यताका प्रधानमन्त्री ओलीले झैँ उताका बोल्सोनारोले कम्तीमा राष्ट्रिय अस्मितामाथि खेलबाडचाहिँ गरेका छैनन्
अहिले ब्राजिल आन्दोलनमय छ । त्यहाँका अधिकांश सहरमा राष्ट्रपति जैर बोल्सोनारोविरुद्ध ठुल्ठूला प्रदर्शन भइरहेका छन् । कोभिड–१९ जस्तो भयानक विश्व महामारीप्रति नजरअन्दाज गरी मास्क, खोप नलगाउने, भौतिक दूरी कायम नगर्ने र कुनै सावधानी नअपनाउने राष्ट्रपतिको गैरजिम्मेवार भूमिकाका कारण आजसम्म साढे चार लाखभन्दा बढी ब्राजिलियाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाइसकेका छन् । यसको दोषी सोझै बोल्सोनारो देखिएका छन् र उनीविरुद्ध महाभियोग लगाउनुपर्ने सशक्त आवाज उठिरहेको छ । यो स्वाभाविक जनआक्रोश हो र नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने र स्वास्थ्य मापदण्ड नअपनाउने राष्ट्रपति निश्चित रूपमा दोषी हुन् ।
यस्तो कुकर्म गर्ने राष्ट्रप्रमुख किन जिम्मेवार पदमा बसिरहने ? ब्राजिलियन नागरिकको विवेकशील आवाज हो यो । यस्तो आवाज उठिरहे बोल्सोनारोले अनिवार्य रूपमा पदत्याग गर्नुपर्नेछ र जनविरोधी शासकले पदच्युत हुनुपर्नेछ । त्यहाँ भइरहेका प्रदर्शनले यस्तै लक्षण देखाएका छन् । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कुशासनको परिणाम र मूल्य अमेरिकी समाजले कति झेल्ला या चुकाउला, रिपब्लिकन पार्टीले त तुरुन्तै चुकाउनुपरेको निकट विगत हामीसँग छ । सन् २०१०/११ मा भएको वसन्त विद्रोहको झिल्को ट्युनिसियामा देखिएर मध्यपूर्वमा फैलिएपछि ट्युनिस राष्ट्रपति वेन अली र होस्नी मुबारक मात्र होइन, अब्दुल्ला फतेह र कर्णेल गद्दाफीजस्ता शासक समाप्त भएका थिए । अब ब्राजिलको झिल्को कहाँसम्म फैलिने हो, थाहा छैन, तर त्यहाँ मात्र सीमित पक्कै रहनेछैन ।
नेपाल एकीकरणका सूत्रधार शाह राजाहरूको स्वेच्छाचारलाई सहन नसक्ने जनताले चुनावी परिणामबाट उदाएका आवधिक या म्यादी शासकको मनपरीतन्त्रचाहिँ किन र कतिन्जेल सहने ?
नेपाललाई विश्वसामु स्वतन्त्र, सार्वभौम, अखण्ड र स्वाभिमानी राष्ट्रका रूपमा उभ्याउन विगतमा लामो समयसम्म हाम्रा अग्रजले निकै ठूलो संघर्ष गर्नुपरेको थियो । यो संघर्ष आजपर्यन्त चलिरहेको छ । नेपालको अढाई सय वर्षभन्दा लामो आधुनिक इतिहासतर्फ दृष्टिपात गर्दा सन् १८१६ को सुगौली सन्धिपश्चात् विदेशी राष्ट्रहरूबाट भौतिक आक्रमण नभए पनि आर्थिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक रूपमा निरन्तर हुने गरेका आक्रमणले नेपाललाई एकप्रकारले थिलथिलो नै तुल्याएको छ । छिमेकी राष्ट्र भारतबाट तीनतिर र एकातर्फ चीनबाट घेरिएको नेपालले आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त भौगोलिक सिमानाको सुरक्षामा समेत उच्च जोखिम र प्रताडना झेलिरहेको छ । आफ्नो प्राकृतिक सम्पदाको भोगचलनमा समेत स्वतन्त्रता गुमाएका कतिपय दृष्टान्तले नेपाललाई निरन्तर पोलि नै रहेको छ । विश्वका अघिल्तिर गरिब तथा निर्धो राष्ट्रका रूपमा उपस्थित नेपालले शिर ठाडो पारेर स्वाभिमानपूर्वक उभिन अझै कति समय कुर्नुपर्ने हो, भन्न सकिने अवस्था छैन ।
यहाँ ब्राजिलको प्रसंग किन आयो त ? यो त नागरिक स्वास्थ्यको सन्दर्भ मात्र हो । जब राष्ट्रकै स्वास्थ्य तलमाथि हुन लाग्यो भने के गर्ने ? यस विषयमा सबै नेपाली एकपटक घोत्लिनै पर्ने गम्भीर अवस्थामा हामी छौँ । ठूलो वीरता, शौर्य तथा बलिदानबाट निर्माण भएको राष्ट्र किन ठूला र शक्तिशाली राष्ट्रबाट निरन्तर हेपिनुपर्ने र आन्तरिक रूपमा पनि शासनमा पुगेका व्यक्तिहरू गैरजिम्मेवार हुने दुर्भाग्य किन दोहोरिइरहने जस्ता पेचिला प्रश्न हाम्रा अघिल्तिर छन् । बाह्य हस्तक्षेप नेपालजस्ता भूपरिवेष्टित राष्ट्रको नियति र नियमित स्वाभाविकता बनेको छ । तर, यसलाई संस्थागत गर्ने कामको कारक को हो वा कसले गर्यो ? बलिया छिमेकीको बारम्बारको हस्तक्षेपलाई प्रोत्साहन गर्ने काम ककसले गरेका हुन् ? अझ खुलस्त रूपमा भन्नुपर्दा नेपालको आन्तरिक राजनीतिमा बाहिरिया चलखेल निम्त्याउने वा आमन्त्रण गर्ने काम किन हुन्छ ? यसको छिनोफानो गर्नुपर्ने टड्कारो ऐतिहासिक आवश्यकता देखिएको छ । ब्राजिलमा त त्यहाँका जनताको स्वास्थ्यमाथि मात्र खेलबाड भयो, तर नेपालमा त नागरिक स्वास्थ्य मात्र होइन, देशको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि समेत खेलबाड गर्ने दुस्साहस भएको छ । यसका लागि हामीले साइत हेरेर बस्न मिल्छ ? आज नेपाली जनताले कोरोना कहर त झेलिरहेकै छन् ।
साथसाथै, राष्ट्रको अस्तित्व नै मेट्ने भयानक र खतरनाक खेल पनि यहाँ सत्ताबाटै चलिरहेको छ । मुलुकको संविधानको संरक्षण, पालना र कार्यान्वयन गर्ने पहिलो संस्था कुन हो ? यदि त्यो आफ्नो जिम्मेवारीमा बारम्बार चुक्छ भने रोक्ने कसले ? देशको कार्यकारीले संविधानबमोजिम शपथ लिनु नपर्ने कस्तो अराजकता हो ? यस्तो विषयमा न्यायालय नबोल्ने कस्तो विडम्बना हो ? संवैधानिक भूमिकामा रहेको राष्ट्र प्रमुखले अर्को देशको कार्यकारी राष्ट्र प्रमुखलाई राष्ट्रको तर्फबाट पत्र लेख्ने या सहयोगको औपचारिक आग्रह गर्ने या गराउने कस्तो अभ्यास हो ? यसो गर्न पाइन्छ ? संविधानले राखेको थान्कोमा सबै बस्नुपर्दैन ? अनि यस्तो विषयमा अरू दल बोल्नुपर्छ कि पर्दैन ? एकपछि अर्को प्रश्न खडा हुँदै गएका छन् ।
नेपालमा यतिवेला सरकार नै छैन भन्दा अतिशयोक्ति हुनेछैन । सरकार भएको भए जनताले यसरी असुरक्षित महसुस गर्ने थिएनन् । निर्वाचनबाट बहुमत ल्याएको दल क्षतविक्षत् छ । संसद्मा बहुमत गुमाएका व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा जबर्जस्ती आसीन छन् । उनले संविधान, कानुन केही मान्नुपर्दैन । धारा ७६(१) देखि (५) सम्मका प्रधानमन्त्री नियुक्तिका व्यवस्थामा उनकै एकलौटी दाबी छ । शपथ लिँदा देश र जनताको नाममा प्रतिज्ञा गर्नुपर्दैन । उल्टै अध्यादेशबाट शपथको व्यहोरा बदलिन्छ । संसारमा यस्तो कहाँ हुन्छ ? तथापि प्रधानमन्त्रीको कुर्सीमा त्यही व्यक्ति आसीन भइरहन्छ ।

नेपालमा असंवैधानिक रूपमा दोस्रोपटक प्रतिनिधिसभाको हत्या गरिएको छ । यो गत फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको फैसलाको भावना र मर्मप्रतिकूल दुस्साहसिक कदम हो । त्यति मात्र होइन, संसद् मासेर, संविधानलाई थिलथिलो पारेर अनि लोकतान्त्रिक शासन प्रणालीलाई क्षतविक्षत् बनाएर सत्तामाथि कब्जा जमाइरहने ओलीप्रवृत्ति तानाशाहीको पछिल्लो दक्षिण एसियाली संस्करण हो । अझ त्यसमाथि मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको राजनीतिक नग्नताले हरकोही सचेत नेपालीलाई नराम्ररी झस्काएको छ । पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने उग्र राष्ट्रवाद र तराईमा बसेर पहाडप्रति घृणा ओकल्ने उग्र मधेसवाद, जो प्रकारान्तरले अवसरवाद हुन्, को नाभि जोडिएको स्पष्ट भएको छ । यसले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई असफल बनाई राजनीतिक प्रतिगमन सुरु गर्ने दुवैथरी अतिवादको सुनियोजित षड्यन्त्र र गुरुयोजना चरितार्थ भएको छ । यो विगतको राजतन्त्रभन्दा डरलाग्दो प्रवृत्ति हो ।
यस्तो जात्रा कहिलेसम्म हेरिरहनुपर्ने ? नेपाल एकीकरणका सूत्रधार शाह राजाहरूको स्वेच्छाचारलाई सहन नसक्ने जनताले चुनावी परिणामबाट उदाएका आवधिक या म्यादी शासकको मनपरीतन्त्र चाहिँ किन र कतिन्जेल सहने ? अब तदर्थवादी चिन्तन र व्यवहारले राजकाज चल्दैन । ब्राजिलमा जस्तो जनताको स्वास्थ्यप्रतिको चरम लापरबाही नै सरकार पतन हुनुपर्ने पर्याप्त कारण हो । त्यसमाथि संविधानको ठाडो उल्लंघन र राष्ट्रिय अस्मितामाथिको खेलबाड अर्को जघन्य कारण हो । यति धेरै गैरजिम्मेवारीको चाङमा घिटिघिटी सास फेरिरहेको सरकारविरुद्ध जाइलाग्न थप जोखाना हेरिरहनु आवश्यक छैन ।
नेपाली समाज पर्ख र हेरको प्रवृत्तिले गाँजेको परम्परावादी समाज हो । अर्को कुरा तुलनात्मक रूपमा अति नै सहनशील समाज पनि हो । नाकसम्म पानी नआउन्जेल यो समाज चटपटाउँदैन । बरु पलायनको बाटो रोज्छ, प्रतिक्रिया दिँदैन । यही भएर यस समाजभित्रका चलाख मानिसले राज्यको साधन र स्रोतलाई अत्यधिक दोहन गरे । यो सिलसिला एकीकरणलगत्तै सुरु भयो । परम्परागत सामन्तवादी व्यवस्थामा सीमित तत्व वा संस्थाले समाजलाई चुस्ने काम गर्यो भने तत्पश्चात रूप र आवरण बदलिएको सामन्ती प्रवृत्तिका अनेक संस्करणले दोहन गरे, जसको पछिल्लो कडी वर्तमान सरकार हो । एउटा कुरा हामीले प्रस्ट बुझ्नुपर्छ, माध्यम राम्रो भए पनि परिणाम सधैँ गतिलो नआउन सक्छ । धूर्त संस्था वा पात्रले असल माध्यमको दुरुपयोग गरेको हुन सक्छ । नेपाल बारम्बार यस प्रवृत्तिको सिकार भएको छ । आज हामी त्यसैको चपेटामा छौँ । त्यसैले अब कसैले पनि सामान्य रूपमा सोचेर वा औसत भूमिका निभाएर पुग्दैन । देश र जनतालाई आफ्नो क्षुद्र स्वार्थका निम्ति बारम्बार दुरुपयोग गरी थिलथिलो बनाउने प्रवृत्तिविरुद्ध निर्णायक प्रतिरोध गर्नुपर्ने समय आएको छ । यसका लागि हामीसँग पर्याप्त समय छैन ।
राजनीतिको वर्तमान परिदृश्यमा समकालीन गतिविधि राष्ट्रिय आवश्यकताबमोजिमका पटक्कै छैनन् । अहिले देखिएका विभिन्न संकटबाट देशलाई जोगाएर अघि बढाउन आलश्यकारी सनातनी भूमिका पर्याप्त हुँदैन । वर्तमान ओली सरकारले सिर्जना गरेको विधिविहीनताले राष्ट्रिय अस्तित्वमाथि गम्भीर खेलबाड गरेको छ । कुरा स्वास्थ्य संकटको मात्र छैन, विषय लोकतन्त्र र संविधानको मात्र छैन । यहाँ त नेपालको भविष्यलाई जोखिममा पार्ने खुला अभ्यास प्रारम्भ भएको छ, जसले मुर्झाएको पुरानो सिलसिलालाई पुनर्जाग्रित तुल्याएको छ । पर्दाभित्र र बाहिर नाचिरहेका पात्रहरूले यसलाई पुष्टि गरेका छन् ।
एउटा स्वाभिमानी नेपालीले यस्तो चोटलाई कसरी सहन सक्छ ? हाम्रो राष्ट्रिय अस्तित्व सकेर पनि लेन्डुपको ओहोदा र सुविधालाई जीवनको महान् उद्देश्य र सफलता ठान्ने पात्र र प्रवृत्ति हाम्रै अगाडि ठडिएको छ । यसको निसाना हामीतिरै सोझिएको छ । यसलाई राष्ट्रिय र ऐतिहासिक आवश्यकताको धरातलमा उभिएर आफ्नो बुद्धिमत्ता र विवेकले टार्न सक्नुपर्छ । हाम्रो संकटसामु ब्राजिलियन जनताको संकट पटक्कै ठूलो होइन । यताका प्रधानमन्त्री ओलीले झैँ उताका बोल्सोनारोले कम्तीमा राष्ट्रिय अस्मितामाथि खेलबाड चाहिँ गरेका छैनन् । उनको बहुलठ्ठीपना डोनाल्ड ट्रम्पको नयाँ संस्करण मात्र हो । तर, हामीले झेलिरहेको संकट समयमै नियन्त्रण गरिएन भने निकट भविष्यमा विश्व मानचित्रमा अंकित यस भूगोलमा अकल्पनीय घटना घट्नेछ, जसका कारण र मतियार हामीसमेत हुनेछौंँ ।