खोप लगाउन पाउनुपर्ने माग राख्दै रेस्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

सोमबार, ३१ जेठ, २०७८
डिजिटल संस्करण

रेस्टुरेन्ट व्यवसायीले रेस्टुरेन्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका छन् । लकडाउनको मार खेपिरहेका रेस्टुरेन्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

‘कोरोनाले रेस्टुरेन्ट व्यवसाय तथा यसमा आबद्ध श्रमिकहरू विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरूको हकहित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीवीलाई यथाशीघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौँ,’ ज्ञापनपत्रमा लेखिएको छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन समूहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लकडाउनको मार खेपिरहेका छौँ । त्यसमाथि हाम्रा श्रमजीवीले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौँ मानिसको जीवन असुरक्षित भएको छ ।’

विभिन्न उमेर समूह र फ्रन्ट लाइनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेस्टुरेन्ट क्षेत्रलाई भने ओझेलमा पारिएकोप्रति गुनासो पनि गरेका छन् । ‘हाम्रा श्रमजीवीले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसँगै मजदुर र करोडौँ उपभोक्ताको  पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी पासाङ घिसिङले  सुनाए ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेस्टुरेन्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताए । 

सुझावित समाचार