डिजिटल कृषि हाटबजारका रूपमा अर्बन बजार सञ्चालनमा

सोमबार, ७ असार, २०७८
डिजिटल संस्करण

किसान र उपभोक्तालाई सीधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार १२ असारदेखि सञ्चालनमा आउने भएको छ । कृषि उत्पादन, बिउबिजन, कृषि उपकरण, पशु दानालगायत वस्तु वेबसाइट, एप्स र मोबाइलबाट खरिद गर्न सकिने सुविधासहित अर्बन बजार सञ्चालनमा  आएको हो ।  

तरकारीदेखि फलफूल, दूधजन्य उत्पादन, गुन्द्रुक, मस्यौरा, गाभा, अचार, तामा तथा सुकाएका तरकारीहरू, मासुलगायतका स्थानीय उत्पादन अनलाइन वा टेलिफोनमार्फत अर्डर गर्न सकिने कम्पनीका अध्यक्ष तिलक लामिछानेले बताए । अर्बन बजारमा कृषि औजारहरू, पशु आहारहरू, बिउबिजन, बेर्नालगायतका वस्तु तथा उत्पादन वेबसाइट तथा मोबाइल एप डाउनलोड गरी अर्डर गर्न सकिने उनको भनाइ छ । 

मुख्यतया कृषकहरूले उत्पादन गरेका तरकारीजन्य, दुग्धजन्य, फलफूलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सीघै उपभोक्तासम्म पुर्याउने योजना रहेको लामिछानेले बताए । डिजिटल युगमा दैनिक उपभोग्य सामान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यतालाई कम गर्न डिजिटल हाटबजारका रूपमा अर्बन बजार भरपर्दो विकल्पका रूपमा प्रवेश गर्न लागेको अर्का सञ्चालक दीपक सिञ्जालीको भनाइ छ । उनले भने, ‘किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ तथा प्याकिङ गरी मूल्य र उपभोग्य मितिसहितको लेबल टाँसेर बजार पठाउँछौँ । अर्गानिक तथा ननअर्गानिक गरी तरकारी तथा फलफूलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने उनको भनाइ छ । 

पोखराका ४ जना युवा व्यवसायीहरूद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म १ करोड रुपैयाँ लगानी भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिए । पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको सञ्चालक विजय बरालले जानकारी दिए । छिट्टै नेपालभरि यसका शाखाहरूद्वारा सेवा पु¥याउने लक्ष्य लिइएको उनको भनाइ छ । 

सुझावित समाचार