भत्किएको भवनले उब्जाएको आवास सुरक्षाको प्रश्न

देश/विदेश

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

मायामीको भवन दुर्घटनाको कारण अहिले नै यकिन गर्न नसकिए पनि यसबाट भवन सुरक्षासम्बन्धी पाठ भने सिक्न सकिन्छ

बिहीबार फ्लोरिडाको मायामी (सर्फसाइड) स्थित एक आवासीय भवनको एक हिस्सा भत्किँदा ११ जनाको मृत्यु भयो । भवनभित्र रहेका १५० जनाको अवस्था अज्ञात छ । धेरै मानिस सर्फसाइडस्थित भवन के कारणले भत्कियो, जान्न इच्छुक छन् । आधुनिक समयमा विकसित मुलुकमा भवन भत्किनुका जटिल तथा विभिन्न कारण हुन्छन् । विकसित मुलुकमा आवासीय भवन तथा अन्य संरचना निर्माणमा तिनको डिजाइन र अन्य पक्षको कडाइसाथ निगरानी गरिन्छ । मायामीको भवन भत्कनुको कारण नै पत्ता नलाग्न पनि सक्छ र कारण पत्ता लागिहाल्यो भने एकभन्दा बढी कारण देखिन सक्छन् । 

पूर्वाधार निर्माणसँग जोडिएको सरंचनात्मक सिद्धान्त र गणनामा भएको उलेख्य विकासले आर्किटेक्चरसम्बन्धी ज्ञान मात्र विस्तार गरेको छैन, पूर्वाधार निर्माणमा हुने असफलता पनि कम भएको छ । भवन निर्माणसम्बन्धी प्रविधिमा भएको विकासले असाधारण बलियो संरचना निर्माण सम्भव भएको छ । बलियो भनेर चिनिएको प्रविधिबाट बनेको भवनसमेत भत्किएका घटना एकाध भेटिन्छन् । 

आँधी, भूकम्प, ग्यास विस्फोट, आगो, अप्रत्यासित  ठूलो हिमपात आदिका कारण संरचनामाथि पार्ने अत्यधिक भारले पनि संरचना भत्किन्छन् । यस्तो स्थितिमा भत्कने कारण स्पष्ट हुन्छ । तर, प्राकृतिक विपत् वा कुनै ठोस कारण नभई भवन भत्किँदा धेरै अन्योल सिर्जना हुन्छ । त्यसका पछाडि एउटा नभएर विभिन्न कारण हुन सक्छन् । जस्तो संरचना उभिएको भूमिको स्तर बलियो नहुँदा पनि भवनको स्थिरतामा असर पर्छ । कमजोर डिजाइन र खराब कारिगरी वा मापदण्ड नपुगेको हानिकारक सामग्री प्रयोग भएर पनि भवन धराशयी हुन्छन् । अन्जान वा  अक्षमताले पनि यस्तो समस्या निम्तिन्छ । तर, केही सन्दर्भमा भने यस्ता कारणले भवन भत्किनुलाई आपराधिक लापरवाही मानिन्छ । 

भवन निर्माणसम्बन्धी प्रविधिको उल्लेख्य प्रगतिले असाधारण बलियो संरचना निर्माण सम्भव भए पनि बलियो भनेर चिनिएको प्रविधिबाट बनेका भवनसमेत भत्किएका एकाध घटना भेटिन्छन् 
 

त्यसो भए सामान्य मानिसले आफू बसेको घरमा संरचनात्मक समस्या छ कि छैन भनेर कसरी थाहा पाउने ? आजकल निर्माण हुने जुनसुकै संरचना दशकौँको ज्ञानमार्फत निर्मित निर्माणसंहिता पालना गरेर बनाइन्छ । निर्माणसंहितामा अकस्मात बढ्ने तौल र खराब कारिगरितालाई पनि ख्याल गरिएको हुन्छ । यदि भवन निर्माण गर्दा निर्माणसंहिता पालना गरिएको छ भने त्यसलाई सुरक्षित मानिन्छ । असामान्य संरचनात्मक असफलताले हामीलाई भवन डिजाइन र निर्माणबारे नयाँ जानकारी दिलाउँछ । केही अवस्थामा निर्माणसंहितामै संशोधनका लागि यी सहयोगी साबित हुन्छन् । यसको एउटा उदाहरणका रूपमा आर्किटेक्टले ‘चेन रियाक्सन कोल्याप्स’ भनेर चिन्ने प्रक्रियालाई लिन सकिन्छ । यसमा संरचनाको सानो भाग भत्किँदा त्यहाँको भार संरचनाको अन्य भागमा स्थानान्तरण हुन्छ, यो विशेषतः टावरहरुको सन्दर्भमा लागू हुन्छ ।) भार बढ्दै गएपछि बाँकी संरचनामाथि यति धेरै दबाब सिर्जना हुन्छ कि सम्पूर्ण प्रणाली नै ध्वस्त हुन्छ । सन् १९६८ मा बेलायतको २२ तले रोनान पोइन्ट यही कारणले धराशयी भएको थियो । यस असफलतालाई हेरेर विश्वभरका इन्जिनियरले संरचनामा एकभन्दा पछि भार थेग्ने संरचना निर्माण गर्न थाले । यसले गर्दा कुनै एक भाग भत्कियो भने पनि भार अन्य भागमा सुरक्षित रूपमा फैलिन्छ, जसले सम्पूर्ण संरचना भत्किन पाउँदैन । 

हुन त भवनसंहिता पालना गरेका संरचना सकभर अकस्मात धराशयी हुँदैनन् । तर, संरचनामा कुनै पनि कमजोरी देखियो भने शीघ्र रूपमा तिनको निरीक्षण गर्नु अति महत्वपूर्ण हुन्छ । निरीक्षणपछि उपयुक्त कदम उठाउने अक्कल आउँछ । यस्तो समस्या विशेषज्ञले मात्र समाधान गर्न सक्छन्, तर घरमा कुनै समस्यालाई पहिलोपटक घरभाडामा बस्ने मानिसले देख्छ । घरभाडामा बस्ने व्यक्तिले आफू बसेको घरमा कुनै समस्या देखे भने शीघ्रतासाथ धरधनी वा प्रशासनलाई जानकारी दिनुपर्छ । संरचनामा देखिने ठूलो चिरा, भुइँ र पर्खाल चर्किने र संरचनाको आकारमा उल्लेख्य परिवर्तनलाई बेवास्ता गर्नु हुँदैन । 

नयाँ घर किन्ने वेलामा घरको सबै पाटोको खोजबिन हुने गर्छ, तर घर लामो समय एउटै घरधनीको स्वामित्वमा रह्यो भने यस्तो अभ्यास हुँदैन । आजकल ड्रोनजस्ता नयाँ प्रविधिको आगमनसँगै पहिले हामीले नजर पु¥याउन कठिन हुने भागमा समेत सजिलै निगरानी गर्न सकिन्छ । हुन त अहिले नै मायामीको भवन दुर्घटनाको कारण यकिन गर्न सकिँदैन, तर हामीले यस घटनाबाट भवन सुरक्षासम्बन्धी पाठ भने सिक्न सक्छौँ । डिजाइनर, निर्माता, घरमालिक र घरभाडामा बस्ने व्यक्ति सबै घरको संरचनामा देखिएको समस्याबारे सचेत हुनुपर्छ । तिनको शीघ्र निरीक्षणमार्फत भवन पूर्णतः सुरक्षित रहेको प्रत्याभूत गर्नुपर्छ । 

(कारा हार्वर्ड विश्वविद्यालयको ग्य्राजुयट स्कुल अफ डिजाइनका प्राध्यापक हुन्) 
सिएनएनबाट

 

सुझावित समाचार