माओवादी केन्द्रले पदमुक्त गराएका दुई मेयरलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

एकीकृत पार्टी नेकपाको एकता भंगपश्चात माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि पदमुक्त गरिएका दुई जना जनप्रतिनिधिलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरेको हो । आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले गत १४ वैशाखाम निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले ११ असारमा उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

सुझावित समाचार