समृद्धिको राजमार्गमा ‘हाइस्पिड’मा हुइँकिरहेको चीनबाट के सिक्ने ?

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

छिमेकी देश चीनमा कम्युनिस्ट पार्टी स्थापनाको शताब्दी पूरा भएको छ । कम्युनिस्ट पार्टीको शतवार्षिकीलाई चिनियाँहरू उत्सवकै रूपमा मनाइरहेका छन् । संसारको सबैभन्दा ठूलो जनसंख्यामाथि सात दशकदेखि निरन्तर शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य चुनौतीका चाङबीच भीमकाय जनसंख्यालाई सन्तुष्ट राखेर सत्ताको पकड झनै कसिलो बनाइरहन सफल हुनुको पहेली पहिल्याउन संसारभरका विचारकलाई हम्मेहम्मे परिरहेको छ । चीनलाई नजिकबाट बुझ्नेहरू त्यहाँको तिलस्मी आर्थिक उन्नतिका लागि दुई कुरालाई प्रधान ठान्छन्– पहिलो चिनियाँ जनताको दृढ प्रतिरोधी भावना र दोस्रो, चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक कार्यक्षमता । 

एउटा पार्टीले देशको जीवन परिवर्तन गर्न खेलेको भूमिका, समृद्धि मिसनमा कार्यकर्ता र जनता परिचालन गर्ने क्षमताका साथै जनताको मन जितेर सत्ता सञ्चालनको वैधता नवीकरण गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको परम्परा साँच्चिकै प्रेरणादायी छ । रंगीन आश्वासनको आडमा चुनाव जित्ने, तर सत्तामा पुगेपछि ‘डेलिभरी’ दिनै नसक्ने दीर्घरोगबाट ग्रस्त नेपाली राजनीतिक दल र तिनका नेताहरूका लागि पनि सात दशकदेखि देशलाई समृद्धिको राजमार्गमा ‘हाइस्पिड’मा हाँकिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टान्त फरक–फरक दृष्टिले अध्ययन मात्र होइन अनुकरणकै विषयसमेत हुन सक्छ ।

चिनियाँ मोडलको शासन व्यवस्थाका सकारात्मक र नकारात्मक पाटाबारे अनेक कोणमा बहस गर्न सकिएला, तर संविधानमै ‘समाजवादउन्मुुख’ लेखिएको र हरेक चुनावमा कम्युनिस्ट नामधारी पार्टीले बढी मत ल्याउने गरेको छिमेकी देश हुनुको नाताले नेपालका लागि पनि चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना र सत्ता सञ्चालनको शैली जिज्ञासाको विषय हुन सक्छ । व्यवस्था फेरिरहने, तर देश र जनताको अवस्था नफेरिने अनन्त संक्रमणकालको दुष्चक्र भोग्न अभिशप्त नेपालका लागि व्यवस्था जोगाएरै अवस्था बदलिरहन सफल चिनियाँ कहानी खास चाखको विषय हो । यो आलेखमा चिनियाँ शासकीय प्रणाली राम्रो कि नराम्रो भन्ने बहसबाट सापेक्षित निरपेक्षातासहित टाढै रहेर चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक कार्यशैली र त्यसकै बलमा सञ्चालित सत्ताले त्यहाँका नागरिक र देशको जीवनमा ल्याएको अपत्यारिलो परिवर्तनबारे चर्चा गरिएको छ । 

सन् १९२१ को जुलाईमा स्थापना हुँदा चिनियाँ कम्युनिस्ट पार्टीसँग केवल ५८ जना सदस्य थिए, तर शतवार्षिकीसम्म आइपुग्दा यो संख्या जर्मनीको कुल जनसंख्याभन्दा धेरै अर्थात् साढे नौ करोडभन्दा बढी पुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले आफूलाई सरकार सञ्चालक भन्दैन, तर सत्ताको चाबी पूर्णतः उसकै नियन्त्रण छ । पार्टीको स्टेट काउन्सिलले जनतासामु गरिएका वाचा पूरा गर्न अख्तियार गरिएका नीति र सिद्धान्त सरकारले पालना गरे–नगरेकोे सुपरिवेक्षण गर्छ जसका लागि सबै प्रकारका व्यापार–व्यवसाय, सामाजिक संघसंस्थादेखि विश्वविद्यालय र सेनामा समेत कम्युनिस्ट पार्टीका सेलहरू सक्रिय हुन्छन्् । ती सेलहरूलाई पार्टी आदर्शको प्रवद्र्धन गर्ने, जनतालाई पार्टीका नीति र कार्यक्रमबारे जानकारी दिने तथा कार्यान्वयनमा निर्णायक भूमिका खेल्ने जिम्मेवारी दिइन्छ । वुहानमा कोरोना महामारी सुरु हुनासाथ चिनियाँ कम्युनिस्ट पार्टीका ४६ लाख पार्टी सेललाई ‘इमर्जेन्सी मोड’मा परिचालन गरिएको थियो । उनीहरूले छरछिमेकमा क्वारेन्टिन व्यवस्थापनदेखि बिरामीलाई अस्पताल पु¥याउने र लकडाउनमा परेका मानिसलाई दैनिक उपभोग्य सामग्री आपूर्ति गर्ने गर्थे । चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी सेललाई ‘रक्षापंक्ति’ भन्ने गरेको छ । देशको सार्वभौमसत्ता सञ्चालनको अन्तिम निर्णयको अधिकार भने चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा शक्तिशाली इकाइ पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा छ । यो कमिटीमा बिजोर संख्याका सदस्य हुन्छन् र सर्वसम्मत हुन नसके बहुमतका आधारमा निर्णय लिने प्रावधान छ । महासचिव सी चिनफिङको नेतृत्वमा रहेको यो कमिटीमा अहिले सात सदस्य छन् । 

आधुनिक चीनको प्रगति हेर्दा लाग्छ चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकर्ता मात्र होइन, एक अर्ब ४० करोड जनतालाई नै विकासको ‘महामिसन’मा होम्न सफल भएको छ 

आधुनिक चीनको प्रगति हेर्दा लाग्छ– चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकर्ता मात्र होइन एक अर्ब ४० करोड जनतालाई नै विकासको ‘महामिसन’मा होम्न सफल भएको छ । माओ त्से तुङको नेतृत्वमा भएको क्रान्तिले सन् १९४९ मा जनवादी गणतन्त्र स्थापना गरेपछि चीनमा कम्युनिस्ट शासनको सूत्रपात भएको थियो । साम्राज्यवाद, उपनिवेशवाद तथा गृहयुद्धका कारण एक शताब्दीसम्मको अपहेलित र अपमानित अवस्था अन्त्य गर्दै जनवादी गणतन्त्र बन्ने वेला चीनमा केवल २० प्रतिशत जनसंख्या साक्षर थियो भने वैैज्ञानिक र इन्जिनियरको संख्या त नगन्य । विश्व बैंकको आँकडाअनुसार सन् १९७८ मा चीन न्यून आय समूहका देशहरूमध्ये पनि अतिगरिबमध्ये पथ्र्यो । माओपछि सत्ताको ‘आर्किटेक्ट’ मानिएका तङ सियाओ फिङले सिद्धान्तभन्दा व्यावहारिक पाटोलाई बढी जोड दिए । बिरालो कालो वा सेतो जे भए पनि फरक नपर्ने, तर मुसाचाहिँ मार्नुपर्ने मान्यताका प्रणेता तङ भन्ने गर्थे– गरिबीमै रहनु समाजवाद हुन सक्दैन, जुन नीतिले जनतालाई खाना, नाना र छाना दिन्छ त्यही अंगाल्ने हो  । तङकै परिकल्पनाअनुसार १९७८ मा थालिएको खुलापन र आर्थिक सुधारको नीतिअन्तर्गत विश्वव्यापीकरणको व्यापक लाभ लिन सफल चीन सन् १९९३ मा न्यून मध्यम आय भएको देश बन्न सफल भयो भने २००९ सम्म आइपुग्दा उच्च मध्यम आय भएको देशमा दरियो । कम्युनिस्ट पार्टीको अध्यक्षको रूपमा माओले सत्ता हातमा लिएको सात दशकपछि आज चीन इन्जिनियरिङ, गणित र विज्ञान प्रविधि मात्र होइन पूर्वाधार तथा उत्पादन र बजारका दृष्टिले पनि संसारकै केन्द्रमा परिणत भएको छ । 

चार दशकको चमत्कार 
चीनमा पछिल्ला चार दशकलाई आर्थिक तथा पूर्वाधार विकासमा चमत्कारको समय मानिन्छ । जापानले बुलेट ट्रेन १९६५ ताका नै चलाइसकेको थियो भने युरोपेली देशहरूले त्यतिवेलैदेखि ‘हाइस्पिड’ रेलको मजा लिइसकेका थिए । तर, सन् २००७ मा पहिलो ‘हाइस्पिड’ रेल सुरु गरेको चीन अहिले यस प्रकारको रेलमा संसारकै नेतृत्व गरिरहेको छ । संसारको कुलमध्ये दुईतिहाई ‘हाइस्पिड’रेल सञ्जाल चीनमै छ र चीनमा विद्यमान रेलमार्गको लम्बाइ पृथ्वीलाई दुई फन्को लगाउन पुग्नेजति छ । विश्व बैंकका अनुसार सन् १९७८ यता चीनमा ८० करोडभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीमुक्त भएको छ जुन मानवइतिहासमै सबैभन्दा द्रुत गतिमा भएको गरिबी निवारण हो । सन् २०१२ मा सी चिनफिङले पार्टीको महासचिव पद सम्हाल्ने वेलासम्म पनि चीनमा १० करोड मानिस गरिबीको रेखामुनि थिए । तर, आफ्नो वाचा पूराअनुसार नै उनले सन् २०२० को अन्त्यमा देशमा गरिबी पूर्ण रूपमा निवारण भएको घोषणा गरिसकेका छन्् । यो घोषणाले चीनमा सन् २०१२ यता हरेक दुई सेकेन्डमा एक मानिस गरिबीमुक्त भएको पुष्टि गर्छ । ‘विश्वकै कारखाना’को संज्ञा पाएको चीन सर्वाधिक निर्यात र आयात गर्ने मुलुक त हो नै, निकट भविष्यमै पहिलो बन्ने संघारमै रहेको विश्वको दोस्रो ठूलो अर्थतन्त्र पनि हो । चीनका नागरिकसँग एक दशकअघिको तुलनामा चार गुणा बढी सम्पत्ति छ  भने ९० को दशकसम्म सबैभन्दा बढी अनुदान स्वीकार गर्ने चीनले अहिले विश्वभर प्रत्यक्ष वैदेशिक लगानीको नेतृत्व गरिरहेको छ र हरेक वर्ष चार खर्ब युआन दान दिन थालेको छ । 

चिनियाँ सूत्रः सत्तामा रहन जनताको मन जित्नुपर्छ 
चिनियाँ कम्युनिस्ट पार्टीको हरेक पुस्ताले सत्तामा रहन जनताका चाहना सम्बोधन गर्नुपर्छ अनि मात्र सत्तामा रहने वैधता प्राप्त हुन्छ भन्ने मान्यतालाई गहिरो गरी आत्मसात् गरेको देखिन्छ । राष्ट्रपति सीले दोहो¥याउने गरेको ‘पर्फर्मेन्स लेजिटिमेसी’ अर्थात् सरकारले नतिजामा देखाएका काममा आधारित वैधतको पछिल्लो उदाहरण गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धि हो । नेतृत्वले परिकल्पना गरेको यो मिसन पूरा गर्न सिंगो पार्टीपंक्ति होमिएको थियो । कम्युनिस्ट पार्टीले गरिब परिवारको पहिचानदेखि उनीहरूको जीवनस्तर उकास्नका लागि आवश्यक कदमको योजना र कार्यान्वयन गर्ने जिम्मा दिएर ३० लाख पार्टी कार्यकर्तालाई ग्रामीण र दुर्गम क्षेत्रमा खटाएको थियो । चीनको राज्य परिषद् सूचना कार्यालयले प्रकाशित गरेको ‘पोभर्टी एलिभेसनः चाइनाज एक्सपिरियन्स एन्ड कन्ट्रिब्युसन’ शीर्षकको श्वेतपत्रमा गरिबी निवारणको युद्धमा १८ सयभन्दा बढी पार्टी सदस्य र अधिकारीले जीवन उत्सर्ग गरेको उल्लेख गरिएको छ । ‘उनीहरूले सम्पूर्ण बलिदान गरेर जनतासामु गरिएका प्रतिबद्धता पूरा गरेका छन्,’ उक्त पत्रमा भनिएको छ । 

गरिबी निवारणको मिसनले चीनका ग्रामीण जीवन अपत्यारिलो शैलीमा बदलिएका छन् । चीनको युनानस्थित ग्रामीण बाङटोङ गाउँमा दुई वर्ष बिताएका करेन्ट वल्र्ड अफेयर्समा कार्यरत अमेरिकी विज्ञ म्याथ्यु चिटउडले आफ्नो अनुभवमा लेखेका छन्, ‘म बसेको चिनियाँ गाउँ पाँच वर्षमै नाटकीय रूपमा फेरिएको छ, उनीहरू निक्कै राम्रो जीवन बाँचिरहेका छन् । कम आय भएका चीनका ग्रामीण क्षेत्रहरूमा समेत चिनियाँ कम्युनिस्ट पार्टीप्रति आस्था र उच्च भरोसा देखिन्छ, उनीहरू राष्ट्रपति सीलाई पार्टीको ‘पोस्टर म्यान’ र गरिबी निवारणको मसिहा मान्छन् । अनि सम्पूर्ण उपलब्धिको श्रेय कम्युनिस्ट पार्टीलाई दिन्छन् ।’ अमेरिकाको हार्वर्ड विश्वविद्यालयको एक टिमले सन् २००३ देखि २०१६ सम्म गरेको हजारौँ चिनियाँसँगको प्रत्यक्ष अन्तर्वार्तामा आधारित सर्वेक्षणले चिनियाँ नागरिकमा कम्युनिस्ट पार्टी र सरकारप्रति भरोसा बढ्दो दरमा रहेको देखाएको छ । सर्वेक्षण टोलीका प्रमुख हार्वर्ड विश्वविद्यालयका शोधकर्ता डाक्टर एडवर्ड कनिङघमले सन् २०१६ मा लिइएको अन्तर्वार्तामा सहभागीमध्ये ९३ प्रतिशतले सरकार र पार्टीको कामप्रति सन्तुष्टि व्यक्त गरेको एक आलेखमा उल्लेख गरेका छन् ।

चीन संसारमै सबैभन्दा तीव्र गतिमा मध्यम वर्ग विस्तार भइरहेको समाज पनि हो । सन् २००३ मा कुल जनसंख्याको ३ प्रतिशतमा सीमित मध्यम वर्ग सन् २००८ मा आइपुग्दा ५० प्रतिशतभन्दा बढी अर्थात् ७० करोडभन्दा बढी भइसकेको थियो । भर्खरै निरपेक्ष गरिबीमुक्त भएको निम्न वर्ग मात्र होइन, मध्यम वर्ग पनि कम्युनिस्ट पार्टीसँग सन्तुष्ट छ । दि क्रिस्टियन साइन्स मोनिटर नामक अन्तर्राष्ट्रिय वेब म्यागजिनसँग चिनियाँ समृद्धि रफ्तार चित्रण गर्दै बेइजिङ निवासी चाओ हुले भनेका छन्, ‘म बच्चा हुँदा पेटभरि खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो, बिस्तारै पेटभर खान सक्ने भयौँ, स्याउ खान मन लागे किन्न सक्ने बनियो र मासु खान मन लाग्दा पनि पिर हुन छोड्यो । आजभोलि त हाम्रैजस्तो परिवारका केटाकेटीहरू जन्मदिनमा अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ कार साटासाट गर्छन् । सबै कुरा राम्रो हुँदै गएको छ भने के को पिर !’ 

दुई वर्षअघि वुहानमा कोरोना महामारी सुरु भएपछि त्यही महामारीकै कारण चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता संकटमा पर्ने विश्लेषण पश्चिमा विश्लेषकहरूले गरेका थिए । तर, दुई वर्ष नबित्दै त्यही महामारी चिनियाँ कम्युनिस्ट पार्टीका लागि अतिरिक्त सशक्तीकरणको कारण बन्न पुगेजस्तो देखिएको छ । कोरोनाले संसार थलिएको वेला आएका आर्थिक वृद्धिदरका आँकडाले चिनियाँहरू उत्साहित छन् । सन् २०२० मा २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने चीन एक मात्र ठूलो अर्थतन्त्र हो । शासकीय मोडललाई आयात–निर्यातको विषय बनाउन नहुने मान्यता बोकेका पार्टी महासचिव एवं राष्ट्रपति सीले गत जनवरी २५ मा वल्र्ड इकोनोमिक फोरमलाई गरेको भर्चुअल सम्बोधनमा संसारलाई सन्देश दिँदै भनेका थिए, ‘कुनै पनि देशको शासकीय प्रणालीको सफलता मूल्यांकनको सबैभन्दा राम्रो आधार उक्त प्रणालीले ‘राजनीतिक स्थायित्व, सामाजिक उन्नति तथा जनतालाई उन्नत जीवन’ दिन सफल छ कि छैन भन्ने नै हो ।’

संसारमा एक सय वर्षको इतिहास भएका पार्टीहरू अरू पनि छन्, तर चिनियाँ कम्युनिस्ट पार्टीजस्तो निरन्तर शक्तिमा रहेर पनि शासकीय वैधता नवीकरण गरिरहन सफल भएका उदाहरण भने छैनन् । चीनको आजको सफलताका लागि त्यहाँ जन्मिएका एकपछि अर्को सशक्त नेताको भूमिका प्रधान मानिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको अर्को अनुकरणीय खुवी देश हाँक्न सक्ने र पुस्ता सुहाउँदो नेतृत्व विकास गर्न सक्नु पनि हो । आधुनिक चीनका प्रणेता माओदेखि चाउ एन्लाई र तङ सियायोफिङ हुँदै सी चिनफिङसम्म आइपुग्दा यो पार्टीले विश्व मञ्चमा शिर उठाएर देशको गौरव प्रवद्र्धन गर्न  सक्ने नेताहरू जन्माएको छ । यो पार्टीको हरेक नयाँ पुस्ताले पूर्ववर्ती पुस्ताको उपलब्धिमा स्वामित्व लिन्छ र गल्तीबाट पाठ सिक्दै अघि बढ्ने मान्यता राख्छ । संभवतः यसकै कारण स्टालिनको निधनपछि सोभियत संघले भोगेको पीडाबाट चीन जोगिन सफल भइरहेको छ । र, सांस्कृतिक क्रान्तिको नमिठो अनुभवका बाबजुद मृत्युको चार दशकपछि पनि चिनियाँहरू माओलाई ‘चेयरम्यान माओ’ भनेर श्रद्धापूर्वक सम्झिन्छन् ।

सी चिनफिङले गल्तीबाट पाठ सिक्ने र सुधार्नेहरूका लागि चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास ‘उत्तम पाठ्य पुस्तक’ भएको बताएका छन् । एउटा पार्टीले देशको जीवन परिवर्तन गर्न खेलेको भूमिका, समृद्धि मिसनमा कार्यकर्ता र जनता परिचालन गर्ने क्षमताका साथै जनताको मन जितेर सत्ता सञ्चालनको वैधता नवीकरण गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको परम्परा साँच्चिकै प्रेरणादायी छ । रंगीन आश्वासनको आडमा चुनाव जित्ने, तर सत्तामा पुगेपछि ‘डेलिभरी’ दिनै नसक्ने दीर्घरोगबाट ग्रस्त नेपाली राजनीतिक दल र तिनका नेताहरूका लागि पनि सात दशकदेखि देशलाई समृद्धिको राजमार्गमा ‘हाइस्पिड’मा हाँकिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टान्त फरक–फरक दृष्टिले अध्ययन मात्र होइन अनुकरणकै विषयसमेत हुन सक्छ ।

सुझावित समाचार