आदिवासी बालबालिकाका सयौँ बेनामे चिहान र बाँचेकाहरूको बयानले हाल निर्मित क्यानडाको सुन्दर छविमाथि प्रश्न उठेको छ
क्यानेडेलीहरू अक्सर माफी माग्दैनन् वा माफी माग्नुपर्ने आवश्यकता ठान्दैनन् । द्वन्द्व तथा मानवअधिकारको रिपोर्टिङका लागि म विश्वका कैयौँ देशमा पुगेको छु । त्यस क्रममा आफूलाई क्यानेडेलीका रूपमा चिनाउँदा सधैँ सकारात्मक सत्कार पाउँछु । क्यानडामा जब–जब म आफूले काम गरिरहेको हृदयविदारक समाचारबारे बताउँछु, सधैँ दुःखी भाव सुन्छु । ‘क्यानडामा त यस्तो केही समस्या छैन, यस्तो देशमा बस्न पाउने हामी कति भाग्यमानी,’ उनीहरू भन्छन् ।
क्यानेडेलीहरू आफ्नो देशलाई ‘असल’ नागरिकले भरिएको ‘असल’ देशका रूपमा बुझ्छन् । आप्रवासी र शरणार्थीलाई उदारतासाथ स्वागत गर्ने नीति भएको क्यानडाले आफूलाई अमेरिकीजस्तो नश्लवादी र युरोपेलीले जस्तो फरक जातिसँग डर नभएको देश मान्छ । तर, आज क्यानडा रहेको भूमिमा सबैभन्दा पहिले आइपुगेका पाँच प्रतिशत आदिवासी जनसंख्यासँग भने कुनै उदारता देखाइएन । क्यानडा अस्तित्वमा आउनका लागि आदिवासीले शताब्दीयौँ लामो पीडा तथा आतंक सहनुपर्यो ।
उनीहरूमाथि भएको व्यवहारलाई मानवअधिकारसम्बन्धी न्यायालयले जातीय नरसंहारको संज्ञा दिएको छ । सन् २०१९ मा ‘बेपत्ता तथा मारिएका आदिवासी महिला तथा युवती’बारे राष्ट्रव्यापी अनुसन्धानको अन्तिम रिपोर्ट छापियो । यस रिपोर्टले आदिवासीप्रति क्यानडाले विगतमा लिएको नीतिलाई जातीय नरसंहारका रूपमा व्याख्या गर्न सकिन्छ भनेको छ । रिपोर्ट प्रकाशित भएपछि देशव्यापी आत्मस्वीकृति हुनुपथ्र्यो । कुकृत्यको स्मरण गर्न कुनै एक दिवस घोषणा गर्नुपर्थ्यो ।
विगतमा क्यानेडेली सरकारको खर्च लिएर इसाई चर्चले आदिवासी बालबालिकाका लागि आवासीय विद्यालय चलाउँथे । सात पुस्ता आदिवासी बालबालिका बसेका यस्ता ‘विद्यालय’ आदिवासीको पहिचान, भाषा, संस्कृति मेटाउने उद्देश्यले नै खोलिएका थिए ।
तर, त्यसो भएन । बरु देशको बाचाल वर्गले रुवान्डा, ओसविचमा नाजीले गरेको कृत्यलाई मात्र नरसंहार मान्न सकिने तर्क गर्यो । आदिवासीमाथि जातीय नरसंहार गरेको स्विकारेमा क्यानडाको अन्तर्राष्ट्रिय छवि खराब हुन्छ भन्ने बहस चल्यो । बेपत्ता महिलाबारे रिपोर्ट प्रकाशित हुनु ठीक चार वर्षअघि सन् २०१५ मा क्यानडाको सत्य निरूपण तथा मेलमिलाप आयोगले आफ्नो काम पूरा गरेको थियो । आयोगले विगतमा क्यानेडेली सरकारको खर्च लिएर इसाई चर्चले चलाउने आवासीय विद्यालयमा राखिएका आदिवासी बालबालिकाबारे खोजबिन गरेको थियो । यी विद्यालयमा आदिवासी बालबालिकालाई यस्ता विद्यालयमा जबर्जस्ती ल्याइन्थे । कैयौँले भौतिक अथवा यौनशोषण भोगे । उनीहरूलाई चिकित्सीय अनुसन्धानका लागि प्रयोग गरिएको प्रमाण भेटिएको छ । वर्षौंको अथक अनुसन्धानपछि आयोगले क्यानेडेली सरकारले गर्नुपर्ने ९४ कामको सुझाब दियो । केही साताअघिसम्म सरकारले त्यसमध्ये १० वटा मात्र पूरा भएका थिए ।
अहिले आएर क्यामलुप्स आवासीय विद्यालयनजिक २१५ बेपत्ता आदिवासी बालबालिकाको बेनामे चिहान भेटिएपछि क्यानडाको एक घृणित इतिहास सबैसामु उदांगो भएको छ । त्यसपछि सस्क्याचेवनस्थित मेरिभल इन्डियन रेसिडेन्ट स्कुलमा ७५१ थप बेनामे समाधि भेटियो । १३७ आवासीय विद्यालयमा खोज गरिएकै छैन । तिनमा पनि बेनामे समाधि भेटिने सम्भावना धेरै छ । आदिवासीले आफ्ना बेपत्ता बालबालिकाबारे वर्षौंदेखि उजुर गर्दै आएका थिए, तर उनीहरूको गुनासोलाई न कसैले वास्ता गर्यो, न त विश्वास नै । पछिल्लो उजागरपछि समेत राज्यले परिस्थितिलाई स्विकार्न सकेको छैन ।
क्यामलुप्समा बेनामे समाधि भेटिएपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले आवासीय विद्यालयहरूलाई क्यानडाको इतिहासको ‘अँध्यारो अध्याय’को संज्ञा दिए । मानाैँ, यो कुनै सुदूर विगतको बिर्सिनुपर्ने प्रकरण हो । सात पुस्ता आदिवासी बालबालिका बसेका यी ‘विद्यालय’ आदिवासीको पहिचान, भाषा, संस्कृति मेटाउने उद्देश्यले खोलिएका थिए । यसरी मात्र आदिवासीलाई नवआगन्तुक बहुसंख्यक श्वेत जनसंख्यासँग मिलाउन सकिने ठानिएको थियो । सत्य निरुपण तथा मेलमिलाप अयोगले आफ्नो चार खण्ड लामो किताबमा यी विद्यालयमा हुर्किएका बालबालिकाको अविश्वसनीयस्तरको पीडा र आतंकबारे बयान गरेको छ । एक व्यक्तिले आफू विद्यालयमा रहँदा पादरीहरूबाट धेरैपटक बलात्कृत भएको र त्यसबाट उम्कन पहाडबाट झारिँदै गरेका ठूल–ठूला मुडामा हेलिएको बताए छन् । यसरी भाग्दा उनका कैयौँ हड्डी भाँचिए । अर्का पादरीबाट बलात्कृत एक आदिवासी युवती गर्भवती भइन् । पछि उनलाई उनको बच्चा ठूलो आगोको लप्कामा जलाइएको जानकारी दिइएको थियो । यस्ता नारकीय भोगाइबाट बच्न सफल बालबालिका पनि तिनको परिवार र अभिभावकबाट सधैँका लागि अलग गरिएका थिए ।
पछिल्लो महिना क्यानडा सरकारले सन् २०१५ मै सत्य निरुपण तथा मेलमिलाप आयोगले सिफारिस गरेका कदम उठाउन सुरु गरेको छ । सरकारलाई आवश्यक कदम चाल्न पनि ठूलो संख्यामा चिहान भेट्नुपर्नु आफैँमा दु:खद कुरा हो । क्यानडाले अब आफैँप्रति लिएको असलपनाको छविलाई हटाएर ऐनामा हेर्नुपर्छ । यदि क्यानडामा साँच्चै मेलमिलाप कायम गर्ने हो भने आदिवासीका विगत सबैले स्विकार्नुपर्छ ।
(सटन क्यानेडियन पत्रकार तथा फिल्म निर्माता हुन् । द्वन्द्वग्रस्त क्षेत्रबारे उनका कार्यले धेरै प्रतिष्ठित अवार्ड पाएका छन् ।)
द गार्जियनबाट