पृथ्वीको कक्षमा रहेर काम गर्न थालेको तीन दशकपछि अहिले हबलको युग अवसान हुन लागेजस्तो देखिएको छ
सन् १९९० अप्रिल २४ मा नासाले डिस्कभरी नामक अन्तरिक्षयान प्रक्षेपण गर्यो । कुनै पनि अन्तरिक्षयान प्रक्षेपणको दृश्य अद्भुत हुने गर्छ, तर यो मिसन थप विशेष थियो, किनकि यसले हबल नामक आकाशमा रहने शक्तिशाली दूरदर्शक यन्त्र बोकेको थियो । हबलले त्यस समयदेखि लगातार असाधारण काम गरेको छ । यसका खोजले खगोल विज्ञानका पाठ्यक्रम नै पुनर्लेखन भएको छ भन्दा पनि हुन्छ ।
पृथ्वीको कक्षमा रहेर काम गर्न थालेको तीन दशकपछि अहिले हबलको युग अवसान हुन लागेजस्तो देखिएको छ । १३ जुलाईमा हबल सञ्चालनमा अत्यन्त महत्वपूर्ण एक भागले काम गर्न छाडेको छ । हबलमा रहेको विशेष सूचना संयन्त्रले नै यो खराबीबारे पृथ्वीमा रहेको नासाका सञ्चालकलाई जानकारी गराएको थियो । सञ्चालकले यो समस्या सुल्झाउन अथक प्रयास गरिरहेका छन् । ३० जुनसम्म हबलले काम गरेको छैन ।
आफ्नो सञ्चालन अवधिमा हबलले धेरै टाढा टाढासम्म दृश्यावलोकन गर्यो र तिनको फोटो खिचेर पृथ्वीमा पठायो । मानिसको जानकारीमा रहेको सबैभन्दा टाढाको तारापुञ्ज यसैको सहयोगले पत्ता लागेको हो । पृथ्वीनजिक रहेका लाखौँ तारापुञ्जका पनि पहिले तस्बिर थिएनन्, तर हबलले तिनको आकारबारे वैज्ञानिकलाई सचित्र जानकारी दियो ।
यम ग्रहलाई चक्कर लगाउने उपग्रह हबलले नै पत्ता लगाएको हो । साथै, प्रत्येक तारापुञ्जको केन्द्रमा विशालकाय कालो छिद्र रहेको तथ्य यसको सहयोगले प्रमाणित भयो । पहिले डार्क म्याटर भनिने चिज सिद्धान्तमा मात्र सीमित थियो । तर, हबलले त्यसको विशाल तीन आयामिक नापनक्सा तयार बनाइदियो । डार्क म्याटर ब्रह्माण्डमा खुला आँखाले देख्न सकिँदैन, तर देखिने पदार्थको सटिक खगोलीय मापन गरेर तिनको अस्तित्व थाहा हुन्छ । हरेक हिसाबले हबल आकाशीय दूरदर्शक यन्त्रले आफ्नो काम सफलतापूर्वक सम्पन्न गरेको छ ।
अहिले हबलको ‘पेलोड कम्प्युटर’ नै बिग्रिएको छ । वैज्ञानिक उपकरणलार्ई निर्देशित तथा समन्वय गर्न र तिनले राम्रोसँग काम गरे नगरेको सुनिश्चितता गर्न यसको प्रयोग हुन्छ । सुरुवाती परीक्षणमा मुख्य समस्या कम्प्युटरको क्षय हुँदै गएको मेमोरीको खण्डमा समस्या देखिएको छ । तर, कम्प्युटरमा त्यसको ब्याकअप पनि राखिएको थियो, तर त्यसमा पनि उही समस्या देखियो । त्यसैले अहिले हबलमा देखिएको समस्या गम्भीर हुन सक्छ ।
खगोल वैज्ञानिकहरूले ३० वर्षदेखि हबलले उजागर गरेका तथ्यांक प्रयोग गरी अनगिन्ती खोज अनुसन्धान गरेको हुनाले पनि यसले काम गर्न छाड्यो भने ठूलो घाटा हुनेछ
अन्तरिक्षयान डिजाइन र सञ्चालन गर्ने मानिसको तीक्ष्णतालाई कहिले पनि कम आँक्न हुँदैन । उदारणका लागि सन् २०२० मार्चमा ‘भोयाजर २’ नामक अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि चल्न छाड्यो । तर, पृथ्वीबाट १८.५ अर्ब कमी टाढा पुगिसकेको भोयाजर २ मा देखिएको समस्यासमेत नासाका इन्जिनियरले पृथ्वीबाटै सुल्झाए, त्यो पनि एक साताभित्र । जब कि त्यसमा पृथ्वीबाट पठाइएको सिग्नल पुगेर फर्कन नै ३४ घन्टा लाग्थ्यो । त्यसको तुलनामा हबल त जम्मा ४८० किलोमिटर मात्र माथि छ । त्यस अर्थमा इन्जिनियरहरूलाई केही सहज हुनेछ ।
विगतमा पनि हबलमा समस्या देखिएका थिए । पाँचपटक पृथ्वीबाट अन्तरिक्षयात्री नै गएर त्यसलाई मर्मत गरे । सन् २०११ मा नासाले उसको स्पेस सटलको उडान बन्द गरेपछि पहिलेजस्तो मर्मत उडान सम्भव छैन । के हबलले साँच्चै काम गर्न छाड्यो भने त्यसले खगोल विज्ञानलाई नै क्षति गर्छ ? जवाफ सकारात्मक र नकारात्मक दुवै हुन्छ । खगोल वैज्ञानिकहरूले ३० वर्षदेखि यस उपकरणले उजागर गरेको तथ्यांक प्रयोग गरेर अनगिन्ती खोज अनुसन्धान गरे । साथै यसले खिचेका तस्बिरहरूले विज्ञानमा चाख दिने सर्वसाधारणलाई पनि अचम्मित बनायो । यस अर्थमा हबलले काम गर्न छाड्दा ठूलो घाटा हुनेछ ।
तर, निकट भविष्यमै एउटा राम्रो समाचार आउँदै छ । हबललाई विस्थापित गर्ने उपकरणमा लामो समयदेखि काम भइरहेको छ । नयाँ दूरदर्शक यन्त्रलाई जेम्स वेब आकाशीय दूरदर्शकयन्त्र नाम दिइएको थियो । यो धेरै हिसाबमा हबलको तुलनामा विशिष्ट छ । हबलभन्दा सय गुणा शक्तिशाली नयाँ दूरदर्शकयन्त्रले ‘इन्फ्रारेड प्रकाश’लाई समेत देख्न सक्छ ।
जेम्स वेब आकाशीय दूरदर्शक यन्त्रलाई सन् २००७ देखि २०११ मै प्रक्षेपण गर्ने समयतालिका भए पनि निर्माणमा भएको ढिलाइले यो हालसम्म पृथ्वीमै छ । तर, नासाले यो वर्षको अक्टोबर ३१ मा यसको प्रक्षेपण गर्ने बताएको छ । जेम्स वेब आकाशीय दूरदर्शक यन्त्रले सुदूरअन्तरिक्षको ग्रहको वायुमण्डल पनि पहिचान गर्न सक्छ । साथै, यसले तारा तथा ग्रह प्रणालीको जन्मको तस्बिर पनि खिच्न सक्छ ।
नयाँ दूरदर्शकयन्त्रले हबलको जस्तो पृथ्वीको चक्कर लगाउँदैन । यो झन्डै १५ लाख किलोमिटर टाढा रहनेछ । यति टाढाको दूरीमा मर्मत गर्न अन्तरिक्षयान पठाउन कठिन हुन्छ । त्यसैले नासाले १० अर्ब डलरमा निर्माण भएको जेम्स वेब आकाशीय दूरदर्शकयन्त्रको सफल प्रक्षेपणका लागि सै पूर्वसाधवानीहरू अपनाइरहेको छ ।
(लिंकन फर्मी नेसनल एक्सलेटर ल्याबरोटरीका वरिष्ठ वैज्ञानिक हुन्)
सिएनएनबाट