नेपाली कांग्रेसको महाधिवेशन र युवा

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

यो महाधिवेशनलाई सभापति देउवाले जसरी पनि जित्नैपर्ने युद्धका रूपमा लिएको प्रतीत हुन्छ‌ । त्यसले नेपाली कांग्रेसलाई कहाँ पुर्‍याउला ? महाधिवेशनको गौरवलाई हारजित र कब्जामा लैजान दिनुहुँदैन । 

मुलुकको सवैधानिक व्यवस्था छिन्नभिन्न भइरहेका वेला नेपाली राजनीतिको जननी नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै छ । यस महाधिवेशनलाई छिमेकी मुलुक भारत र चीनलगायतका मित्रराष्ट्रहरूले समेत नजिकबाट नियालिरहेका छन् । नेपाली कांग्रेसको अधिवेशन आफैँमा एउटा पर्व हो । यसले हजारौँ नेता जन्मायो, हुर्कायो, कतिले प्रजातन्त्रका निम्ति सहादत प्राप्त गरे, कति सहिद बेघरबार भए । ००७ सालदेखि आजपर्यन्तका सबै क्रान्ति, जनआन्दोलनको अगुवाइ गरेको यो पार्टी आन्तरिक राजनीतिक व्यवस्थापनमा किन र कहाँ कमजोर रह्यो, स्थिर र चलायमान किन हुन सकेन, अनेकन टीकाटिप्पणी भएका‌ छन् । गाउँ, नगर र जिल्ला हुँदै चुनिएका झन्डै पाँच हजार नेता–कार्यकर्ताले महाधिवेशनमा प्रतिनिधित्व गर्दै छन् । विवेकसम्मत निर्णय गरेमा नेपाली जनताले परिवर्तनका लागि धेरै समय कुर्नुपर्नेछैन ।

नेपाली कांग्रेसको सभापतिजस्तो जिम्मेवारी विरासत, आशीर्वादबाट प्राप्त होस् भन्ने चाहना देखिन्छ, तर आजका कार्यकर्ताको मनोभावना उक्त सोचसँग मेल खाँदैन । विगत केही वर्षदेखि जनता र कार्यकर्ताले लक्ष्यअनुरूप उपलब्धि खोजेका छन् । आज नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेतृत्वले मौका पाउँदासमेत भरोसा दिन सकेको छैन । जस्तै कठोर अवस्थामा पनि कांग्रेस एक हुँदै अगाडि बढेको देखेको यो पुस्ता आजको संक्रमणकालीन समयमा पनि संवेदनशील भएन भने कस्तो सन्देश जाला ? कार्यकर्तालाई वितृष्णा, जनतालाई निराशा र शुभचिन्तकहरूलाई लज्जाबाहेक केही हुनेछैन ।

भारत प्रवासमा रहँदा बिपी–गणेशमानजीहरूलाई दैनिकी चलाउन सुवर्णजीलगायत भारतीय समाजवादीहरूले जुटाएर दिएको पैसा वनारस, कलकत्ता, पटनामा रहेका नेपाली विद्यार्थीहरूको पढाइ, प्रजातान्त्रिक समाजवादको प्रचार–प्रसार र मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनाका निम्ति उपयोग गर्नुहुन्थ्यो, बिपीले । नेतृत्वको त्यो दुःख देखेको विद्यार्थी पुस्ता आज नेतृत्वमा विराजमान छ । मुलुकभित्र राजा र पञ्चायतसँगको लडाइँ, बाहिर अभाव र असहयोगका बीच इन्दिरा गान्धीसँगको लडाइँका परिणाम थिए, तेत्तीस सालको मेलमिलाप र छत्तीस साल । त्यस पिँढीका निम्ति ३६ साल राजनीतिक जागरणको पहिलो पहलु थियो । यत्रो पाठ सिकेको यो पुस्ता किन मुलुक र जनताप्रतिको जिम्मेवारीबाट पन्छिँदै गयो ? पढेलेखेको, संसार देखेको आजको नेतृत्व पुस्ता गुट–उपगुट र तेरोमेरोमै व्यस्त रह्यो । यसलाई नेपाली कांग्रेसभित्र जागेका युवाहरूको परिवर्तनको अभियानले सच्याउन सक्छ ।

बिपी, सुवर्णजीको राजनीतिक सिद्धान्त, गणेशमान, किशुनजीको बलिदान, गिरिजाप्रसादको संगठन कौशल तथा कार्यकर्ता–प्रेम र सुशील कोइरालाको सादा जीवनले नेपाली कांग्रेसमा निरन्तरता पाउन सक्नुपर्छ । सबै त्याग गर्न सक्ने क्षमता नै नेतृत्व हो । विगतमा इतिहास रचेका नेताहरूको काखमा प्रशिक्षण पाएका हालका नेताहरूको सार्वजनिक चर्चा विरलै देख्न, सुन्न पाइन्छ । सिद्धान्त र आदर्शसँग सत्ताको जोडघटाउ मुछिँदा गलत सन्देश गएको छ, त्यसको पनि पर्वाह छैन, बरु बचाउ छ । यही स्थिति रहे कांग्रेससँग विचार र सम्भावना दुवै रहनेछैन । 

नेपाली जनताले ०१५ सालको जस्तो सुसंस्कृत‌ चिन्तन र अभ्यास खोजेका छन् । यसमा वर्तमान नेतृत्व बाधक नबनोस् । राजनीतिको पहिलो सर्त वैधानिक अनुशासनको पालना हो । भनिन्छ, १५ सालमा पहिलोपटक नेपाली कांग्रेसले सत्ता पाउँदाको स्वाभिमान, अनुशासन मुलुकप्रतिको जिम्मेवारी अनुकरणीय थियो । इतिहास, राजनीति र समाज बचाउनका निम्ति नेपाली कांग्रेस प्रतिबद्ध थियो । आज परिवारवाद र गुट बचाउने सोचको पर्याय भएको छ । नेपाली कांग्रेस समकालीन राजनीतिमा कांग्रेसको बिग्रेको त्यही साख बचाउने जिम्मेवारी लिएर अगाडि आउनुपर्छ । जनता काँधमा काँध मिलाएर सहयात्रा गर्न आतुर छन् । हिजो, गाउँघरका साधारण जनताको चिन्ता लिने कांग्रेस थियो र न कांग्रेस बाँचेको थियो । वर्तमानले पुनः त्यस्तै नेता र नेतृत्वको खोजी गरिरहेको छ । यस चिन्तालाई आसन्न महाधिवेशन ‌र नयाँ नेतृत्वले सम्बोधन गर्न सक्नुपर्छ । १४औँ अधिवेशनको सफलता यही हुनेछ ।

आजको नेपाली कांग्रेसले बिपी र सुवर्णको जस्तै कथा मागेको छ । कांग्रेसले इतिहासका हरेक प्रश्नको जवाफ दिँदै भावी पुस्तालाई बहुविधामा प्रशिक्षित गरी जिम्मेवारी निर्वाह गर्न सक्ने कुशल राजनीतिकर्मी बनाई मुलुक सेवामा समर्पित गर्नुपर्छ । इतिहासमा कांग्रेसलाई उच्च नैतिक एवं सामाजिक चरित्र भएको पार्टी मानिन्थ्यो, आज ठीक उल्टो प्रतीत हुन्छ । व्यक्तिगत सम्बन्ध र उठबसका आधारमा नेतृत्व स्वीकार गर्ने परिपाटीको अन्त्य नै विद्रोह हो । नेपाली जनमानसले त्यही विद्रोह खोजेका छन्, युवाशक्तिसँग । बिपी, सुवर्णको राजनीतिक संस्कारलाई आत्मसात् नगरेसम्म कांग्रेस उँभो लाग्दैन । संविधान निर्माणका क्रममा नेपाली कांग्रेसले पार्टीको जन्मसिद्ध आदर्श र सिद्धान्तविपरीत संघीयता र धर्मनिरपेक्षतालाई सहजै स्वीकार ग¥यो । परिणामतः मुलुकमा आज राजनीतिक अस्थिरता छ । जनविश्वास जगाउन पनि संविधान निर्माणका बखतको सैद्धान्तिक विचलन छिटै भरपाई गर्नुपर्नेछ । जुन १४औँ महाधिवेशन र निर्वाचित नेतृत्वबाट मात्र सम्भव छ ।

सभापति भएर पुनः नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउँछु भन्नुहुन्छ, शेरबहादुर देउवा । हिजोका दिनमा उहाँ आफैँ सभापति र प्रधानमन्त्री हुनुभयो, आफ्नै हातले टिकट पनि बाँड्नुभयो, निर्वाचन पनि आफ्नै बाहुलीबाट सम्पन्न गर्नुभयो, तर किन देउवाको २३ सिट (प्रत्यक्ष) र नेपाली कांग्रेसको ४० सिट (समानुपातिक)मात्रै भयो ? विषय खोजनीय छ । कांग्रेस इतिहासमा यति विधि कमजोर कहिल्यै थिएन । विगतमा पनि नेताहरूका बीच बोलचाल बन्द हुने, तितो–मिठो हुँदै आएको हो । एकाघरको किचलोका बाबजुद कांग्रेसले बाह्य आक्रमण पनि सहेकै हो । तर पनि बहस र छलफल हुन्थे । तर, आजका दिनमा नेपाली कांग्रेसमा कुनै पनि विषयमा छलफल, संवाद र निष्कर्ष छैन । त्यसैले युवापुस्ताले अहिले जुन बहस सुरु गरेका छन्, त्यो नै पार्टी रूपान्तरणको जग हो । यही जगमा उभिएर आउँदो अधिवेशनबाट नेपाली कांग्रेसले राजनीतिक तथा सामाजिक रूपान्तरणको अभियान चलाउनेछ । हालको नेतृत्वले तोकिएको समयमै महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई जिम्मेवारी सुम्पँदाको दृश्य इतिहासमै स्वर्णिम हुनेछ ।

०४८ सालपछिको कांग्रेस विश्वव्यापी उदारीकरणको बाटोमा गयो । यसबीच, राष्ट्रिय अर्थ–राजनीति केही उकालो पनि लाग्यो होला । तर, जनजीविकामा उल्लेख्य फरक परेन । नेपाली जनसामान्यका निम्ति चाहिएको लोकतान्त्रिक समाजवाद हो भन्ने प्रमाणित भयो । अब नेपाली कांग्रेसले यसमा छलफल गरी अगाडि बढाउन ढिलो गर्नुहुँदैन । नेपालका ६६ प्रतिशत गरिब जनता भारत र चीनको जस्तो उन्नति देख्न, भोग्न चाहन्छन् । यो लक्ष्य केवल समाजवादी सोचबाट मात्र सम्भव हुन्छ । विश्वमा उदारवादी विचारले गरिब जनताको चुलाचौकाको समस्या समाधान गर्न नसकेको यथार्थ हाम्रो अगाडि छ । विदेशी ऋणभारको विकासले चौडा सडक, अग्ला भवनहरू त बने, तर दुई छाक टार्न गाह्रो हुने गरिबका निम्ति समाजवाद नै उपयुक्त बाटो हो । विपन्न र गरिबीको दुष्चक्र तोडेर बाहिर निस्कने प्रक्रिया आधुनिक समाजवाद नै हो । नेपालको समस्याको समुच्च समाधान हो, समाजवाद ।

नेपाली कांग्रेसको वर्तमान नेतृत्व गुणगानको पारखी छ । जबकि, युवापुस्ता जनजीविकाको हरेक सवालको जवाफका निम्ति तयार छ । फरक यही छ, प्रस्तावित नेतृत्व र वर्तमान नेतृत्वमा । कांग्रेसमा युवा नेताहरूको बाहुल्यता हुँदाको सन्देश फैलिँदा मात्रै पनि लोकतन्त्रमा विश्वास राख्नेहरूले थप ऊर्जा प्राप्त गरेका छन् । सन्देशले मात्रै पनि ऊर्जा थपिएको छ भने पदीय जिम्मेवारी सम्हालेको अवस्थामा कति उत्साहित होलान्, आमजनता !

जनतामा उत्साह भर्नकै निम्ति पनि १४औँ महाधिवेशनमा पुस्ता हस्तान्तरण पहिलो र अन्तिम सर्त हो । युवा नेतृत्वले नेपाली कांग्रेसको काँध थाप्नुपर्छ । पन्छिएर देलान् र पाउँला भन्ने होइन । निर्भय उभिएर लल्कार्न सक्नुपर्छ । त्रासका बीच नयाँ नेतृत्व मौलाउँदैन । सभापति देउवा नांगो खुट्टा र भोको पेटले जीवन गुजारेका पुराना कांग्रेसीको पनि सभापति त हुनुभयो, तर नेता हुन सक्नुभएन । इतिहासमा सभापति देउवालाई जस्तो अवसर कसैलाई प्राप्त भएन । पटक–पटक प्रधानमन्त्री र नेपाली कांग्रेसजस्तो लोकतन्त्रको जननी पार्टीको सभापति हुँदा सम्झनयोग्य कुनै कृति गर्न सक्नुभएको छैन । 

यो महाधिवेशनलाई सभापति देउवाले जसरी पनि जित्नैपर्ने युद्धका रूपमा लिएको प्रतीत हुन्छ‌ । त्यसले नेपाली कांग्रेसलाई कहाँ पुर्‍याउला ? महाधिवेशनको गौरवलाई हारजित र कब्जामा लैजान दिनुहुँदैन । महाधिवेशनको प्रक्रिया भविष्यको नेतृत्वमाथिको भरोसा पनि हो । क्रियाशील सदस्यतादेखि नै जालझेल र तिकडम गरिरहेको सुनिन्छ । क्रियाशील सदस्यको छानबिन र वितरणमा व्यापक फेरबदल र अनियमितता भएको छ । यसका निम्ति सम्पूर्ण पदाधिकारी दोषी‌ छन् । आमकांग्रेसीजनको हृदयको क्रन्दन सुन्ने हो भने नेपाली कांग्रेसलाई आपसमा गोलबन्द भएको युवा नौजवानको जमातले इतिहास साक्षी राखेर लोकतान्त्रिक समाजवादको आदर्श र सिद्धान्तमा उभिएर कांग्रेसको भविष्य निर्माणका निम्ति लगनशीलताका साथ अन्तिम प्रयत्न गरोस्, परिवर्तन सम्भव छ ।

सुझावित समाचार