निषेधाज्ञामा राजस्व संकलनभन्दा खर्च दोब्बर

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

दोस्रो लहरको कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिएको निषेधाज्ञाको अवधिमा सरकारले राजस्व संकलनको तुलनामा दोब्बरभन्दा बढी खर्च गरेको छ । देशका अधिकांश भागमा निषेधाज्ञा सुरु भएको एक महिना नाघिसकेको छ । निषेधाज्ञा लागू भएपछि आर्थिक गतिविधि सुस्ताए पनि सरकारी चालू खर्च भने नियमित भइरहेको देखिन्छ । सोही कारण यस अवधिमा सरकारको राजस्व संकलनको तुलनामा ६३ अर्ब ८९ करोड रुपैयाँ बढी खर्च भएको सरकारी तथ्यांक छ । 

काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको १६ वैशाखयता सरकारले कुल ६४ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि यस अवधिमा सरकारले कुल १ खर्ब २७ अर्ब ९६ करोड खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । जसमध्ये चालूतर्फ ९६ अर्ब ८४ करोड रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारको अनुदान र अन्य आयसमेत कुल प्राप्ति ६४ अर्ब ८० करोड देखिएको छ । 

निषेधाज्ञाकै बीच राजस्व परिचालन र खर्चको अवस्था सन्तोषप्रद नै रहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । सरकारको अनिवार्य दायित्वसहितको चालू खर्च नियमित भइरहेको तथा महामारीकै बीच पुँजीगत खर्च पनि सन्तोषप्रद रूपमै बढिरहेको उनले बताए । कोभिडका कारण आर्थिक गतिविधि सुस्त हुँदा राजस्व परिचालन प्रभावित भए पनि वार्षिक लक्ष्यको नजिकै रहेको उनले बताए । ‘खर्चको तुलनामा राजस्व संकलन कम देखिएको छ,’ उनले भने, ‘तर, सरकारी ट्रेजरी सन्तुलनमै छ, कोभिडको संक्रमणदर घट्दो अवस्थामा रहेको तथा कोभिडविरुद्धको खोप अभियान पनि अघि बढिरहेको सन्दर्भमा आर्थिक गतिविधि बढ्ने र राजस्व संकलनमा बढोत्तरी आउने हाम्रो अपेक्षा छ ।’

निषेधाज्ञायता राजस्वको तुलनामा २.३५ बिन्दु प्रतिशतले बढी भएको देखिन्छ । १६ वैशाखयता राजस्व ६.३३ बिन्दु प्रतिशत र खर्च ८.६८ बिन्दु प्रतिशतले बढेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ । १६ वैशाखसम्ममा ७ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो, जुन लक्षित वार्षिक बजेटको ७१.६५ प्रतिशत हुन आउँछ । जबकि खर्च भने वार्षिक लक्ष्यको ५१.२ प्रतिशत अर्थात् ७ खर्ब ५५ अर्ब ८ करोड रहेको थियो । १६ वैशाखसम्ममा चालूतर्फ ५ खर्ब ७७ अर्ब ७२ करोड र पुँजीगततर्फ १ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ खर्च भएको थियो । 

अन्य आय, अनुदानसमेत गरेर सरकारको कुल प्राप्ति ८ खर्ब ३५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यसमा आन्तरिक तथा बाह्य ऋण जोडिएको छैन । त्यस्तै, शनिबारसम्ममा सरकारको कुल खर्च कुल ८ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । जुन कुल वार्षिक बजेटको ५९.८८ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले ६ खर्ब ७४ अर्ब ५६ करोड चालू खर्च गरेको छ । जुन चालूतर्फको विनियोजित वार्षिक बजेटको ७१.०९ प्रतिशत हो । 

सरकारी ट्रेजरी सन्तुलनमै छ
 महेश आचार्य, प्रवक्ता, अर्थ मन्त्रालय

कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका बाबजुद पनि राजस्व परिचालन निराशाजनक छैन । अहिले आयात प्रभावित भएका कारण भन्सार राजस्व केही सुस्त भएको छ । यता सर्वोच्चको आदेशका कारण आन्तरिक राजस्व पनि केही कम भएको छ । उपभोगमा आधारित राजस्व भएका कारण उपभोग प्रभावित हँुदा राजस्व प्रगति हुने स्वाभाविक नै हो । तर, राजस्व संकलनमा लक्ष्यनजिकमै छाैँ ।

उता अनिवार्य दायित्वलगायतका कारण चालू खर्च बढोत्तरी नै भएको छ । महामारीकै बीच स्वास्थ्य पूर्वाधारलगायतमा पुँजीगत खर्च बढेको देखिन्छ । तुलनात्मक रूपमा राजस्व परिचालन कम र खर्च बढी देखिएको भए पनि सरकारी ट्रेजरी सन्तुलित नै छ । खोप अभियानले थप तीव्रता पाएपछि आर्थिक गतिविधिले छिट्टै लय समाउने अपेक्षा गरेका छौँ । 

सुझावित समाचार