एउटा विद्यार्थीले आफ्नो जीवनको सबैभन्दा उर्वर र महत्वपूर्ण उमेर, पैसा र ऊर्जा खर्च गरेर प्राप्त गरेको प्रमाणपत्र कहीँ काम नलाग्ने प्रणाली त्रिविले विकास गरेको छ
केही दिनअघि त्रिविका विभिन्न संकायका डिन कार्यालयले एमफिल र विद्यावारिधि पढ्न पाउने विद्यार्थीहरूको सूची सार्वजनिक गरेर आसार १०–२२ सम्ममा भर्ना हुन सूचना जारी गर्यो । यसका लागि गत चैतमा फाराम भराई २८ गते प्रवेश परीक्षाको लिखित र वैशाख ५ मा अन्तर्वार्ता सञ्चालन गरेको थियो । डिन कार्यालयले एमएमा तेस्रो श्रेणीवालाहरूलाई वञ्चित गर्दै भर्ना नदिने नीति लियो । त्रिविको सोही नीतिमाथि यस लेखमा विमर्श गर्न खोजिएको छ ।
अवैज्ञानिक मूल्यांकन प्रणाली : हाम्रो परम्परागत मूल्यांकन प्रणालीको मान्यताअनुसार परीक्षामा जसले बढी अंक प्राप्त गर्छ, ऊ नै उत्कृष्ट हो । मूलतः वर्षमा एकपटक र तीन वा चार घन्टामा लिइने लिखित परीक्षाको प्राप्तांकलाई नै श्रेणीमापनको आधार बनाइएको छ । र, यही तीन घन्टामा उसले उजागर गरेको ज्ञानबाट प्राप्त गरेको अंक नै उसको प्राज्ञिक क्षमताको कसी या भनौँ योग्यताको परिचायक बन्छ । वार्षिक वा अर्धवार्षिक ‘पेपर पेन्सिल टेस्ट’ व्यक्तिको वास्तविक र सर्वकालिक योग्यताको मापक हुन सक्दैन । विद्यार्थीका अन्य महत्वपूर्ण सबलताहरूलाई हाम्रोमा प्रचलित परीक्षा प्रणालीमा कुनै स्थान दिइँदैन । परीक्षा र मूल्यांकन प्रणाली नर्सरीदेखि विद्यावारिधिसम्मै लगभग उस्तै र निकम्मा प्रकृतिको छ । तोकिएको समयमा उत्तरपुस्तिकामा लेखेको आधारमा विद्यार्थीलाई श्रेणीको ‘ट्याग’ दिइन्छ । त्यसैका आधारमा उसको बाँकी भविष्यलाई निर्देशित गर्न खोजिन्छ । एउटा विद्यार्थीले राज्यदेखि समाजका सबै संरचनामा योग्यताको यही आधारमा थप अवसर, रोजगारी, पद र प्रतिष्ठा हासिल गर्ने वातावरण तयार छ । तीनघन्टे परीक्षामा लेखेर जुन श्रेणी र जिपिएको ‘ट्याग’ पाएको छ, त्यही आधारमा उसको क्यारियर तय हुने वातावरण छ । राज्यका नीति, नियम र कानुन यही अवैज्ञानिक परीक्षा प्रणालीले तय गरेको योग्यताको कसीमा आधारित र अभिमुख छन् । यही परिपाटी आदर्शको रूपमा स्थापित छ ।
तीन घन्टाको लिखित परीक्षाको आधारमा विद्यार्थीको वर्तमान मात्रै होइन, भविष्यको समेत मूल्यांकन गर्ने प्रणालीलाई कदापि राम्रो मान्न सकिँदैन । यसले विद्यार्थीको वास्तविक योग्यताको मापन कुनै पनि दृष्टिले गर्न सक्दैन । यही परीक्षा प्रणालीले हाम्रा विद्यार्थीको भविष्य निर्धारण गर्ने पद्धतिले लाखौँ विद्यार्थी जीवनभर पीडित भएर बाँच्न बाध्य छन् । परीक्षा त कुनै खेल जस्तो हो, जस्तो कि फुटबल वा क्रिकेट । एकपटक खेलमा हारेको समूहले सधैँभरि हार्छ भन्ने छैन । एकपटक जित्नेले पनि सधैँभरि जित्छ भन्ने छैन । फुटबलका विश्वविजेताहरूले राम्ररी नामै नसुनिएका टिमसित हारेका थुप्रै उदाहरण छन् । त्यसैले एकपटक तेस्रो डिभिजन भनी डामिएकालाई प्रतिस्पर्धाको अवसरै नदिनु विभेद मात्रै होइन, अपराध नै हो ।
तेस्रो डिभिजनधारी उमेदवार जति नै किन सक्षम नहोस् ! एकपटकको परीक्षामा तेस्रोको धब्बा लगाएको ट्रान्सक्रिप्ट त्रिविले भिराइदिएपछि ऊ जीवनका सबै मोर्चामा प्रतिस्पर्धामा उत्रिन नपाउँदै नकआउट हुन्छ । यो प्रमाणपत्रले उसले न रोजगारी पाउन सक्छ, न उच्च शिक्षा नै हासिल गर्न ।
तीनघन्टे लिखित परीक्षालाई जीवनका अपर्झटका थुप्रै दृश्य–अदृश्य, प्रिय–अप्रिय, सन्चो–बिसन्चो र अन्य पारिवारिक तथा सामाजिक, राजनीतिक घटनाहरूले प्रभावित गर्न सक्ने हुन्छ । पंक्तिकारले एसएलसी दिने अघिल्लो रात माओवादीले छिमेकी कर्मैया चौकीमा आक्रमण गर्यो र दोहोरो भिडन्त भयो । रातभरि गोली चलेको आवाज सुनेका र त्यही भेगको विद्यालयमा परीक्षा दिन जानुपर्ने विद्यार्थीहरूको मानसिक अवस्था कस्तो भयो होला ? डर, सन्त्रासमै दिएको परीक्षामा तिनले कति राम्रो लेख्न सके होलान् ? पंक्तिकारको अर्को अनुभव, एमए दोस्रो वर्षको अन्तिम परीक्षाका दिन बिरामीको कारण परीक्षाहल जान नसकी अस्पताल भर्ना हुनुपर्यो । त्यसअघि बिसन्चो हुँदाहुँदै जबर्जस्ती दिइएका परीक्षाको नतिजा सामान्य अवस्थामा दिएकोजस्तो त पक्कै हुने भएन । अर्को, जसको घरमा परीक्षाको वेला मातापिता वा प्रियजनको निधन भएको हुन्छ, उसले दिएको परीक्षाले उसको वास्तविक क्षमताको परीक्षण गर्न सक्ला ? मानिसलाई दुःखद मात्रै होइन, सुखद घटनाले पनि प्रभावित गराउँछ । मान्छे भावुक प्राणी भएकाले कुनै पनि आकस्मिक घटनाले उसलाई मानसिक रूपमा कमजोर, विक्षिप्त बनाउन सक्छ । जीवनका थुप्रै पहेलुको उचित मूल्यांकन हामीले अपनाइएको परीक्षा प्रणालीले मापन गर्न सक्दैन ।
श्रेणी भर्सेस क्षमता : श्रेणी वा जिपिएको आधारमा जीवनका सबै ढोकाहरू खुल्ने र बन्द हुने बनिबनाउ हाम्रो सामाजिक संरचनाका कारण क्षमताको बहस त्यति चलेको देखिँदैन । सामान्यतः राम्रो डिभिजन वा जिपिए जसले ल्याउँछन्, उनीहरूलाई क्षमतावान् सम्झने र त्यसैलाई श्रेष्ठता घोषणा गर्ने संस्कृति निर्माण भएको छ । के डिभिजनले क्षमताको निर्धारण गर्छ ? के क्षमता मापनको अन्तिम नापो डिभिजन नै हो त ? क्षमता मापनका अरू साधन÷औजार छैनन् ? मूल्यांकनका अन्य भरपर्दा र वैकल्पिक प्रणाली छैनन् ? उत्कृष्ट वा अब्बल डिभिजन/जिपिए ल्याउनेले उत्कृष्ट कार्यसम्पादन गर्न सक्छन् नै भन्ने पनि छैन । यसर्थ, यस्ता यावत् प्रश्नहरूले हाम्रो परम्परागत मूल्यांकन प्रणालीलाई विनिर्माण गर्नुपर्ने आवश्यकता छ । हाम्रो जस्तो परीक्षा प्रणाली अपनाएर मापन गरिएको डिभिजन र व्यक्तिको वास्तविक क्षमताबीच कुनै तालमेल नै हुँदैन । सबै क्षमतावान्ले राम्रो अंक ल्याउँछन् नै भन्ने पनि छैन । तर, त्रिवि सेवामा वर्षौंदेखि तेस्रो डिभिजनलाई प्रवेशै छैन । तथाकथित उत्कृष्ट, प्रथम वा द्वितीय डिग्रीधारीले नेतृत्व गर्दै आएको त्रिविको गुणस्तर झन्–झन् किन खस्किँदै गएको होला?
वैकल्पिक मोडेल : अंक श्रेणीका दृष्टिले अल्बर्ट आइन्स्टाइनलाई खासै राम्रो विद्यार्थी मानिँदैन । तर, उनी दुनियाँका सर्वोत्कृष्ट वैज्ञानिकमा ख्यातिप्राप्त भए । शिक्षा सुधारक तथा वैज्ञानिक सोनाम फुङ्सुख वाङडु त यो डिभिजन प्रणालीको परीक्षामाथि अविश्वास नै गर्छन् । उनी यो प्रणाली बदल्नुपर्ने र वैकल्पिक शिक्षा र मूल्यांकन प्रणाली अपनाउन लागिपरेका छन् । लद्दाखमा आफ्नै नेतृत्वमा विद्यालय, सेक्मोल क्याम्पस र हाइल (हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ, लद्दाख) स्थापना गरेर सञ्चालन गरिरहेका छन् । उनका संस्थामा सरकारी र अन्य शैक्षिक केन्द्रबाट असफल र तेस्रो दर्जा घोषित भएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर भर्ना दिन्छ । उनले दक्षिण एसियामा जुन मोडेलमा शैक्षिक संस्थाहरू चलिरहेका छन्, तिनमाथि प्रश्न खडा गरेर रूपान्तरणको प्रयास गरिरहेका छन् र अविश्वसनीय नतिजा मिलिरहेको पनि छ ।

डा. प्रकाशराज रेग्मीले ‘सोभियत संघको सम्झना’ नामक पुस्तकमा आफू पढेको विश्वविद्यालयको मूल्यांकन प्रणालीबारे उल्लेख गरेका छन् । जहाँ पढाइमा नम्बर दिएजस्तै आफ्नो कोठा सफा राख्ने, कोठामा सामानहरू राम्रोसँग मिलाउनेलाई पनि नम्बर दिइँदो रहेछ । (पृष्ठ १२६) त्यहाँ विद्यार्थीको मूल्यांकन गर्दा उसका आनीबानी, सरसफाइ, अतिरिक्त सीप र प्रतिभालाई पनि मूल्यांकनमा समावेश गरिँदो रहेछ ।
त्रिविले जानी–जानी तेस्रो डिभिजनको डिग्री भिराएर विद्यार्थीको जीवनमाथि नै खेलबाड गरिरहेको छ । त्रिवि आफैँले अस्वीकार गर्ने प्रमाणपत्र किन विद्यार्थीलाई दिइरहेको छ ? यसको उत्तर त्रिविले दिनुपर्छ । यस्तो बेकामे डिग्री दिनुभन्दा विद्यार्थीलाई अपग्रेड वा अन्य विकल्प दिनु उचित हुन्छ ।
तेस्रो डिभिजनको डिग्री : त्रिवि सेवामा तेस्रो डिभिजनवालालाई फारम नै भर्न दिइँदैन । उसलाई प्रतिस्पर्धामै प्रवेश निषेधको नीति छ । त्रिविमा उच्च शिक्षा (एमफिल र विद्यावारिधि)मा पनि तिनलाई भर्ना हुनसमेत दिइँदैन । तेस्रो डिभिजनधारी उमेदवार जति नै किन सक्षम नहोस् ! एकपटकको परीक्षामा तेस्रोको धब्बा लगाएको ट्रान्सक्रिप्ट त्रिविले भिराइदिएपछि ऊ जीवनका सबै मोर्चामा प्रतिस्पर्धामा उत्रिन नपाउँदै नकआउट हुन्छ । यो प्रमाणपत्रले उसले न रोजगारी पाउन सक्छ, न उच्च शिक्षा नै हासिल गर्न । एउटा विद्यार्थीले उसको जीवनको सबभन्दा उर्वर र महत्वपूर्ण उमेर, पैसा र ऊर्जा खर्च गरेर प्राप्त गरेको प्रमाणपत्र कहीँ काम नलाग्ने सिस्टम त्रिविले विकास गरेको छ । उसको अगाडि जाने सबै ढोकाहरू बन्द गरिदिने प्रणाली सञ्चालन गरिरहेको छ । कतै काम नलाग्ने भए त्यस्तो प्रमाणपत्र त्रिविले किन दिइरहेको छ, केका लागि दिइरहेको छ ?
कानुनका जानकार लोकतान्त्रिक गणतन्त्रमा कसैलाई पनि प्रतिस्पर्धाबाट वञ्चित गर्नु नहुने तर्क गर्छन् । प्रतिस्पर्धाबाट कसैलाई वञ्चित गरिन्छ भने त्यसलाई लोकतन्त्रको मर्ममाथि नै प्रहार भएको मान्नुपर्छ भन्छन् । तर, प्राज्ञिक थलो मै यतिविधि अन्याय, अदूरदर्शिता र अविज्ञान कसले किन, कसरी र कहिले छिरायो ? यो दोषका भागीदार समाजले सम्मानित स्थानमा राखेका र ठूला भनिएका हाम्रा शिक्षाविद र त्रिविका नीति–निर्माता एवं निर्णयकर्ता नै त होलान् ।
केही रूपान्तरणकारी प्रणाली : अमेरिकाको मिसिगन विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. महेन्द्र लावतीको मार्टिन चौतारीमा प्रस्तुतीकरण थियो । उनले एउटा गजबको प्रसंग ल्याए, मिसिगनमा सबै प्राध्यापकले प्रत्येक तीन वर्षमा पुनः छनोट परीक्षा दिनुपर्दाे रहेछ । छनोटका आधारहरू पछिल्लो तीन वर्षमा उसले गरेका बौद्धिक काम हुने रहेछन् । उसले कतिवटा जर्नल वा अखबारी लेखन गरेको छ, कति पुस्तक प्रकाशन र अनुसन्धान गरेको छ, त्यो नै उसको योग्यताको कसी हुने रहेछ । न्यूनतम अनुसन्धान र प्रकाशनहरू पुगेनन् भने पुनः छनोटमा पर्दैन । तर, हाम्रोमा एकपटक त्रिवि सेवा पास गरेपछि जीवनभरका लागि उसको जागिर पाक्यो, कुनै बौद्धिक कर्म चाहिँदैन । त्यत्तिकै प्राध्यापक भयो, आफ्नो गुजारा ग¥यो, सक्यो । के भन्ने बौद्धिक चोरीको आरोप लागेका व्यक्तिहरू नै विश्वविद्यालयको उपकुलपति हुन्छन् । विदेशी विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्ने वेलामा उसको प्रस्तावना त हेरिन्छ नै, साथसाथै उसले जीवनमा गरेका कामहरूलाई पनि आधार बनाइन्छ । विद्यार्थीका जर्नल लेखहरू, प्रकाशित पुस्तक तथा अनुसन्धान, हासिल गरेका अनुभव र उपाधि सबैलाई उत्तिकै स्थान दिइन्छ । विद्यार्थीले पढ्न चाहेको विषयमा विज्ञतालाई पनि प्राथमिकता दिने गरिन्छ । विद्यार्थीले जीवनमा गरेका सिर्जनशील र समाजसेवाका गतिविधिहरूलाई पनि मान्यता दिइन्छ ।
वास्तविकता : त्रिविले जानी–जानी तेस्रो डिभिजनको डिग्री भिराएर विद्यार्थीको जीवनमाथि नै खेलबाड गरिरहेको छ । त्रिवि आफँैले अस्वीकार गर्ने प्रमाणपत्र किन विद्यार्थीलाई दिइरहेको छ ? यसको उत्तर त्रिविले दिनुपर्छ । यस्तो बेकामे डिग्री दिनुभन्दा विद्यार्थीहरूलाई अपग्रेड वा अन्य विकल्प दिनु उचित हुन्छ । एकचोटि त्रिविले कमसल र तेस्रो श्रेणीको भनेर डामेपछि ऊ योग्य नै भए पनि एकपटक र एक ठाउँमा होइन, जीवनभर सर्वत्र दुनियाँको नजरमा अयोग्य नै ठहरिने वातावरण छ । जसरी वर्णव्यवस्थाले दलित बनायो र दलित भएको दिनदेखि उसले समाजमा कतै पनि चैनको सास फेर्न पाएको छैन, जीवनका सबै स्थानमा उसलाई बहिष्कृत र अपहेलित बनाइन्छ । त्यस्तै अवस्था तेस्रो डिग्रीधारीको छ । र, यसका लागि नेपालको शिक्षा नीति, त्यो तय गर्ने समूहका साथै सबैभन्दा बढी विश्वविद्यालयका प्राज्ञहरू दोषी छन् । त्रिविको गलत परीक्षा प्रणालीको मार विद्यार्थीले भोग्नु परिरहेको छ । यस्तो अवस्थामा कतिपय कमजोर आत्मविश्वास भएकाहरूले विरक्त भएर आत्महत्या गर्लान् ! त्यसको जिम्मेवारी कसले लिने ? यस्तोमा आत्महत्या दुरुत्साहनअन्तर्गत त्रिविलाई मुद्दा लाग्छ कि लाग्दैन ?
विश्वविद्यालयले आफ्नो शरणमा आएको विद्यार्थीलाई अयोग्य नै भए पनि योग्य बनाएर पो पठाउनुपर्ने होइन र ? कमजोरलाई सबल बनाएर जीवनको अनेक मोर्चामा पठाउने होइन र ? त्रिविका कतिपय पदाधिकारी, ‘यहाँ नचले पनि अन्त चल्छ नि ! लोकसेवा आयोग, निजी संस्था र संस्थानहरू, सहकारीलगायत स्थान छन् नि भन्ने तर्क पनि गर्ने गर्छन् । आफँैले दिएको डिग्री त्यहीँ नचल्ने तर अन्त चल्छ र चलाउनुपर्छ भन्ने कथनलाई तार्किक र जायज मान्न सकिँदैन । त्यसैले पहिला त यस्तो डिग्री दिनै बन्द गर्नुप¥यो । दोस्रो, अपग्रेड गर्ने मौका दिनुपर्छ र तेस्रो, यस्ता डिग्रीधारीलाई क्यारियर अगाडि बढाउन कुनै न कुनै विकल्प दिनैपर्छ । त्रिविले गम्भीर भएर सोचोस् र नीतिमा रूपान्तरण ल्याओस् ।