हाम्रो अन्तरसंघर्ष तिनका लागि पनि हो, जो आज ओली प्रवृत्तिको स्तुतिगान गर्न मग्न छन्, जो चित्त नबुझे पनि मौन सम्मतिमा छन् र जो मुर्दाशान्तिमा राजनीतिक जीवन गुजारिरहेका छन्
नेकपा एमालेको अन्तरसंघर्षको अग्रभागमा उभिएर आफ्ना आवाज उठाइरहँदा हामी धेरैजनालाई अनेकन् आरोपबाट लाञ्छित गरिएको छ । एकताविरोधी तत्व, अतिवादी, प्रतिस्पर्धासँग भयभीत, जनाधारविहीनजस्ता आरोपका बाबजुद आफ्नो पार्टी र आन्दोलनको रक्षामा निर्भीकतापूर्वक उभिएको यो पंक्तिकारसँग अत्तालिएर झन् आक्रमण गरेको देखिन्छ । सुखद के छ भने एमालेभित्र एउटा शक्तिशाली पंक्ति निर्भीक, निःस्वार्थ एवं स्वाभिमानपूर्वक कम्युनिस्ट आन्दोलन र देशको लोकतन्त्रको रक्षार्थ चुनौतीहरूको सामना गर्न खडा छ । मुलुकका प्रगतिशीलहरूले यो अभियानको क्षितिजभित्र उदाइरहेकोे रक्तिम आभा देखेका छन् भने सत्तालाई नै प्रगति देख्नेहरूले हाम्रो आवाजलाई अतिवाद देखेका छन् । स्वाभाविक हो, जब नेकपा एमालेलाई स्वस्थ बनाउने अभियान चल्छ, प्रदूषणमा रमाउनेका लागि त्यो अतिवाद बन्छ । संविधान र लोकतन्त्रलाई प्रतिगमनका बन्चरे प्रहारबाट बचाउन जनएकताको स्तम्भ खडा हुँदा पश्चगामीका लागि त्यो विषपानसरह बन्छ ।
इमानदार नेता–कार्यकर्ताले पार्टी फुटाउने, फुटको रमिते बन्ने, कमजोर बनाउने सोच्न पनि सक्तैन । आफ्नो उर्वर जीवन, समय र श्रम–पसिनाको लगानी रहेको पवित्र स्थल छाड्ने चाहना कसलाई हुन्छ र ? तर, दुःखका साथ भन्नैपर्छ, आज देशभर दुईवटा नेकपा एमाले चलिरहेको छ । यो परिस्थितिका खलनायक अरू कोही नभएर पार्टी अध्यक्षको पदमा आसीन केपी ओली नै हुनुहुन्छ । प्रतिनिधिसभा विघटन गरेको दिन ५ पुस, ०७७ देखि प्रधानमन्त्री केपी ओली र उहाँका समर्थकहरूले देशभर समानान्तर कमिटी गठन गर्न थाले । प्रतिनिधिसभा पुनस्र्थापना भएको दिन फागुन ११ पछि पनि यो क्रम रोकिएन र फागुन २३ (एमाले पुनर्जीवित भएको दिन) पछि त पार्टी कब्जा गर्ने योजनाका साथ (२८ फागुनमा बालुवाटारमा केपी ओलीको नेतृत्वमा केही व्यक्ति मिलेर एमालेको विधानलाई नै संशोधन गरेको गैरकानुनी नाटकपश्चात्) एमालेको मूल स्वरूप नै समाप्त गरियो । त्यही दिनदेखि केपी ओलीले एमाले विभाजित गरिसक्नुभएको छ । परिणामस्वरूप आज मुलुकका सबै प्रदेश र जिल्लामा एमालेका अलग–अलग दुई सत्ता अस्तित्वमा छन् । झलनाथ र माधव नेपालको विचार समूहको पक्षबाट त २८ फागुनपछि मात्र कमिटीहरूको पुनर्गठन गर्न थालिएको हो । आज केवल भावनामा फुटिसकेका विशाल पंक्तिलाई संस्थागत स्वरूप दिने कि नदिने भन्ने वैधानिक प्रश्न मात्र बाँकी छ ।
व्यवहारमा विभक्त र मिल्नैनसक्ने गरी स्थानीय अन्तरविरोधमा जकडिएको कार्यकर्तापंक्तिलाई विचार र संगठनको एउटा ठूलो फ्रेमभित्र अटाउन कुनै उपाय निकाल्न सकिन्छ कि भन्ने आजको प्रयास मात्र हो । केपी ओलीको नेतृत्वमा भएको एमाले विभाजनको कृत्यलाई नदेखेझैँ गरी बोल्नु वा दुवै पक्षलाई बराबर दोषी देखाउने प्रयास गर्नु आफ्नै विवेकलाई अपमान गर्नु हो र तथ्यलाई डोकोले छोप्नु मात्र हो । नेकपा एमाले हामीले निर्माण गरेको पार्टी हो । यसको जितको खुसी र हारको पीडा हामीले सँगसँगै बाँडेका छौँ । एकले अर्काको अनुहार हेरेर र सहानुभूतिले काँध थपथपाएर हामीले कठिनाइका दिनमा दुःख सहने क्षमता निर्माण गर्यौँ । शोकलाई शक्तिमा बदली पछारिएका ठाउँबाट जर्याकजुरुक उठेर विजयको अभियानमा गर्जंदै हिँड्यौँ । समाजका प्रत्येक नागरिकको कठोर जीवनको वास्तविकतालाई कोमल, ओजिला र लक्षदार शब्दले सुमसुम्याएर कम्युनिस्ट आन्दोलनको कठोर यात्रामा हिँड्न राजी गरायौँ । हामीले सामूहिक रूपमा निर्माण गरेको यो गौरवशाली पार्टी आज कता जाँदै छ ? के यो पार्टी आज आदर्शको रक्षा गर्न अगाडि बढेको छ ? यही मूल प्रश्नको उत्तरको खोजीमा हाम्रो एकताको सूत्र फेला पर्न सक्छ । त्यसैले एकचोटि आफैँलाई प्रश्न गरौँ ।
विगतमा गरिएका गम्भीर गल्तीहरूलाई आत्मालोचनासहित स्वीकार गरी भविष्यमा यस प्रकारको गल्ती नगर्ने वातावरण निर्माण गर्ने हो कि होइन ? सिद्धान्त, आदर्श र नैतिकतालाई निजी स्वार्थको कठपुतली बनाउने नेतृत्वको प्रवृत्तिले कम्युनिस्ट पार्टी बचाउन सक्छ ? आफ्ना सम्पूर्ण शासकीय शक्तिलाई साम्राज्यवादको मझेरीमा नचाउँदै उसका नीतिहरूको अन्धसमर्थन गर्ने दरिद्र मानसिकताले कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्छ ? कम्युनिस्ट सरकारले गरेका कृत्यले सर्वत्र बदनामी कमाएर जनताको आशा र भरोसालाई वितृष्णामा धकेलिदिन्छ भने कसरी भोलिका दिन राम्रो बनाउन सकिन्छ ? यी प्रश्नहरूको उत्तर खोज्ने क्रममा हामीसँग दुई विकल्प छन्– एमालेलाई विचार, व्यवहार र आदर्शले पुनर्जागृत गराउने या कम्युनिस्ट आन्दोलनको रक्षार्थ पार्टीको समग्र पुनर्गठन गर्ने ।
पहिलो विकल्प समझदारका लागि निकै सजिलो र अहंकारीहरूका लागि सकसपूर्ण छ । यो विकल्पमा फुट्न र फुटाउन पर्दैन । नयाँ आधार खोज्न पर्दैन । केवल नयाँ चेतना र ऊर्जा भरे पुग्छ । यसका लागि आजको सत्ता सम्हालिरहेका केपी ओली तयार नभएकाले नै पार्टी विभाजित हुने अवस्थामा आइपुगेको छ । कुनै पनि समाज, प्रणाली र संस्थापनमा आत्मसम्मान, स्वाभिमान र सह–अस्तित्वको ढोका बन्द भएपछि विद्रोहको ढोका खुल्छ । आज एमालेमा भएको यही नै हो । एकताविरोधी त ती हुन्, जो राष्ट्रिय स्वाभिमानको विषयलाई तिलाञ्जली दिन्छन् र पदीय व्यवस्थापनलाई मात्र प्राथमिकता दिन्छन् । यो यथास्थितिवाद हामीलाई मञ्जुर छैन । यथास्थितिवादसँग प्रगतिको सम्झौता त्यसवेलासम्म मात्र हुन्छ, जबसम्म यथास्थितिले प्रगतिको बाटो रोकेको हुँदैन । केपी ओलीले प्रगतिको बाटोलाई अवरुद्ध पारेकोले नै आजको अन्तरसंघर्ष चर्केको हो भन्ने छर्लंग छ । विचारका प्रश्नको हललाई महत्व नदिई टालटुलको बाटो पक्रने कुनै पनि संवादले नयाँ आधारमा उन्नत स्तरको एकता गर्न सक्दैन । कम्युनिस्ट आदर्शको अवसान हुँदै गयो भने समाजवादको निर्माण कसरी हुन्छ ?
आगो र अँगारमा अभिन्न सम्बन्ध हुन्छ । आन्दोलनमा आगो निभेका कोइला केवल अँगार हुन् । यही प्रवृत्तिबाट केही वर्ष पार्टी र सरकार सञ्चालन हुन दिने हो भने खरानीको थुप्रो खोज्न कतै जानै पर्दैन, नेकपा एमालेका अग्निपुष्पहरू नै चिसा अँगार र खरानीको थुप्रो भइसक्नेछन् । त्यो त्रासदीको पूर्वानुमान गरेर नै हामी आजको चुनौतीसँग मुकाबला गर्दै छौँ । आदर्शको रक्षा गर्न कठोर बन्नुपर्ने दायित्वको निर्वाह गर्नु जिम्मेवारी हो । हाम्रो अन्तरसंघर्ष तिनका लागि पनि हो, जो आज ओली प्रवृत्तिको स्तुतिगान गर्न मग्न छन्, जो चित्त नबुझे पनि मौन सम्मतिमा छन् र जो मुर्दाशान्तिमा राजनीतिक जीवन गुजारिरहेका छन् । ध्वस्त पार्टी प्रणालीले पुनर्जीवन पायो भने आजका राजनीतिक गिरोहका सदस्यहरूले समेत भविष्यमा मेरो पार्टी छ र नै मैले न्याय पाएको छु भन्ने आत्मबोध गर्न सक्नेछन् ।
हामी नेताविशेषका पक्षमा लडिरहेका छैनौँ । पार्टी र देशविरोधी प्रवृत्तिविरुद्ध अगुवाइ गर्ने नेताहरूलाई साथ दिइरहेका छौँ । हाम्रो कुनै छुट्टै मागपत्र छैन, केवल चाहन्छौँ कि हामी यस्तो एकता गरौँ, जहाँ प्रतिगमनको कोर्स करेक्सन गर्ने दिशानिर्देश होस् । पार्टी विधानअनुसार पार्टी चल्ने र कार्यकर्तामाथि पूर्वाग्रह र विभेद नहुने प्रत्याभूति होस् । पार्टीले अवलम्बन गरेका मूल नीतिका आधारमा देशको रणनीतिक लाभहानिका विषयमा सरकारलाई निर्देशित गर्ने प्रणाली स्थापित होस् । पार्टी र सरकार देश र जनताका लागि कल्याण गर्ने अगुवा बनून् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वेच्छाचारी सपनालाई अंकुश लाउन सक्ने क्षमता उहाँका निकटस्थहरूले प्राप्त गरेका छन् र पार्टीको रक्षाका लागि आफ्नो स्वतन्त्र धारणा राख्न सक्छन् भने एमालेमा मेलको सम्भावना अझै टरेको छैन ।