रोनाल्डोले कोकाकोला किन अस्वीकार गरे ?

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण

सामाजिक सञ्जालको आगमनले एक समय खेलकुद स्टार र ब्रान्डको शक्तिबीच कायम सुखद सन्तुलन बिथोलिएको छ 

१४ जुनको एक पत्रकार सम्मेलनमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफूअघि राखिएको कोकको बोतल दृश्यबाट पन्छाइदिए । रोनाल्डोको कदमले कोकाकोला कम्पनीको बजार मूल्यमा चार अर्ब डलरले ह्रास आयो ।

यस घटनाले सामाजिक मिडियाको युगमा ब्रान्डहरू खेलकुद स्टारसँग जोडिँदाको जोखिमबारे प्रकाश पारेको छ । स्वास्थ्यबारे अत्यधिक सचेत रहने खेलाडीको पहिचान बनाएका रोनाल्डोले कार्बोनेटेड पेय र रक्सी छुँदैनन् भन्ने समाचार आइरहन्छ । जुन १४ को घटनामा उनले कार्बोनेटेड पेयपदार्थभन्दा पानी स्वास्थ्यबर्द्धक भन्ने सन्देश दिने गरी टेबलबाट कोकको बोतल हटाएर पानीको बोतल उठाएका थिए ।

विशाल फलोअरको बलमा रोनाल्डो प्रायोजकका नियमबाट मुक्त हुन सक्छन् । रोनाल्डोले इन्स्टाग्राममा गर्ने प्रत्येक पोस्टबाट १० लाख डलर पाउँछन् । इन्स्टाग्रामका पोस्टबाट मात्र वर्षभरिमा रोनाल्डोले युभेन्टसको तलबभन्दा बढी कमाउँछन् । 

रोनाल्डोले उठाएर देखाएको पानीको बोतल पनि कोकाकोला निर्माता कम्पनीले नै बनाएको पाइएको छ । तर, सामाजिक सञ्जालमा ५५ करोड फलोअर भएका पोर्चुगलका स्टार खेलाडीको कदमले कोकाकोलालाई क्षति पुगिछाड्यो । 

दुई दशकदेखि कोकाकोलालाई फुटबलको प्रायोजनबारे सल्लाह दिइरहेका बजार परामर्शदाता टिम क्रो पनि सामाजिक सञ्जालका नयाँ जोखिमलाई स्विकार्छन् । सामाजिक सञ्जालमा विश्वको सबैभन्दा धेरै फलोअर भएका खेलाडीको त्यस्तो कार्यले स्वाभाविक रूपमा ठूलो प्रभाव पार्ने नै थियो । कोकाकोलाले युएफाको प्रायोजक हुन करोडौँ डलर तिर्छ । प्रायोजकसँग गरिएका सम्झौतामा प्रतियोगितामा सहभागी टिम पत्रकार सम्मेलनलगायत विभिन्न क्रियाकलापमा उत्पादन तथा उत्पादनका चिह्नसहित देखिनुपर्छ । 

प्रमुख ब्रान्ड आफूले अनुबन्ध गरेका खेलाडीका हरेक क्रियाकलाप नियन्त्रण गर्न सक्दैनन् । जस्तो सन् २००९ को यौनप्रकरण बाहिरिएपछि विश्वचर्चित गल्फ खेलाडी टाइगर उडलाई धेरै प्रयोजकले छाड्नुपरेको थियो । एक समय खेलकुद स्टार र ब्रान्डको शक्तिबीच सुखद सन्तुलन थियो । तर, समय फेरिएको छ । कोकाकोलाप्रति रोनाल्डोले देखाएको व्यवहारले भविष्यमा ब्रान्डले भोग्नुपर्ने फरक खालको जोखिमतर्फ संकेत गर्छ । सामाजिक सञ्जालबाट कमाउनेमध्ये रोनाल्डो अग्रपंक्तिमा छन् । अहिले व्यक्तिगत ब्रान्ड र व्यक्तिगत च्यानलमा वृद्धि भइरहेको छ । यसले खेलकुद स्टारलाई असाधारण शक्ति प्रदान गरेको छ । यही बलमा रोनाल्डोले व्यापारिक ब्रान्डका मालिकले के सोच्लान् भन्ने नसोची स्वास्थ्य सचेतना फैलाउन सके ।  

३६ वर्षको उमेरमा विश्वका सबैभन्दा चर्चित फुटबलर रोनाल्डोले आफूले निर्माण गरेको साम्राज्यबाट एक अर्ब डलर कमाइसकेका छन् । जुन आय उनको तलब, बोनस र व्यापारिक प्रयोजनजस्ता व्यापारिक क्रियाकलापबाट आएको हो । यसमा समाजिक सञ्जालबाट आउने आय पनि जोडिएको छ । रोनाल्डोको इन्स्टाग्राम, ट्विटर र फेसबुकमा गरेर आधा अर्बभन्दा बढी फलोअर छन् । ठूलो फलोअरको बलमा उनी क्लब, प्रतियोगिता र तिनका प्रायोजकका नियमबाट मुक्त छन् । रोनाल्डो इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने व्यक्ति हुन् । उनी प्रत्येक पोस्टबाट १० लाख डलर कमाउँछन् ।

इन्स्टाग्रामबाट मात्र उनले वार्षिक चार करोड डलर कमाउँछन्, जुन युभेन्टसले उनलाई तिर्ने तलबभन्दा बढी हो । ‘मानिसले रोनाल्डोको कदममा स्वास्थ्य जनचेतना फैलाउने उनको उत्कण्ठाले भूमिका खेलेको बताइरहेका छन् । पछिल्लो समय खेलाडीले आफूले मनले खाएका अभियानको पक्षमा बोल्न थालेका छन् । रोनाल्डोले जस्तै मंगलबार फ्रान्सका मिडफिल्डर पल पोग्बाले युरो कप २०२० को आयोजक हेइनेकेनको बियरको बोतल आफूअघिबाट हटाइदिए । पोग्बा मुस्लिम धर्मावलम्बी भएकाले रक्सीजन्य पदार्थ रुचाउँदैनन् । 

परामर्शदाता टिम क्रोको विचारमा खेलाडीले गर्ने अभियानको सबैभन्दा शक्तिशाली उदाहरण अघिल्लो महिना टेनिस खेलाडी नाओमी ओसाकाले देखाइन् । विश्वको दोस्रो वरीयताकी महिला टेनिस खेलाडी ओसाकाले फ्रेन्च ओपनका खेलअघि हुने पत्रकार सम्मेलन बहिष्कार गरिन् । सम्झौताअन्तर्गतको मिडिया नियम पालना नगरेपछि आयोजकले ओसाकालाई १५ हजार डलर जरिवाना तिराए । अझ ओसाकालाई प्रतियोगिताबाट निकाल्ने धम्की दिइयो ।

तर, ओसाका आफैँ प्रतियोगिताबाट बाहिरिइन् । प्रतियोगिताबाट बाहिरिएपछि ट्विट गर्दै ओसाकाले आफू ‘एन्जाइटी’पीडित रहेको जानकारी दिइन् । खेलाडीका अगाडि प्रायोजित सामान राखेर पत्रकार सम्मेलन गर्ने चलन धेरै पहिले असान्दर्भिक भइसकेको थियो । यो शैली परित्याग गर्ने वेला आएको छ । रोनाल्डोको घटनाले यही संकेत गरेको छ । आखिरमा प्रायोजकसँग प्रतियोगिता अवधिभर ब्रान्डिङका लागि अरू पनि प्रशस्त अवसर हुन्छन् ।

(लेखक ‘द गार्जियन’का मिडिया बिजनेस संवाददाता हुन्) 
द गार्जियनबाट

सुझावित समाचार