खोप दिन सके जलवायु संकटलाई जित्न सकिन्छ

जलवायु संकटविरुद्धको लडाइँमा धनी र विकासोन्मुख मुलुकबीच निर्माण हुने विश्वासले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नेछ

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को पछिल्लो प्रक्षेपणअनुसार यस वर्षको अन्त्यसम्म विश्वको ४० प्रतिशत जनसंख्यालाई खोप लगाउन ५० अर्ब डलर लाग्नेछ । आइएमएफले सबैलाई खोप लगाउँदा ठूलो आर्थिक फाइदा हुने पनि बताएको छ । विश्वव्यापी खोप अभियान सफलतापूर्वक टुंगोमा पुर्याउनुको अर्को पनि सशक्त कारण छ । विश्वभर खोप पु¥याउने कार्यले जलवायु संकटविरुद्धको संघर्षका लागि आधार तयार गर्छ ।

किनकि, जलवायु संकटविरुद्धको संघर्षमा पनि खोप वितरणका क्रममा उपभोग भएकै स्रोत, प्रविधि, कौशल र धनी तथा विकासोन्मुख देशबीच साझेदारीको आवश्यकता पर्छ । नोभेम्बरमा सम्पन्न हुने सिओपी–२६ जलवायु सम्मेलन विश्वव्यापी साझेदारी विकास गर्ने उपयुक्त मञ्च हुन सक्छ । तर, त्यसका लागि पहिले धनी मुलुकले विश्वभर खोप वितरण गर्ने तिनको वाचा पूरा गरेर देखाउनुपर्छ । आज खोपको पहुँचलाई लिएर विश्वमा चरम असमानता कायम छ ।

अमेरिकाले अहिले बालबालिकालाई खोप लगाउन सुरु गर्दा विश्वका अधिकांश भागमा स्वास्थ्यकर्मी तथा वृद्ध जनसंख्याले समेत खोप पाएका छैनन् । अप्रिलको अन्तिमसम्म अफ्रिकाका दुई प्रतिशतभन्दा कम जनसंख्यालाई खोप लगाइएको छ । यही समयमा अमेरिकाको ४० प्रतिशत र युरोपको २० प्रतिशत जनसंख्याले कम्तीमा एक डोज खोप पाइसकेका छन् । विश्वको सबैभन्दा ठूलो खोप निर्माता भारतले आफ्नै जनसंख्याको तीन प्रतिशतलाई मात्र खोप दिन सकेको छ । सो देशलाई छोपेको कोभिड–१९ को दोस्रो लहर न्यून खोप दरका कारण निकै प्राणघातक बन्यो ।  

महामारीको सुरुका दिनमा विश्वव्यापी ऐक्यबद्धताको गफ चले पनि धनी मुलुकले आफूलाई चाहिनेजति मात्र खोप बनाए । नपुगेको खोप तिनले अरू देशबाट आयात गरे । मार्चसम्म विश्वको १६ प्रतिशत जनसंख्या बसोवास गर्ने उच्च आययुक्त मुलुकले ५० प्रतिशत खोपका डोज किनिसकेका थिए । तर, जुन महिनासम्ममा कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वका सबैभन्दा गरिब मुलुकका लागि वाचा गरिएको दुई अर्ब डोजमध्ये आठ करोड डोज मात्र वितरण भएको छ । कारण ? एकातर्फ कोभ्याक्स कार्यक्रममा दाताहरूले पर्याप्त रकम हालेनन्, अर्कातर्फ भएकामध्ये अधिकांश खोप धनी मुलुकले हडपेका छन् । बिल–एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको अनुमानअनुसार धनी मुलुकसँग यस वर्षको अन्तिमसम्ममा एक अर्ब अतिरिक्त खोपका डोज हुनेछन् । 

राष्ट्रहरूले अवलम्बन गरेका आर्थिक नीतिमा पनि यी असमानता प्रतिबिम्बित भए । समृद्ध मुलुकले ठूलो रकम ऋणमा लिएर पनि संकटमा फसेका आफ्ना जनतामाथि लगानी गरे । धनी मुलुकले यसमा कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढीसम्म रकम खर्च गरेका छन् । जब कि गरिब मुलुकले दुई प्रतिशत मात्र खर्च गर्न सके । महामारीका कारण थप १० करोड मानिस विषम गरिबीको रेखामुनि धकेलिन पुगे । सहयोगमा धनी राष्ट्रको यो गम्भीर नैतिक असफलताले विकोसोन्मुख मुलुकमा तिनीहरूप्रति आशंका बढेको छ । यसले जलवायु संकटविरुद्धको विश्वव्यापी सहकार्यमा गम्भीर क्षति पु र्याउन सक्छ । 

जलवायु संकटविरुद्धको संघर्षमा पनि खोप वितरणका क्रममा उपभोग भएकै स्रोत, प्रविधि, कौशल र धनी तथा विकासोन्मुख देशबीच साझेदारीको आवश्यकता पर्छ 

कोप २६ को सफलता आंशिक रूपमा बंगलादेश, चीन, भारत, इन्डोनेसिया, मेक्सिको, नाइजेरिया र पाकिस्तानजस्ता ठूला विकासोन्मुख मुलुकले त्याग गर्ने प्रतिबद्धतामा निर्भर रहनेछ । कार्बनडाइअक्साइडको उत्सर्जन कटौती गर्दा विकासोन्मुख देशको आर्थिक वृद्धिमै असर पुग्छ । वातावरणका लागि विकासमा केही त्याग गर्न तत्पर मुलुकले धनी मुलुकले प्रतिबद्धता पूरा गरे या गरेनन् भनेर हेर्नेछन् । त्यसैले जलवायु संकटविरुद्धको सहकार्यमा धनी र विकासोन्मुख मुलुकबीच विश्वास निर्माण हुनुपर्छ ।

विकासोन्मुख मुलुकहरूले पहिल्यैदेखि धनी मुलुकले विगतमा गरेका बेपर्वाह विकासको सजाय आफूले त्यागमार्फत भोग्नुपरेको गुनासो गर्दै आएका छन् । यो गुनासो गलत छैन । विकासोन्मुख मुलुकले आफूहरूलाई कठोर विकल्प छनोट गर्न लगाएबापत क्षतिपूर्तिको माग गर्ने सम्भावना रहन्छ । तर, धनी मुलुकले क्षतिपूर्ति रकम तिर्ने वाचा गरे नै भने पनि विकासोन्मुख मुलुकले विश्वास गर्ने वातावरण कसरी बन्छ ? धनी मुलुकले अहिले विश्वलाई पूर्ण खोप लगाउन लगानी गरेमा एक खालको सकारात्मक वातावरण बन्न सक्छ । 

विश्वव्यापी खोप अभियानमा केही सकारात्मक काम भएका पनि छन् । जस्तो कोभ्याक्स कार्यक्रमले भर्खरै जोनसन एन्ड जोनसनसित २० करोड खोपको डोज दिने सहमतिमा हस्ताक्षर गराउन सफल भएको छ । अमेरिका र युरोपेली संघले तुलनात्मक सानो संख्यामा भए पनि आफूहरूले प्रयोग गर्न नसकेको खोप (क्रमशः आठ करोड र १० करोड) वितरण गर्ने सहमति जनाएका छन् । बाइडेन सरकारले कोभिड–१९ खोपको सर्वाधिकार हटाउन अमेरिका तयार रहेको संकेत गरेको छ । विश्व जगत्ले खोप अभियानमा सफलता हासिल गर्यो भने मात्र साझा समुदाय र साझा नियति गफ मात्र नभएको देखाउन सकिनेछ । 

(लेखकद्वय सन् २०१९ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार विजेता हुन्)  द गार्जियनबाट

सुझावित समाचार