प्राज्ञिक क्षेत्रमा जनसंख्या वृद्धिलाई लिएर अझै एक पूर्वाग्रह व्याप्त छ, धेरैले जनसंख्याको ह्रासले सधैँ खराब गर्छ भन्ने सोच्छन्
चीनको भर्खरै प्रकाशित जनगणनाले त्यहाँको जनसंख्या वृद्धि झन्डै रोकिएको देखायो । विज्ञहरूले यो जनगणनाको तथ्यांक हेरेर चीनले भविष्यमा गम्भीर आर्थिक समस्या भोग्नुपर्ने चेतावनी दिइरहेका छन् । ‘द इकोनोमिस्ट’ले लेखेको छ, ‘पछिल्लो तथ्यांक चिनियाँ कम्युनिस्ट पार्टीका लागि सुखद हुनेछैन ।’ सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसनका फेलो हुआङ वेनझेनले फाइनेन्सियल टाइम्समा लेखेका छन्, ‘यसले चीनमाथि विध्वंश निम्त्याउनेछ ।’
तर, चीनको बेइबोमा पोस्ट भएको एक कमेन्टले अवस्थाको सही विश्लेषण गरेको थियो, ‘घट्दो प्रजननदरले खासमा चिनियाँ मानिसको सोचमा प्रगति भइरहेको संकेत गर्छ । मानिसले महिलालाई बच्चा जन्माउने साधन मात्र ठान्न छाड्दै गएका छन् ।’ चीनको प्रजननदर प्रतिमहिला १.३ देखिएको छ । यति प्रजननदरले जनसंख्यालाई स्थिर राख्न सक्दैन । तर, अधिकांश सम्पन्न मुलुकको प्रजननदर पनि न्यून नै छ । अस्ट्रेलियाको प्रजननदर १.६६ छ, अमेरिकाको १.६४ र क्यानाडाको १.४७ । सम्पूर्ण विकसित अर्थतन्त्रको प्रजननदर जनसंख्यालाई स्थिर राख्ने दर (प्रतिस्थापन दर)बाट घट्न थालेको सन् १९७० र सन् १९८० को दशकबाटै हो ।
त्यसयता यो दर बढेको छैन । अमेरिका मात्र यसको एक अपवाद हो । अमेरिकाको प्रजननदर सन् १९९० देखि सन् २००५ बीच दुई प्रतिशतभन्दा माथि पुगेको थियो । तर, यस वृद्धिमा जन्मदरको भन्दा आप्रवासनको हात बढी थियो । अफ्रिका र मध्यपूर्वमा मात्र जन्मदर निकै उच्च छ । भारतका महाराष्ट्र र कर्नाटकजस्ता बढी समृद्ध राज्यको प्रजननदर पनि प्रतिस्थापन दरभन्दा कम भइसकेको छ । भारतभित्रका बिहार र उत्तर प्रदेशको जन्मदर मात्र निकै उच्च छ । तर, समग्रमा भारतको प्रजननदर सन् २०१८ मा २.२ थियो ।
जनसंख्या न्यूनीकरणले खराबी मात्र निम्त्याउँछ भन्ने पूर्वाग्रह भए पनि प्रविधिको विकासले बिस्तारै अधिकांश रोजगारी स्वचालित बन्दै जाने हुँदा भविष्यमा श्रमिकको ठूलो संख्याले समस्या निम्त्याउनेछ, थोरैले होइन
आधा शताब्दी अवधिको सम्पूर्ण समृद्ध मुलुकबाट संकलन भएको तथ्यांकले महिला शिक्षा बढेपछि र बच्चा जन्माउने विषयमा महिलाको निर्णयको कदर हुन थालेपछि प्रजननदर उलेख्य घटेको पाइएको छ । यो स्थिति विश्वभर फैलियो भने विश्वव्यापी जनसंख्या नै घट्नेछ । तर, प्राज्ञिक क्षेत्रमा जनसंख्या वृद्धिलाई लिएर अझै एक पूर्वाग्रह व्याप्त छ । धेरैले जनसंख्याको ह्रासले सधैँ खराब गर्छ भन्ने सोच्छन् । फाइनेन्सियल टाइम्सको विचारमा ‘चीनको घट्दो जन्मदरले आर्थिक वृद्धिलाई जोखिममा पार्नेछ ।’ हुन त जनसंख्या स्थिर हुँदा वा घट्दा निरपेक्ष आर्थिक वृद्धि घट्छ नै । तर, समृद्धि तथा आर्थिक अवसरको सूचक आर्थिक वृद्धिभन्दा पनि प्रतिव्यक्ति आय हो ।
शिक्षित महिलाले बच्चा जन्माउन कम गर्दा आर्थिक राष्ट्रवादीहरू दुःखी होलान्, तर त्यसले देशको विकासमा सकारात्मक असर पार्छ । जनसंख्याको वृद्धि अवरुद्ध हुँदा अवकाश पाएका व्यक्तिको संख्या बढ्नेछ । कुल गार्हस्थ्य उत्पादनमा स्वास्थ्य सेवाको खर्च उच्च हुनेछ । तर, जनसंख्या न्यूनीकरणले पूर्वाधार र घरवासमाथिको खर्च घट्छ । जस्तो चीनले अहिले हरेक वर्ष आफ्नो कुल ग्रार्हस्थ्य उत्पादनको २५ प्रतिशत हिस्सा आवास क्षेत्र, सडक र अन्य सहरी पूर्वाधार निर्माणमा खर्च गर्छ । यी पूर्वाधारमाथिको खर्च घट्यो भने स्वास्थ्य सेवा र उच्च प्रविधिमा खर्च बढाउन कठिन हुँदैन ।
स्थिर र घट्दो विश्वव्यापी जनसंख्याबाट हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न सजिलो हुन्छ, जसले जलवायु परिवर्तनसँग जुध्न सघाउँछ । श्रमिकको संख्या घट्दा ज्यालादर पनि बढ्छ, जुन हरेक श्रमिकको चाहना हुन्छ । उच्च ज्यालादरले रोजगारदातालाई पनि कामलाई थप स्वचालित बनाउनेतर्फ प्रेरित गर्छ ।
निश्चित रूपमा, प्रजननदर लामो समयसम्म निकै कम भयो भने ठूलो चुनौती आउनेछ । जस्तो दक्षिण कोरियाको प्रजननदर १.०९ प्रतिशत छ र यो दर बढेन भने कोरियाको जनसंख्या ५.१ करोडबाट घटेर सन् २१०० मा २.७ करोड पुग्नेछ । त्यस अवस्थामा अवकाश प्राप्त जनसंख्या र कामदार जनसंख्याको उच्च अनुपातलाई कुनै स्तरको यान्त्रिकीकरणले पनि सहज बनाउन सक्दैन । केही सर्वेक्षणले न्यून प्रजननदरयुक्त मुलुकका धेरै जोडीमा बढी बालबच्चा जन्माउने चाहना हुने देखाएको छ ।
तर, उच्च सम्पत्ति खर्च, महँगो बालस्याहार र रोजगार तथा पारिवारिक जीवनलाई सन्तुलन कायम गर्न नसक्ने विषयले जोडीहरू हच्किने गर्छन् । नीति–निर्माता जोडीहरूको चाहनाअनुरूप बालबच्चा जन्माउन सकिने वातावरण बनाउनतिर लाग्नुपर्छ । तर, यसले पनि समग्रमा जनसंख्या वृद्धिदर प्रतिस्थापन दरभन्दा तल नै रहन्छ र बिस्तारै जनसंख्यामा ह्रास आउनेछ । तर, विश्वस्तरमा यो कुरा जति चाँडो आयो, सबैलाई राम्रो हुन्छ ।
(टर्नर इनर्जी ट्रान्जिसन कमिसनका अध्यक्ष हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट