 

नदी विनाशको शृंखला : आधुनिकताको भद्दा अनुसरण नदी विनाशको प्रस्थान बिन्दु हो । नेपालमा नदी विनाश योजनाबद्ध विकासको सुरुवातदेखि भएको मान्न सकिन्छ । बस्ती विस्तार, खानेपानी सुविधा, सिँचाइ पूर्वाधारको निर्माण, औद्योगीकरण, कृषिमा आधुनिकीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन, आधुनिक भवन निर्माणशैलीको विकास र जलविद्युत् आयोजना तथा सडक पूर्वाधार विकासले नदीको प्राकृतिक स्वरूप तथा गुण ह्रास हुन थाल्यो । बजार तथा सहरी क्षेत्रको ढल तथा फोहोर सीधै नदी तथा खोलामा फाल्नु, पूर्वाधार निर्माणमा नदीजन्य सामग्रीको अधिक उपयोग, कृषिकार्यमा रासायनिक विषादी तथा मल तथा खानेपानीका स्रोतको अधिक उपयोग, पूर्वाधार निर्माणका क्रममा जलाधार क्षेत्रको विनास, नदी किनारा अतिक्रमण, औद्योगिक रसायनको विसर्जन, सिँचाइ पूर्वाधार, विद्युत् आयोजनाजस्ता कारणले नदीको प्राकृतिक स्वरूप तथा वहन क्षमता कमजोर हुँदै गएको छ । अर्काेतर्फ वातावरणीय प्रभाव लेखाजोखाको प्रतिवेदनमा हुने चलखेल, गैरकानुनी उत्खनन, अतिक्रमण, नियामकको उदासीनता र अन्तरसरकार समन्वयको कमीले पनि नदी दोहन निर्मम बनेको छ । 

नदी संरक्षणको विश्वव्यापी अवस्था : विश्व वन्यजन्तु कोषको एक अध्ययनले हरेक वर्ष विश्वमा ५० अर्ब टनभन्दा बढी बालुवा तथा ग्राभेल उत्खनन हुने गरेको देखाउँछ । नदी उत्खननको गति पछिल्लो दुई दशकमा तीव्र बढेको देखिन्छ । दक्षिण तथा पूर्वी एसियाको उच्च आर्थिक वृद्धि र नदीजन्य वस्तुको उत्खननबीच सीधा सम्बन्ध देखिन्छ । चीनले सन् २०११ देखि २०१३ सम्ममा संयुक्त राज्य अमेरिकाले २०औँ शताब्दीमा खपत गरेभन्दा बढी नदीजन्य पदार्थको खपत गरेको देखिन्छ । विश्वमा नदी प्रणालीलाई बर्बाद गर्ने दिशामा अवैध नदीजन्य खनिजको उत्खनन हुने देशहरूको संख्या ७० रहेको अध्ययनले देखाएको छ । यसबाट नदीको संरचना, जैविक विविधता, भूमिगत जलस्रोत, जलीय गुणस्तर र आसपासको भौगर्भिक संरचनामा नकारात्मक प्रभावका साथै मानवीय दैनिकीमा कठिनाइ, विपद्को जोखिममा बढोत्तरी र पारिस्थितिकीय प्रणालीका आधारभूत अवयवमा नकारात्मक प्रभाव दीर्घकालसम्म रहने देखिएको छ । अर्काेतर्फ, कतिपय युरोपेली देशले विकसित अर्थत्रन्त्रलाई नदीको दोहनविना कायम राख्न सकिने तथ्यलाई प्रमाणित गरेका छन् । यस्ता देशहरूले निर्माण सामग्रीको वैकल्पिक उपयोग, उपयोगविहीन चट्टानको प्रशोधन, कंक्रिटको पुनः उपयोग र नियन्त्रित परिमाणमा समुद्री किनाराको बालुवालाई उपयोगमा ल्याएको देखिन्छ । 

कालीगण्डकी संरक्षणका भावी चुनौती ः कालीगण्डकी नदीको जलग्रहण क्षेत्रमा हुने सबैखाले पूर्वाधार निर्माण तथा बस्ती विकासको तीव्रताले नदी संरक्षणमा थप चुनौती थप्ने देखिन्छ । बस्ती विस्तार, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र स्थानीय सडक निर्माण तथा स्तरोन्नतिका क्रियाकलापले आगामी दिनमा निर्माण सामग्रीका रूपमा नदीजन्य वस्तुको माग अझै उच्च हुने निश्चित छ । कालीगण्डकी डाइभर्सनलगायत जलविद्युत् तथा सिँचाइको पूर्वाधार निर्माणले नदीको अस्तित्वलाई थप चुनौतीपूर्ण बनाएको छ । एकातिर जलवायु परिवर्तन तथा विश्वव्यापी तापमान वृद्धिको चाप, अर्कातिर असामान्य स्तरको जलाधार तथा नदी क्षेत्रको दोहनले विपद्को जोखिमलाई उच्च तुल्याएको छ । कालीगण्डकी नदी किनारा भएर हुने सडक निर्माण, नदीतटीय क्षेत्रमा बस्ती विस्तारका लागि नदीकिनारा अतिक्रमणले स्वच्छता र सौन्दर्य अरू बिगार्नेछ । फलतः अन्नपूर्ण संरक्षण क्षेत्र तथा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको पारिस्थितिकीय प्रणाली, भूमिगत जलस्रोत, नदीको संरचना, तटीय क्षेत्रका धार्मिक सम्पदा र पर्यटन संकटमा पर्ने देखिन्छ ।

नदी संरक्षणको विरोधाभास : विकासका नाममा प्रकृतिमाथिको निर्मम दोहनले नदी संरक्षणको एजेन्डा विरोधाभासपूर्ण बनेको छ । यस बहसमा मूलतः चारवटा सवाल स्पष्ट हुन सकेका छैनन् । पहिलो, आर्थिक वृद्धि र दिगो विकासबीच विरोधाभास रहेको छ । एकातर्फ उच्च आर्थिक वृद्धिको आकांक्षा पूरा गर्न प्राकृतिक स्रोतमा निर्भरता तथा उच्चस्तरको उपयोग र अर्काेतर्फ प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगको प्रतिबद्धताले नदी संरक्षण कार्य अस्पष्ट बनेको छ । दोस्रो, स्थानीय समुदायमा नदीको पवित्रता र प्रदूषण दुवैको स्वीकारोक्ति देखिएको छ । हिन्दू संस्कारमा गण्डकीको जललाई स्नान, सेचन तथा ग्रहणको उच्च महत्व छ, तर सोही समुदाय नदीमा ढल तथा फोहोर उत्सर्जन कार्यमा हिस्सेदार भएको देखिन्छ । तेस्रो, कानुन तथा नीतिगत व्यवस्थाले निषेध गरेका कार्यहरू खुलेआम भइरहनु । अवैध उत्खनन, अतिक्रमण र फोहोर उत्सर्जनमा राजनीतिक संरक्षण र नियामक निकायको उदासीनता देखिएको छ । चौथो, अन्तरसरकार समन्वय र सहकार्यमा कमी । तीनवटै तहको सरकार क्षेत्राधिकारमा दोहोरोपनाले जिम्मेवारीबाट पन्छिने परिपाटी देखिएको छ । सबै तहको सरकारको सहकार्यबाट हुनुपर्ने कार्य समन्वयको कमीले नदी संरक्षण जटिल बनेको छ । 

कालीगण्डकी संरक्षणको भावी दिशा : नेपालको संविधानले अंगीकार गरेको प्राकृतिक स्रोतको संरक्षण तथा दिगो उपयोगको नीतिलाई जलस्रोत नीति २०७७, जलस्रोत संरक्षण एवं दिगो उपयोगमार्फत समृद्धिको लक्ष्य र १५औँ राष्ट्रिय योजनाको जलस्रोतको दिगो उपयोगबाट समृद्ध नेपालको निर्माणमा योगदान पु¥याउने सोच नै सरकारको निर्दिष्ट गन्तव्य हो । नदी संरक्षणले लापरवाहीपूर्ण उत्खनन, अतिक्रमण र जलाधार क्षेत्रको अतिक्रमण रोक्नेलाई मूल रूपमा समेटेको हुन्छ । विश्वका अभ्यास र कालीगण्डकीको वस्तुगत अवस्था हेर्दा निम्न उपाय संरक्षणका दिशामा उपयोगी हुनेछन् । 

पूर्वाधारको वैकल्पिक डिजाइन वा विद्यमान निर्माण सामग्रीको प्रतिस्थापन : भवन तथा सडकलगायतका पूर्वाधार निर्माणका क्रममा निस्कने ढुंगा वा प्रयोगविहीन चट्टानलाई वहन क्षमताका आधारमा प्रशोधन गरी निर्माण सामग्रीका रूपमा उपयोग गर्न सकिन्छ । व्यवस्थित बस्ती विकासको मापदण्ड कायम गरी भवन निर्माणमा गिटी, ढुंगा र बालुवाविना नै घर निर्माणको विकसित देशको अभ्यासलाई अनुसरण गर्नु आवश्यक छ ।

अन्तरसरकार समन्वय तथा साझेदारी : तीनवटै तहका सरकार र नदी प्रवाह क्षेत्रका स्थानीय एवं प्रदेश सरकारको साझा धारणा, सहकार्य र साझेदारीबाट नदी संरक्षणले स्पष्ट दिशा लिन सक्छ । अन्तरसरकार सहकार्य र नियमनले गैरकानुनी गतिविधि नियन्त्रणसहित पारस्परिकतामा आधारित संंरक्षणको रूपरेखा तयार गर्न सहज हुने देखिन्छ ।

नदी संरक्षण तथा निगरानीका लागि समुदायस्तरको संयन्त्र : नदी क्षेत्रमा हुने सबै खालका अवैध गतिविधि नियन्त्र र निगरानीका लागि स्थानीय समुदायमा सचेतनासहित नागरिकस्तरको संयन्त्र तयार गरी समुदायको अपनत्व वृद्धि गर्नु आवश्यक छ ।

जलाधार क्षेत्र तथा जलग्रहण क्षेत्र संरक्षण :  कालीगण्डकीमा समाहित हुने सबै नदीको संरक्षणविना कालीगण्डकीको संरक्षण हुन सक्दैन । तसर्थ, सहायक नदीको स्वच्छता र प्राकृतिक स्वरूप उत्तिकै आवश्यक हुन्छ । यसका साथै नदीकिनारा व्यवस्थापन र नदीकिनारामा वृक्षारोपण गरी संरक्षण र स्वच्छताको प्रवद्र्धन गरिनुपर्दछ ।

शून्य फोहोर जीवनशैली विकास : फोहोरलाई आफैँ व्यवस्थापन गर्ने शून्य फोहोर जीवनशैली प्रवर्द्धन गर्नु आवश्यक छ । यस कार्यमा रिथिंक, रिड्युस, रियुज, रिसाइकल, क्पोस्ट एन्ड क्लोज द लुपको अवधारणा उपयोगी हुने देखिन्छ । अधिकांश फोहोर घरमै व्यवस्थापन, ढल प्रशोधन संयन्त्र निर्माण र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनबाट नदीको स्वच्छता कायम राख्न जरुरी छ । 

नदीको स्वरूप बदलावलाई दुरुत्साहन : विश्वका अनुभवले नदी डाइभर्सन तथा एकीकरणलाई पर्यावरणीय विनाशका रूपमा देखाएको छ । तसर्थ, नदी डाइभर्सन वा एकीकरणलाई रोक्नु जलीय तथा जलनिर्भर जैविक विविधतासहित नदी संरक्षणको अपरिहार्य सर्त हो । 

कालीगण्डकी विनाश सभ्यता, पारिस्थितिकीय प्रणाली र मानव जीवनका सबै पक्षमाथिको चुनौती हो । नदी जोगाउने दिशामा हालसम्मका गतिविधि अपर्याप्त तथा निस्प्रभावी भएको सन्दर्भमा आउने पुस्तालाई पवित्रता र प्राकृतिक विशिष्टताको अनुपम नासोलाई जस्ताको तस्तै हस्तान्तरण गर्न सार्थक प्रयत्न आवश्यक छ । यस कार्यमा आर्थिक विकास र प्रकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणबीच तालमेल मिलाउनु चुनौतीको विषय भएको छ ।

[email protected]

सुझावित समाचार