हिमाली जिल्ला मनाङमा ३१ जेठमा देखिको निरन्तरको वर्षासँगै आएको मस्र्याङ्दीको बाढीले नासोँ गाउँपालिका– १ तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा क्षति गरेको छ । बाढीले डुबान गरेपछि विद्यालयमा पठनपाठन सञ्चालन गर्न नमिल्ने भएको शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए ।
उनले भने, ‘ताल गाउँसँगै विद्यालय भवन डुबानमा छ, अब तालमा कसरी विद्यालय सञ्चालनमा ल्याउने यस विषयमा छलफल भइरहेको छ । तालका बालबालिका शिक्षाबाट वञ्चित नहुन तालमा विद्यालय निर्माण गर्नपर्ने हुन्छ ।’
मनाङ जिल्लाभर भएका चारवटा माध्यमिक विद्यालयमध्ये भानु माविसहित तीनवटा विद्यालयमा बाढीले क्षति पु¥याएको छ । विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्ने भएको छ ।
विद्यालय भवन बाढीले बगाएसँगै अध्ययनका लागि के गर्ने, कहाँ जाने भन्ने विद्यार्थीमा अन्योल सिर्जना भएको छ । घरबाटै विद्यालय जाने अधिकार नै बाढीले खोसेको भानु माविको कक्षा आठमा अध्ययनरत विद्यार्थी पूजा गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘विद्यालय बाढीले बगायो, अब कहिले विद्यालय बन्छ र पढ्न जाने होला अन्योलमा छु ।’
सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको चारवटा भवन मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । अब केही भवन बाँकी रहे पनि उच्च जोखिममा रहेको विद्यालयका शिक्षक सुरेश थापाले बताए ।
यस्तै थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालय पनि बाढीका कारण प्रभावित भएको छ । बाढीले एउटा भवन बगाएको छ भने भएको संरचना पनि जोखिममा रहेको छ ।
मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङ जिल्लाभर चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन् ।