नेपाल धितोपत्र बोर्डले लामो समयपछि आँट गरेरै बजारमा भइरहेका अनधिकृत कारोबार रोक्ने प्रयास त गरेको छ । तर, केही त्रुटिले भने बोर्डको प्रयास विवादरहित हुन सकेन । बोर्डले मंगलबार सूचीकृत २ सय २० कम्पनीमध्ये ५१ कम्पनीको नामावली सार्वजनिक गरेर जोखिममा रहेको जानकारी गरायो । त्यतिमा मात्रै सीमित नभई बोर्डले यी कम्पनीहरूको सेयरमा कर्नरिङ, सर्कुलर ट्रेडिङ र भित्री कारोबारको थप अध्ययन भइरहेको समेत बतायो ।
बोर्डले कम्पनी जोखिमयुक्त वर्गीकरण गर्न चारवटा आधार लिएको छ । एक वर्षको अवधिमा मूल्य ३ सय प्रतिशत वा सोभन्दा धेरैले बढेको, मूल्य आम्दानी अनुपात १ सय वा माथि रहेको, प्रतिसेयर आम्दानी ऋणात्मक भएको र अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएको जस्ता आधार लिइएको हो ।
भित्री कारोबारको अध्ययन नमुना संकलन विधिबाट
अध्ययन गर्दा कुनै न कुनै आधार त लिइनु नै पर्छ । तर, ती आधार यथार्थपरक हुनुपर्ने लगानीकर्ताले बताइरहेका छन् । विशेष गरी नयाँ कम्पनीहरू वृद्धिको चरणमै हुने भएकाले प्रतिसेयर आम्दानी कम हुनु स्वाभाविक हो । बिमा कम्पनीकै सन्दर्भमा ‘एक्चुअरी’ मूल्यांकनपछि मात्रै वास्तविक अवस्था देखिने भएकाले त्रैमासिक वित्तीय विवरणलाई मात्र आधार लिँदा यथार्थ अवस्था नदेखिने उनीहरूको भनाइ छ ।
कम्पनीहरूको अवस्था खासै गतिलो नदेखिए पनि किन मूल्यमा तीन गुणासम्म वृद्धि भइरहेको छ भन्नेमा धितोपत्र बोर्डको अध्ययन केन्द्रित हुनुपथ्र्याे । अहिले अवस्था ठिकै देखिए पनि भविष्यमा कम्पनीमा वृद्धिको सम्भावना देखेमा लगानीकर्ताले लगानी गर्छन् । यस्ता सेयरमा लगानीकर्ता ‘फ्युचरिस्टिक’ भएकै कारणले लगानी भइरहेको हो वा कुनै समूह विशेषले मूल्यमा खेलिरहेको हो भन्ने तथ्य खोज्ने काम धितोपत्र बोर्डले गर्नुपथ्र्याे । यस्तो खोजी गर्ने काम कम्पनीहरूको बजार मूल्य तीन गुणा बढ्नुअगाडिदेखि नै गर्नुपर्ने होइन र ?
‘कतिपय कम्पनीको लाभांश इतिहास राम्रै छ, प्रतिसेयर आम्दानी पनि अहिले यकिन नहुने खालका छन्,’ एक सेयर लगानीकर्ता रमेश नागिलाले भने, ‘तिनीहरूलाई धितोपत्र बोर्डले जोखिमपूर्ण मान्नु गलत भयो, यो सूचीमा थपिन सक्ने अन्य कम्पनीहरू पनि थिए, यी कम्पनीमा चलखेल नै भएको भए प्रमाणित गरी कारबाही गर्नुपथ्र्याे ।’
बोर्डले जारी गरेको विज्ञप्तिले भ्रम पनि सिर्जना गरेको छ । बोर्डले कम्पनीहरूको वित्तीय अवस्था र सेयर मूल्यको आधारमा मात्रै जोखिमपूर्ण भनेको हो वा यी सेयरमा चलखेलसमेत भएको हो भन्ने स्पष्ट पार्ने प्रयास गरेन । ‘हामीले यी कम्पनीहरूमा चलखेल नै भयो भनेका छैनौँ,’ धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘मात्रै यी कम्पनीमा अहिलेको वित्तीय विवरणका आधारमा अध्ययन गर्दा जोखिम देखिन्छ भन्न खोजेका हौँ, तर भाषागत समस्याले धेरैको बुझाइ यस्तो पर्न गएको देखिन्छ ।’
मुख्यतः अनुसन्धान नै पूरा नभई बोर्डबाट आएको प्रेस विज्ञप्तिले पनि द्विविधा सिर्जना गरेको छ । बोर्डको भाषागत त्रुटिले लगानीकर्तामा अलमल के भएको छ भने सार्वजनिक गरेको कम्पनीमा भित्री कारोबार वा सर्कुलर टे«डिङ भएकै हो वा वित्तीय सूचक कमजोर भएका कारण यी कम्पनी नमुना संकलनका लागि मात्र लिइएको हो । कम्पनीहरू जोखिमपूर्ण रहेको जानकारी गराउन उनीहरूको वित्तीय अवस्था, नियम परिपालनाको अवस्थालगायत आधारमा वर्गीकरण नै गराउन सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा मात्र होइन, नेपाली बजारमा पनि कम्पनीहरूमा रहेको जोखिम, वित्तीय अवस्था, नियम पालनाको अवस्थालाई हेरेर वर्गीकरण गर्ने चलन छ । नेप्सेले वर्षौँदेखि कम्पनीहरूलाई वर्गीकरण गर्ने पनि गरेको छ । तर, यो वर्गीकरण यति कर्मकाण्डी छ कि कहिले बजारमा सूचीकृत सबै कम्पनी एउटै वर्गमा अटाउने अवस्था आउँछ भने कहिले सबै बाहिरिने अवस्था आउँछ ।
कारोबार छानबिन नगरेर कम्पनीको अवस्था मात्रै हेर्नु त्रुटि
बजारमा विगतदेखि नै विभिन्न तरिकाले सेयर मूल्यमा चलखेल हुने गरेको छ । एउटै ब्रोकरले एकै दिनको कारोबारको ८४ प्रतिशतसम्म सेयर आफूले खरिद गरेर कर्नरिङ गर्ने, मर्जरको नाम भजाएर कम्पनीसम्बद्ध कर्मचारी र सञ्चालकहरूले नै मूल्यमा चलखेल गराउने प्रवृत्ति देखिएको छ । संस्थापकहरूले आफूसँग रहेको सेयर सर्वसाधारणमा परिवर्तन गर्दा होस् वा लकिङ पिरियड खुलेर संस्थापकहरूले समेत कारोबार गर्न पाउने समयमा कम्पनीले उच्चदरमा लाभांश तथा हकप्रदहरू प्रस्ताव गरेर मूल्यमा प्रभाव पार्ने गर्दै आएका छन् ।
यस्तो चलखेलको समयमा महत्वपूर्ण सूचना सार्वजनिक हुनुअगावै सेयर थुपार्ने प्रवृत्ति छ । यही एक वर्षको अन्तरालमा त्यस्तो अभ्यास भएको एनसिसी बैंक, जनरल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, नागरिक लगानी कोष, नबिल बैंक, ग्लोबल आइएमई बैंकजस्ता कम्पनीहरू बोर्डको ‘चलखेल भइरहेको कम्पनीको सूची’मा समेत अटाएनन् । वित्तीय अवस्था राम्रै देखिएका कम्पनीमा हुने चलखेलले लगानीकर्ता जोखिममा नपर्ने विश्वासमा धितोपत्र बोर्ड रहेको हो वा ठूला लगानीकर्ताको संलग्नताबाट बोर्ड हच्किएको हो भन्ने लगानीकर्ताले प्रश्न गर्न थालेका छन् ।
‘धितोपत्र बोर्डले अहिले जे गरेको छ, आँट गरेरै गरेको छ,’ सेयर लगानीकर्ता प्रकाश तिवारीले भने, ‘यो पर्याप्त भने होइन, किनभने कतिपय ठूला लगानीकर्ता संलग्न देखिएकै कारोबारमा समेत बोर्डले यसअघि कुनै कारबाही गर्न सकेन र अलि बुझ्नेबित्तिकै धेरै लगानीकर्ता चलखेल गर्नतिर लागे ।’ आगामी दिनमा बोर्डले सेयर कारोबारमा हुने चलखेलको थप अध्ययन गर्ने र दोषीलाई कारबाही गर्नेमा उनी आशावादी देखिएका छन् । अहिले बोर्डको काममा प्रक्रियागत त्रुटि देखिए पनि यसले नयाँ लगानीकर्तालाई फस्नबाट जोगाएको तथा बोर्डको आलोचना मात्रै गर्दा कारबाही प्रक्रिया अगाडि बढाउन थप हच्किने भएकाले यसमा साथ दिनुपर्ने तिवारी बताउँछन् ।
बोर्डले लिएका आधारहरूमा समेत चेरी पिकिङ अर्थात् आफूले चाहेको कम्पनीको सूची मात्रै लिएको छ । कम्पनीहरू छान्दा सबैमा चारवटै आधार लिइएको देखिँदैन भने कुनै–कुनैमा एउटै मात्र आधारसमेत लिइएको छ । वैशाख ०७७ मा सूचीकृत नै नभएको, तर अहिले मूल्य उच्च पुगेका केही कम्पनी लिँदा त्यस्तै अवस्थाका केही कम्पनीलाई भने सूचीमै पारिएको छैन ।
उदाहरणका रूपमा प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिसेयर नेटवर्थका आधारमा बोर्डको मापदण्डले जोखिममा नदेखिएको भित्र परेका प्रभु लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त कम्पनीको मूल्यमा एक वर्षको अवधिमा ३ सयभन्दा धेरै प्रतिशतले वृद्धि भएको छ । जबकि यी सूचकमा मूल्यमा भएको परिवर्तनकै आधारमा मात्र पनि बोर्डको सूचीमा हिमालयन डिस्टिलरीजस्ता कम्पनी अटाए । हिमालयन डिस्टिलरीमा भित्री कारोबार देखिएकै थियो । यही कारण बोर्डले यस कम्पनीलाई सूचीमा राखेको मान्ने हो भने फेरि प्रश्न उठ्छ, किन माथि उल्लिखित चलखेल देखिएका अन्य कम्पनीहरू भने यो सूचीबाहिर ?
हुन त यस्ता भित्री कारोबार वा मिलेमतोको कारोबारको ट्र्याकिङ गर्न नसकिने पनि होइन । मूल्य मात्र होइन, सेयर कारोबार प्रवृत्ति हेरेरै यो पत्ता लाग्छ । बिक्रीकर्ता र खरिदकर्ताको जानकारी नै उपलब्ध हुने धितोपत्र बोर्ड र नेप्सेले यसमा हालसम्म कुनै नियमन नै गर्न सकेको छैन ।
उदाहरणका रूपमा जनरल इन्स्योरेन्स कम्पनीको कारोबारमा समकक्षी नियामक निकाय बिमा समितिले सो कम्पनीको सञ्चालकलाई नै कारबाही गर्दासमेत धितोपत्र बोर्डबाट कुनै कारबाही हुँन सक्दैन, न त त्यस्ता कारोबारीमाथि अनुसन्धान थालेर सो अवधिभर कारोबारमा रोक लगाउन । बोर्डले चलखेल गर्ने लगानीकर्ता छाडेर कम्पनी मात्र तोक्ने काम ग¥यो । यसले वित्तीय अवस्थाले जोखिमयुक्त रहेको हो वा चलखेलका कारणले जोखिमयुक्त देखिएको भनेर खुट्याउन नसक्दा पनि समस्या देखिएको हो ।
‘साना लगानीकर्ताले चलखेल नै गर्न सक्दैनन्, गर्ने ठूलाले नै हो,’ लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीले भनिन्, ‘लगानीकर्ताबाटै सेयरमा कर्नरिङ भएको गुनासो बोर्डमा गएको हो, तर बोर्डले चलखेल भएको कारोबारलाई हेर्ने भन्दा पनि कम्पनीलाई हेर्ने काम गर्यो, जसले बजारमा प्यानिक सेल बढाएको छ ।’