कोपा अमेरिका : समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिना विजयी

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

अर्जेन्टिनाले कोपा अमेरिकाअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा बोलिभियालाई ४–१ गोलले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिनाले समूह ‘ए’को शीर्ष स्थानमा रहेर प्रतियोगिताको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने निश्चित गरेको छ । 

अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाको यो जितमा लियोनल मेसीले दुई गोल गरे । एलेजान्ड्रो गोमेज र लउटारो मार्टिनेजले एक–एक गोल थपे । बोलिभियाका लागि इर्विन साभेद्राले सान्त्वना गोल फर्काए ।

सबैको अपेक्षाअनुसार लियोनेल स्कालोनीको टोली अर्जेन्टिनाले बोलिभियालाई खेलको सुरुवातबाटै दबाबमा राखेको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै उसले गोलको एउटा उत्कृष्ट अवसर पनि पाएको थियो । यद्यपि, एलेजान्ड्रोले डी बक्सभित्र मिलाइदिएको बललाई सर्जियो अगुएरोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहारलाई बोलिभियाका गोलरक्षक कार्लाेस लाम्पेले फर्काइदिएका थिए । उक्त रिबाउन्डमा एञ्जेल कोरेया पनि गोल गर्न असफल भए । 

त्यसको केही मिनेटपछि मेसीको सहयोगमा एलेजान्ड्रोले भली सटमार्फत अर्जेन्टिनालाई १–० ले अघि बढाए । त्यसपछि अर्जेन्टिना थप आक्रामक देखियो । बोलिभिया आफ्नो पोस्टमा अर्जेन्टिनाको आक्रमणलाई बचाउनमै केन्द्रित भयो ।

खेलको ३०औँ मिनेटमा एलेजान्ड्रोलाई फल प्रहार भएपछि कोलम्बियन रेफ्री एन्ड्रेस रोजासले अर्जेन्टिनालाई पेनाल्टी अवसर दिएका थिए । जसलाई सदुपयोग गर्दै मेसीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर अगुएकोको सहयोगमा मेसीले व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरे । खेलको दोस्रो हाफमा साभेद्राले आफ्नो टोलीका लागि एक गोल फर्काए । यद्यपि, उनको यो प्रयास टोलीलाई पराजयबाट जोगाउन पर्याप्त भएन । 

मार्टिनेजले क्लोज रेञ्जबाट गोल गर्दै खेलमा अर्जेन्टिनाको जित ४–१ ले निश्चित गरे । यससँगै अर्जेन्टिनाले अपराजित रहँदै समूहगत चरण पार गरेको छ । 

क्वार्टरफाइनल चरणको समीकरण पूरा
कोपा अमेरिका २०२१ को क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वीहरूको पनि टुंगाे लागेको छ । प्रतियोगिताको दुई समूह ‘ए’ र ‘बी’बाट क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो यसअघि नै लागिसके पनि समूहमा उनीहरूको स्थान निश्चित हुन बाँकी थियो । त्यसले गर्दा क्वार्टरफाइनलमा उनीहरूको प्रतिद्वन्द्वी पनि निश्चित हुन बाँकी थियो । समूहगत चरणको अन्तिम खेलसँगै क्वार्टरफाइनल चरणका प्रतिद्वन्द्वी पनि निश्चित भएको हो । 

अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पाराग्वे, पेररू र उरुग्वे जारी कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोली रहे । अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे समूह ‘ए’ तथा ब्राजिल, कोलम्बिया, इक्वेडर र पेरू समूह ‘बी’बाट प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुगेका हुन् । बोलिभिया र भेनेजुएला समूहगत चरणबाटै बाहिरिए ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार पेरू र पारग्वे भिड्नेछन् । यस्तै, सोही दिन हुने क्वार्टरफाइनल चरणको दोस्रो खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ । शनिबार हुने क्वार्टरफाइनल चरणको दुईमध्ये पहिलो खेलमा उरुग्वेले कोलम्बिया र अर्काे खेलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछन् । 


कोपा अमेरिकाको क्वार्टरफाइनल चरणका खेल :
१८ असार, शुक्रबार 
पेरूविरुद्ध पाराग्वे
ब्राजिलविरुद्ध चिली

१९ असार, शनिबार
उरुग्वेविरुद्ध कोलम्बिया
अर्जेन्टिनाविरुद्ध इक्वेडर
 

सुझावित समाचार