ब्राजिलको राष्ट्रिय टोलीसमेत कोभिड संकटबीच देशभित्र कोपा अमेरिका फुटबल आयोजना हुन लागेकामा असन्तुष्ट देखिन्छ
एस्टाडियो म्यानी गारिन्चा फुटबल रंगशाला ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको कार्यालयबाटै देखिन्छ । कुनै अवरोध आएन भने झन्डै एक सातापछि त्यस रंगशालामा कोपा अमेरिकाको उद्घाटन खेल हुँदै छ । तर, प्रतियोगितामाथि विभिन्न प्रश्न उठिरहेका छन् । यसैकारण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामध्ये सबैभन्दा पुरानो कोपा अमेरिकाको पछिल्लो संस्करणलाई हालसम्मकै सबैभन्दा विवादास्पद र राजनीतिले गाँजेको संस्करण मानिएको छ ।
अघिल्लो महिनासम्म प्रतियोगितालाई कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रूपमा आयोजना गर्ने चर्चा थियो । तर, अन्तिम समयतिर आएर कोलम्बियाले आफ्नो देशमा फैलिएको राजनीतिक प्रदर्शन र अस्थिरतालाई कारण देखाएर आफ्नो भागमा परेका खेलहरू आयोजना गर्न नसक्ने बतायो । २० मेमा कोलम्बियाको यस्तो घोषणा आएको दश दिनपछि अर्जेन्टिनाले पनि देशमा एक्कासि बढेको कोभिडका कारण खेल आयोजकको नामबाट हात झिक्यो । अर्जेन्टिनाको यस घोषणाको २४ घन्टाभित्रै कोभिडले अत्यन्त प्रभावित ब्राजिललाई आपत्कालीन आयोजक घोषणा गरिरह्यो । दक्षिण अमेरिकी फुटबलको प्रशासनिक निकाय कोन्मेबोलका अध्यक्ष एलेजान्द्रो डोमिन्गेजले ट्विटरमार्फत प्रतियोगिता भएरै छाड्ने लेखेका थिए ।
ब्राजिलको राष्ट्रिय टिम आफैँ नै देशभित्र कोपा आयोजनाविरुद्ध देखिएको छ । शुक्रबार इक्वेडरमाथि जित हासिल गरेपछि ब्राजिलका क्याप्टेन क्यासेमिरोले देशको कोभिडको स्थिति हेरेर आफ्ना खेलाडी प्रतियोगितामा सहभागी हुन नचाहेको बताए । चर्चित फुटबल स्टारहरू अर्जेन्टिनाका सर्गियो अग्विरो र युरुग्वेका लुइज स्वारेजले ब्राजिलमा खेल आयोजना हुँदाका खतराबारे चिन्ता जाहेर गरेका छन् । चिलीको राष्ट्रिय टिमले पनि प्रतियोगिता बहिष्कार गर्ने सम्भावनाबारे सोचिरहेको बताएको छ । डोमिन्गेजको ट्विटलगत्तै प्रतियोगिताको लोगोमा कफिन र भाइरस जोडिएका मिमहरू व्यापक भइरहेका छन् । झन्डै १० करोड डलरको टेलिभिजन अधिकार बिक्री भइसकेको अवस्थामा दक्षिण अमेरिकी फुटबल संघ प्रतियोगितलाई थप अर्को वर्ष सार्न तयार छैन । ब्राजिलको ओ ग्लोबो समाचारपत्रको खोजअनुसार प्रतियोगिता आयोजना गर्न छनोट गरिएका चार सहरका अस्पतालमा २० प्रतिशतभन्दा कम आइसियु बेड छन् । ठूला प्रतियोगिता आयोजना हुँदा मानिसलाई सबै कुरा ठीक भइसक्यो भन्ने पर्छ । महामारीबाट ग्रसित मुलुकमा यस्तो सन्देश प्रभावित भयो भने स्थिति नियन्त्रणबाहिर जाने सम्भावना हुन्छ । महामारी नहुँदो हो त ब्राजिल प्रतियोगिताको आपत्कालीन आयोजक स्थलका रूपमा सही छनोट हुने थियो । फुटबल प्रतियोगिताका लागि ब्राजिलमा यस क्षेत्रकै उत्कृष्ट पूवार्धार छन् ।
कोन्मेबोलले प्रतियोगिता सुरु हुनुअघि नै सबै टिमका प्रतिनिधिलाई चीनमा निर्माण भएको सिनोभ्याकको ५० हजार खोप लगाउने तर्क गरेको छ । तर, यसका लागि निकै थोरै समय मात्र बाँकी छ । खोपका दुई डोजबीच तीन साताको समय हुनुपर्ने बताइएको छ । तर, खेल सुरु हुन एक साता मात्र बाँकी छ । र, खोप फुटबल टिमलाई मात्र लगाएर पुग्दैन । उनीहरू बस्ने होटेल तथा रेस्टुरेन्ट, तिनलाई घुमफिर गराउने यातायात श्रमिक र प्रतियोगितामा विभिन्न कार्यमा सघाउने सहयोगीलाई पनि आवश्यक हुन्छ । फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय बोल्सोनारोलाई महाभियोग लगाउनुपर्ने माग उठेको एक साताभित्र आएको छ ।
केही समयअघि ब्राजिलका झन्डै दुई सय सहरमा हजारौँ मानिस सडकमा उत्रिएर राष्ट्रपतिलाई हटाउनुपर्ने माग राखेका थिए । बोल्सोनारोले बारम्बार कोरोना भाइरसलाई हल्का लिँदै आएका छन् । यसले पनि उनीविरुद्ध जनताहरू आक्रोशित छन् । कोपा अमेरिका प्रतियोगिता आयोजना गर्न दिने बोल्सोनारोको निर्णयविरुद्ध विपक्षी राजनीतिज्ञ सर्वोच्च अदालत पुगेका छन् । उनीहरूले ब्राजिलको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता रद्द गर्न माग गरेका छन् । देशका विभिन्न राज्यमा पनि कानुनी कारबाहीको माग भइरहेका छन् । विश्लेषकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेर बोल्सोनारोले आफ्नो सरकारले महामारी नियन्त्रणमा गरेका असफलताबाट ध्यान अन्यत्र मोड्न खोजेको बताएका छन् ।
कानुनी लडाइँको केही असर हुन सक्ने भए पनि विज्ञहरूले यसैमार्फत प्रतियोगिता नै रद्द हुन सक्नेमा आशंका व्यक्त गरेका छन् । विशेषतः ब्राजिलमा विभिन्न राजनीतिक निर्णयमा मुद्दा मामिला भए पनि तिनले तात्विक फरक पारेको देखिँदैन । ब्राजिल र ब्राजिलका जनताले फुटबललाई उच्च महत्व दिने भए पनि अहिले महामारीमाझ प्रतियोगिता आयोजना गर्न दिनुको सान्दर्भिकतामा भने सबै देश पक्ष र विपक्षमा विभाजित भएका छन् ।
(लेखक स्वतन्त्र पत्रकार हुन्)
अल जजिराबाट