पहिरोले थुनिएको तामाकोसी चिनियाँ सुरक्षाकर्मीको सक्रियतामा दुई दिनपछि खुल्यो

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण
पहिरोले थुनिएको तामाकोसी चिनियाँ सुरक्षाकर्मीको सक्रियतामा दुई दिनपछि खुल्यो

फाइल फोटो :  तामाकोसी नदीको प्राकृतिक बाँध क्षेत्र लामाबगर

लगातारको वर्षाका कारण शुक्रबार रातिदेखिको बाढी र पहिरोले तिब्बतको टिंग्री काउन्टीस्थित रोङ्सी खोलामा थुनिएको तामाकोसी नदी चिनियाँ सुरक्षाकर्मीको सक्रियतामा खुलाइएको छ । झन्डै २४ घन्टादेखि थुनिएको नदीले रोङ्सी खोला क्षेत्रमा ठूलो तालको रूप लिएपछि चिनियाँ टोलीले उक्त ताल खुलाउन गरेको प्रयासअनुरूप आइतबारबाट खुलाइएको हो । पहिरोले नदी थुनिएपछि बनेको ताल खुलाउन चिनियाँ अधिकारी र सुरक्षाकर्मीको टोली शनिबार दिउँसोदेखि पहिरो स्थलमा खटिएको थियो । 

तिब्बतस्थित टिंग्री काउन्टीका सुरक्षा प्रमुखले दोलखा प्रशासनलाई टेलिफोन गरी थुनिएको नदीलाई नेपालतर्फ असर नगर्ने गरी खुलाइएको जानकारी आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार उक्त तालमा झन्डै एक लाख घनमिटर पानी जम्मा भएकाले तामाकोसी नदीको तटीय क्षेत्रमा भने केही जोखिम कायमै रहेकाले सतर्क रहन स्थानीयहरूलाई अनुरोधसमेत गरिएको छ । छोङ्सी खोलालगायत टिंग्री र सिंगो तिब्बत क्षेत्रमा वर्षा रोकिएको छैन । 

दुई दिनदेखि थुनिएको खोला तालको रूपमा परिवर्तन भएको र आंक्षिक रूपमा तालबाट पानी छोडिएकाले तत्काललाई तामाकोसी नदीमा ठूलो बाढीको भने त्रास हटेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै तत्काललाई ठूलो जोखिम टरेको जनाएको छ । 

पहिरो खसेर नदी थुनिएको क्षेत्र नेपाल–चीन सिमानाको ६० र ६१ नम्बरको पिलर भएको आसपास पर्दछ । उक्त क्षेत्रमा नेपाली टोली पुग्न सक्ने अवस्था नरहेकाले चिनियाँ टोली परिचालन भएका थिए । शनिबार दिउँसोदेखि पहिरोस्थल पुगेर ताल खुलाउन खटिएको चिनियाँ टोलीले आइतबार मध्याह्नदेखि नदी पुरानै अवस्थामा बग्ने गरी खुलाएको टिंग्री काउन्टीका सुरक्षा प्रमुखले दोलखा प्रशासनलाई जानकारी गराएको थियो । पहिरोले थुनिएर बनेको ताल फुट्ने त्रासले तामाकोसी नदीको तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा दुई दिनदेखि जाग्राम बस्न बाध्य भएका थिए । 

बाढीको त्रासका कारण तामाकोसी जलविद्युत् आयोजनाले पनि आफ्नो जलाशय खाली गर्नुका साथै बाँधको चारवटै ढोका खुला गरेको थियो । तामाकोसीमा बाढी आउँदा तटीय क्षेत्रका ठूला बस्तीहरू लामाबगर, गोंगर, जगत, सिंगटी, नयाँ पुल बजार, किनेटाहार र मन्थलीलगायतका क्षेत्रहरूमा असर पर्ने कार्यालयले जनाएको छ । 

सुझावित समाचार