नेपाल बहुजातीय राष्ट्र हो, बहुराष्ट्रिय होइन । राष्ट्रलाई अंग्रेजीमा नेसन वा कन्ट्री बुझिन्छ । जसरी नेपालका नागरिकको राष्ट्रियता नेपाली हो, भारतका नागरिकको राष्ट्रियता भारतीय हो । अंग्रेजीमा भारतीय नागरिकलाई इन्डियन नेसनल वा इन्डियन सिटिजन भनिन्छ ।
अमेरिका वा रुसका नागरिकलाई अंग्रेजीमा युएस नेसनल/सिटिजन र रसियन नेसनल/सिटिजन भनेर बुझिन्छ । विश्वका सबै मुलुकका बासिन्दा सम्बन्धित मुलुकका नागरिक (सिटिजन/नेसनल)का रूपमा चिनिने गर्छन् । एउटा व्यक्ति कुनै मुलुकविशेषको जुनसुकै जातीय समुदायको भए पनि उसको राष्ट्रियता त्यही देशको नामसित जोडिएर आउँछ । भारतमा बंगाली, पञ्जाबी, गुजराती र तमिल सबै पृथक् जातीय समुदायमा पर्ने भए, तर उनीहरू सबैको राष्ट्रियता भारतीय हो । चीनमा हान, तिब्बती, उइगुर सबैको राष्ट्रियता चिनियाँ हो । चीनभित्रका सबै जातका मानिस चीन देशका नागरिक हुन् । विश्वभर दुई सयभन्दा बढी राष्ट्र र आठ अर्ब हाराहारीको जनसंख्या छ । यो जनसंख्याभित्र समेटिएका जातीय समुदायको संख्या हजारौँमा छ, तर राष्ट्रियता भने जति मुलुक छन्, त्यति मात्रै छन् । किनभने, राष्ट्रियता भन्नेबित्तिकै कुन राष्ट्र वा मुलुक भन्ने प्रश्न स्वतः उपस्थित भइहाल्छ । माथिका अनेकौँ उदाहरणबाट नेपाली भाषाका नागरिकता, राष्ट्रियता वा अंग्रेजीका सिटिजनसिप र नेसनालिटीजस्ता शब्दको प्रयोग एउटै अर्थमा हुन्छ ।
एउटा व्यक्ति कुन देशको नागरिक हो भन्ने उसको राष्ट्रियताबाट निक्र्योल हुन्छ । उदाहरणका लागि विदेशको हवाई अड्डामा ओर्लिएर कुनै थारू, राई वा मधेसी समुदायको नेपाली नागरिकले ‘म नेपालको नागरिक हुँ, तर मेरो राष्ट्रियता नेपाली होइन, मेरो राष्ट्रियता त थारू हो भन्छ भने त्यहाँको अध्यागमनबाट बाहिर निस्कन उसलाई समस्या पर्नेछ । यसबाट राष्ट्रियता शब्दको वर्तमान परिप्रेक्ष्यमा राजनीतिक र कानुनी परिभाषा के हो भन्ने जोकसैले सहजै बुझ्न सक्छ । त्यसैले राष्ट्र वा राष्ट्रियताको मुद्दालाई विभिन्न आग्रह–पूर्वाग्रहका आधारमा जटिल र दुरुह बनाउने होइन कि संसारमा आमरूपमा जसरी राष्ट्र वा राष्ट्रियतालाई बुझिँदै आएको छ, त्यही रूपमै बुझ्नु–बुझाउनु पर्छ ।
एउटै भाषा, संस्कृति, भूगोल, साझा अर्थतन्त्र, मनोविज्ञान आदिका आधारमा इतिहासमा राष्ट्रहरूको उत्पति कसरी भयो र प्रकारान्तरमा ती राष्ट्र–राज्यहरूमा कसरी बदलिए भन्ने विषय र त्यसका विविध पहलु मानवशास्त्री र इतिहासविद्बीचमा प्राज्ञिक बहसका विषय हुन् । तर, यो दिनको घामजतिकै प्रस्ट छ कि मानव इतिहास आमरूपमा कबिला समाजबाट नगर राज्य हुँदै आधुनिक राष्ट्र–राज्यतर्फ र स–साना राष्ट्र–राज्यबाट ठुल्ठूला र केन्द्रीकृत राष्ट्र–राज्यतर्फ अगाडि बढेको छ । यद्यपि, बीसौँ शताब्दीमा सोभियत संघ, चेकोस्लोभाकिया आदिको विभाजन भएर झन्डै एक दर्जन नयाँ राष्ट्र निर्माण भएका उदाहरण पनि छन् ।
नेपाल बहुजातीय कि बहुराष्ट्रिय भन्ने नितान्त अनावश्यक र घातक बहस वेलावेलामा छेडिएको देखिन्छ । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण हुनुभन्दा पहिले नेपालको वर्तमान भूगोलभित्र समेटिएका सबै राज्यहरूको पृथक् राष्ट्रियता रहे पनि सन् १७६८ पछि नेपाल सबै जातीय समुदायको एउटै राष्ट्रका रूपमा रहेको छ ।
भाषालाई आमजनताले जसरी बुझ्छन्, त्यही रूपमा प्रयोगमा ल्याउनु नै सही तरिका हो । भाषिक शुद्धतावादीहरूले साइकललाई द्विचक्रवाहिनी भन्नु र इतिहासविद् वा मानवशास्त्रीहरूले इतिहासको कुनै कालखण्डमा अस्तित्वमा रहेका बाइसे–चौबीसे राज्यका आधारमा राष्ट्र वा राष्ट्रियताबारे छलफल अगाडि बढाउनु र नेपाललाई आज पनि बहुल राष्ट्रिय राज्य भन्नु त फरक हो, तर वर्तमान सन्दर्भमा पनि मुलुकका राजनीतिज्ञहरूले नै नेपाललाई बहुराष्ट्रिय मुलुक भन्नुचाहिँ अतीतमुखी र नितान्त घातक चिन्तन हो । सामन्त शब्दको गलत व्याख्याबाट कसरी जनयुद्धकालमा गाउँका कतिपय गरिबले समेत सामन्तको श्रेणीमा परेर ज्यान गुमाउन पुगे भन्ने दृष्टान्त पनि यस सन्दर्भमा मननीय छ ।
इतिहासमा भारतमा झन्डै ६ सय राज्यहरू थिए भने नेपालमा ५० राज्य थिए । अमेरिकामा पनि त्यति नै संख्यामा स्वतन्त्र राज्य थिए । ती सबै पृथक् राष्ट्र–राज्यहरू नै थिए । यो संख्या जोड्दा यी तीन मुलुकमा इतिहासमा झन्डै सात सय राष्ट्रियता थिए । अमेरिका फर्केर ५० राज्यहरूको युगमा र भारत फेरि ६ सय राजारजौटाहरूको युगमा जाने कल्पना पनि गर्न सकिन्न, न त नेपाल नै बाइसे–चौबीसे राज्यको युगमा फर्किन सक्छ ।
नेपाल बहुजातीय कि बहुराष्ट्रिय भन्ने नितान्त अनावश्यक र घातक बहस वेलावेलामा छेडिएको देखिन्छ । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण हुनुभन्दा पहिले नेपालको वर्तमान भूगोलभित्र समेटिएका सबै राज्यहरूको पृथक् राष्ट्रियता रहे पनि सन् १७६८ पछि नेपाल सबै जातीय समुदायको एउटै राष्ट्रका रूपमा रहेको छ । नेपाली भाषाको बहुजातीय (मल्टिएथ्निक) शब्द अङ्ग्रेजीमा मल्टिनेसनल कसरी बन्न गयो भन्ने चर्चा यहाँ सान्दर्भिक हुन्छ । यसपछाडिको महत्वपूर्ण कारण बंगाली भाषाको नेपाली भाषामाथिको प्रभाव हो । बंगाली भाषामा राष्ट्र (नेसन)लाई जाति भनिन्छ, जस्तै– बंगलादेश नेसनलिस्ट पार्टी (बंगलादेश जातीय पार्टी) । कलकत्ता सयौँ वर्षसम्म भारतको राजनीतिक र शैक्षिक केन्द्रका रूपमा रहेको, कम्युनिस्ट पार्टीको स्थापना पनि कलकत्तामा भएको कारणले गर्दा नेपाली साहित्य विशेषगरी वाम साहित्यमा बंगाली भाषाको प्रभाव रहनु स्वाभाविकै हो । रसियन र अंग्रेजी भाषाहरूमा लेखिएको वाम साहित्यको बीसौँ शताब्दीको आरम्भमा सीधै नेपाली भाषामा उल्था हुनु त्यति सहज थिएन । त्यसैले त्यस्तो साहित्य पहिले बंगाली भाषा हुँदै हिन्दी र नेपाली भाषामा अनुवाद भएको पाइन्छ । त्यसैले अंग्रेजीको नेसन शब्द बंगालीमा जाति बन्न पुग्यो । नेपालीमा पनि जातिलाई नेसन वा राष्ट्र भनियो ।
यसरी नेपालमा भाषिक विकृतीकरणको परिणामका रूपमा बहुराष्ट्रिय शब्द प्रचलनमा आयो । यसको अर्को पक्ष पनि छ, अक्टोबर क्रान्तिपछि लेनिन र स्टालिनले जातीय स्वशासन र आत्मनिर्णयको अधिकारको मान्यता अगाडि सारे । समाजवादी क्रान्तिलाई विश्वव्यापी रूपमा सफल बनाउने उद्देश्यका साथ जातीय स्वशासन र आत्मनिर्णयको अधिकारको मान्यताका आधारमा रुससहित १५ वटा राष्ट्रहरू, जो रुसी साम्राज्यका अधीनमा थिए, मिलेर सोभियत संघको गठन भयो । यसरी एकातिर भाषिक विकृति र अर्कोतिर सोभियत संघजस्तो पृथक् देश र पृथक् कालखण्डमा लागू गरिएको जातीय नीतिको अन्धानुकरणको घातक ककटेलका रूपमा नेपालमा बहुराष्ट्रियताको मुद्दा अगाडि सारिएको प्रस्ट हुन्छ । बहुराष्ट्रियता शाब्दिक अर्थमा मात्र होइन, राजनीतिक अर्थमा समेत अगाडि आउनु चिन्ताजनक छ ।
नेपालजस्तो विशिष्ट भूराजनीतिक अवस्था र भौगोलिक सार्वभौमसत्तासमेत जोखिमयुक्त रहेको मुलुकमा सोभियत संघकै यान्त्रिक नक्कल गरेर बहुराष्ट्रियताको मान्यता अगाडि सार्नु अत्यन्तै घातक छ । बहुराष्ट्रियताको मान्यतालाई सिद्धान्ततः स्वीकार गर्नुको अर्थ हो, पृथकीकरणको अधिकारलाई मान्यता दिनु । यसले दुई महाशक्तिबीच रहेको नेपालजस्तो कमजोर मुलुकको अस्तित्व नै संकटमा पर्ने स्पष्टै छ । जानेर–नजानेर नेपाललाई बहुराष्ट्रिय मुलुक मान्ने विचार विखण्डनकारी हो । यसले नेपाल टुक्र्याउने र अस्थिर बनाउन चाहने बाहिरी शक्तिहरूकै अभीष्टलाई मलजल गर्छ । केही दिन पहिले राज्यको महत्वपूर्ण ओहदामा रहेका एक नेताबाट बहुल राष्ट्रको मुद्दा उठाइनु र मधेसमा मुक्ति आन्दोलनको आवश्यकता रहेको वक्तव्यबाजी यसकै परिणाम हो ।
(पन्त नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य हुन्)