महामारीका लागि मानवीय व्यवहार बढी जिम्मेवार

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

समाचारका हेडलाइन र सामाजिक सञ्जालमा कोरोना भाइरसको नयाँ भेरियन्टलाई लिएर चिन्ता व्यक्त भइरहेका छन् । डेल्टा नामक भेरियन्ट हालसम्मकै सबैभन्दा संक्रामक र सम्भवतः थप प्राणघातक भेरियन्ट भन्ने चर्चा चलिरहेको छ ।

कोरोना भाइरसका एकपछि अर्को भेरियन्टहरू देखा परिरहेका छन् र सँगसँगै धेरै देशमा संक्रमणको दर बढिरहेको छ । तर, कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्टले थप ठूलो खतरा उत्पन्न गरेको छ कि छैन, अझै स्पष्ट भइसकेको छैन । भाइरसविज्ञका हिसाबले हामी के भन्न सक्छौँ भने भाइरसका भेरियन्ट र तिनका जोखिमबारे पर्याप्त जानकारी नभएकाले अहिलेको अन्योल र त्रास निम्तिएको हो । 

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहँदा यसको जिनोम बदलियो (म्युटेट भयो ) । कुनै पनि भाइरसको जिनोममा परिवर्तन भइरहन्छ । यो तिनको चारित्रिक गुण हो । म्युटेसन (उत्परिवर्तन)बाट गुज्रँदा भाइरसको ‘सबलता’ प्रभावित हुन्छ, अर्थात् त्यसपछि भाइरसको प्रजनन र विस्तारको क्षमतामा फेरबदल आउँछ । केही म्युटेसनले भाइरस कमजोर बन्छ भने केहीले कुनै बदलाव ल्याउँदैन । केही उत्परिवर्तनले भाइरस थप बलियो पनि बनाउन सक्छ । भाइरस थप सबल बन्यो भने त्यो कमजोर समकक्षीभन्दा उल्लेख्य धेरै फैलिन्छ । डेल्टा भेरियन्ट आफ्ना पूर्ववर्तीलाई उछिनेर सबैभन्दा प्रभावशाली भएको पहिलो भेरियन्ट होइन । जस्तो– अल्फा भेरियन्टले बेलायतमा पहिलेदेखि विस्तार भएको भेरियन्टलाई विस्थापित गरेको थियो । गामा भेरियन्टले ब्राजिलमा उस्तै काम गरेको थियो । र, म्युटेसन कोरोना भाइरसमा मात्र हुने कुरा होइन । प्रत्येक फ्लु सिजनमा भाइरसको सबलता बढ्छ । त्यसैले केही फ्लु भेरियन्ट अन्यभन्दा बढी विस्तार हुने गर्छ । 

भाइरसको एउटा भेरियन्टले अन्यलाई विस्थापित गर्नुको अर्थ त्यो थप संक्रामक वा थप प्राणघातक हुन्छ भन्ने हुँदैन । विगत डेढ वर्षमा महामारीको स्तरलाई कुनै पनि भेरियन्टले भन्दा बढी मानवीय व्यवहारले प्रभावित बनायो ।
 

भाइरसको एउटा भेरियन्टले अन्यलाई विस्थापित गर्नुको अर्थ त्यो थप संक्रामक वा थप प्राणघातक हुन्छ भन्ने हुँदैन । विगत डेढ वर्षमा महामारीको स्तरलाई कुनै पनि भेरियन्टले भन्दा बढी मानवीय व्यवहारले प्रभावित बनायो । भाइरस सबल बन्न धेरै तरिकाले म्युटेट हुन सक्छ । धेरै विज्ञको नजर भाइरसको सतहमा रहेको चुच्चो प्रोटिनको परिवर्तनमा छ । तर, अन्य प्रोटिनमा परिवर्तन भएर पनि भाइरस बदलिन्छ । यस्तो परिवर्तनले भाइरस थप सजिलोसँग बढ्छ वा उसलाई जीवको प्रतिरोधात्मक क्षमतामा आक्रमण गर्न सजिलो हुन सक्छ । नयाँ परिवर्तनले भाइरस लामो समयसम्म नाकभित्र जीवित राख्न सक्छ । 

भाइरसको म्युटेसनलाई केले प्रभाव पार्‍यो भनेर निक्र्योल गर्नका लागि प्रयोगशालामा प्रशस्त अनुसन्धानको आवश्यकता पर्छ । कहिलेकाहीँ म्युटेसनबारे सुरुमा लिइने धारणा गलत हुन सक्छ । जस्तो– कोरोना भाइरसको पहिलो भेरियन्ट डी६१४जी अघिल्लो जाडो मौसममा पहिचान भयो । केही वैज्ञानिकले यो थप संक्रामक भएको विश्वास गरेका थिए । तर, पछि भएका अध्ययनले त्यसो नभएको देखायो । प्रत्येकपटक भाइरसको सतहमा रहेको प्रोटिनमा परिवर्तन देखिँदा धेरै विज्ञले नयाँ भेरियन्ट थप घातक हुन सक्ने अनुमान गर्ने गर्छन् । तर, कुनै भेरियन्ट पहिलेका भन्दा बढी सर्ने वा प्राणघातक हुने भनेर गहनताका साथ अध्ययन भएको छैन । 

अहिले कुनै भेरियन्ट कति धेरै ठाउँमा पहिचान भयो भन्ने हेरेर त्यसको विस्तार दरबारे निष्कर्ष निकाल्न थालिएको छ । भारत र बेलायतमा सबैभन्दा धेरै डेल्टा भेरियन्ट पाइएको छ । ती स्थानमा पहिचान हुने ९० प्रतिशत संक्रमितमा यही भेरियन्ट पाइएको छ । सबै भाइरसविज्ञले (जसमा हामी लेखक पनि पर्छौं) बढी पहिचान भएको भेरियन्टलाई धेरै संक्रामक भएको मान्दैनन् । खाली अहिलेको लागि डेल्टा सबैभन्दा सबल र प्रमुख भेरियन्टजस्तो देखिएको छ । यसको संक्रामक दर (एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्षमता) बढेको निक्र्योल गर्न संक्रमण दर मात्र पर्याप्त हुँदैन । मानिसको गतिविधिमा आएको परिवर्तनले संक्रमणलाई बढाएको हुन सक्छ । पछिल्लो समय पश्चिममा आवागमन बढेको छ, मास्क लगाउने दर घटेको छ र मानिसहरूले भौतिक दूरीलाई गम्भीरताका साथ पालना गर्न छाडेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा सबैले खोप लगाउन पाएका छैनन् । कुनै भेरियन्ट किन धेरै फैलियो भन्ने बहसमा यी पक्ष छुट्ने गर्छन् । 

भारत, नाइजेरिया र अन्य जति पनि स्थानमा उच्च संक्रमण संख्या देखियो, त्यसका लागि कुनै निश्चित भेरियन्टभन्दा मानिसको लापरवाही व्यवहार जिम्मेवार हुन सक्छ । धेरै स्थानमा नियन्त्रणका कदम उल्लंघन हुन थालेको छ । धेरै जनसंख्या र कमजोर जनस्वास्थ्य पूर्वाधार भएका स्थानमा भाइरस विस्तार हुँदा स्थिति भयावह देखिन्छ । यदि जहाँ भाइरस फैलिन अनुकूल परिस्थिति छ, त्यहाँ सबैभन्दा प्रभावशाली भेरियन्ट नै फैलिने गर्छ । अहिलेका लागि त्यो डेल्टा भेरियन्टको रूपमा देखिको छ । ध्यान दिनुपर्ने कुरा, नयाँ भेरियन्टबाट संक्रमित मानिसहरूमा जटिल समस्या वा धेरै मृत्युदर नभएको हुन सक्छ । 

कोरोना भाइरस खोप डेल्टालगायत सबै प्रकारका भेरियन्टविरुद्ध प्रभावकारी पाइएका छन् । तिनले गम्भीर बिरामी र मृत्यु घटाएको छ । खोपले सबै संक्रमणलाई रोक्न सक्दैन, तर तिनले भाइरसको विस्तारलाई उल्लेख्य कम गर्न सक्छ । संक्रमितमा गम्भीर स्वास्थ्य समस्या आउन नदिन पनि खोपले उल्लेख्य भूमिका खेल्छ । खोप नलगाएका मानिसहरू संक्रमणको उच्च जोखिममा छन् । उनीहरूलाई कोरोना भाइरसको कुनै पनि भेरियन्टले हानि पुर्‍याउन सक्छ । महामारीजस्तो अनिश्चित समयमा मानिसहरू हरेक कुराको तुरुन्त जवाफ चाहन्छन् । तर, भाइरसको म्युटेसनलाई बुझ्न वर्षौं लाग्न सक्छ । अहिलेका लागि भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने दर र त्यसको घातकपन बढेको प्रमाण पाइएको छैन । त्यसैले हामीसँग उपलब्ध खोपले यो महामारीको अन्त्य गर्न सक्छ । 

डा. रोसेनफेल्ड र रोकानियलो कोलम्बिया विश्वविद्यालयका भाइरस अध्ययन गर्ने शास्त्रका प्राध्यापक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार