नेपाल एसियनकप छनोटको तेस्रो चरणमा

बुधबार, २ असार, २०७८
डिजिटल संस्करण

नेपाल सन् २०२३ मा चीनले आयोजना गर्ने एसियाली फुटबल महासंघ (एएफसी) एसियनकपको तेस्रो चरणको छनोट चरणमा पुगेको छ । एएफसीले तेस्रो चरणको छनोटमा पुग्ने नियम परिवर्तन गरेसँगै नेपालको भाग्य खुलेको हो । 

एएफसीको अघिल्लो नियमअनुसार एसियनकपको तेस्रो चरणको छनोटमा पुग्न नेपाललाई प्ले–अफ खेल्नुपर्ने बाध्यता थियो । एएफसीले विश्वकप तथा एसियाकपको दोस्रो चरणको छनोटको आठ समूहको शीर्ष स्थानमा रहने आठ र दोस्रो स्थानका आठमध्ये उत्कृष्ट चार टोली सीधै एसियनकपका लागि छनोट हुने जनाएको थियो ।
दोस्रो स्थानका बाँकी चार, तेस्रो स्थानमा रहेका आठ र चौथो स्थानमा रहेका आठमध्ये उत्कृष्ट चार टोली सीधै एसियनकप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने नियम थियो । चौथो स्थानका बाँकी चार र पाँचौ स्थानका आठ टोलीले तेस्रो चरणको छनोटमा पुग्न प्ले–अफ खेल्नुपर्ने नियम एएफसीको थियो । 

दोस्रो चरणको छनोटको समूह बिमा रहेको नेपाल आफ्नो समूहको चौथो स्थानमा थियो । यद्यपि, आठै समूहमा चौथो स्थानमा रहेका टोलीबीचको वरीयतामा नेपाल पुछारमा थियो । त्यसअनुसार नेपालको बाटो प्ले–अफतर्फ मोडिएको थियो ।

एएफसीले त्यो नियम परिवर्तन गरी पाँचौँ स्थानमा रहेका उत्कृष्ट तीनसम्मका टोलीलाई सीधै तेस्रो चरणको छनोटमा लग्ने निर्णय गरेपछि नेपालले प्ले–अफ खेल्न नपर्ने भएको हो ।एएफसीको नयाँ नियमअनुसार अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेई र ग्वामले मात्रै प्ले–अफ खेल्ने छन् । उनीहरू आठ समूहको पाँचौँ स्थानमा रहेकामध्ये पनि शीर्ष तीनभित्र पर्न असफल भएका टोलीहरु हुन् । दुई लेगमा हुने प्ले–अफ प्रतिस्पर्धाबाट दुई टोली तेस्रो चरणको छनोटमा पुग्नेछन् । 

तेस्रो चरणको छनोट प्रतियोगिता अर्काे वर्ष (१ फेब्रुअरीदेखि २७ सेप्टेम्बर २०२२) को सुरुवातमै हुनेछ । कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने तेस्रो चरणको छनोटबाट ११ टोली एसियनकपका लागि छनोट हुनेछन् । तेस्रो चरणको छनोटमा चार–चार टोली रहने गरी ६ समूह बनाइनेछ, जसबाट समूहको शीर्ष स्थानमा रहेका एक–एक र दोस्रो स्थानका ६ मध्ये उत्कृष्ट पाँच टोली एसियनकपका लागि छनोट हुनेछन् । एसियनकप १६ जुनदेखि १६ जुलाईसम्म चीनमा हुनेछ ।
 

सुझावित समाचार