नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने तयारी

पद थपिएपछि बढुवा समयमै हुने र तल्ला कर्मचारीको मनोबल पनि बढ्ने प्रहरी अधिकारीहरूको विश्वास

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

बढुवामा देखिएको समस्या समाधान गरी तल्लो तहका कर्मचारीको मनोबल उकास्न नेपाल प्रहरीले तीनवटा नयाँ पद थप्ने प्रस्ताव गरेको छ । वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्नका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । 

नायब निरीक्षक (सइ)बाट इन्स्पेक्टर तथा जवानबाट हवल्दार बढुवामा १५ वर्षभन्दा धेरै समय लाग्ने भएपछि तल्लो तहका प्रहरीमा धेरै असन्तुष्टि छ । पद थपेपछि बढुवा समयमै हुने र तल्ला कर्मचारीको मनोबल पनि बढाउने प्रहरी अधिकारीको भनाइ छ । सशस्त्र प्रहरीमा यसअघि नै यी पद कायम छन् । सेनामा पनि तल्लो तहमा धेरै पद छन् ।

प्रहरी नियमावली संशोधन गरेर नयाँ पद थप गर्न लागिएको हो । त्यसका लागि प्रहरी प्रधान कार्यालयले नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा पेस गरिसकेको छ । गृहले कानुन तथा अर्थ मन्त्रालयसँग राय लिएर नियमावली संशोधन गर्नेछ । ‘केही पद थप्नेबारे छलफल भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने । 

नयाँ पद थपिएमा सइबाट ६–७ वर्षमा वरिष्ठ सइ र वरिष्ठ सइबाट ६–७ वर्षमा इन्स्पेक्टरमा बढुवा हुनेछन् । ०६० मा सइमा बढुवा भएकाहरू अहिलेसम्म पनि सोही पदमा कार्यरत छन् । समयमा बढुवा नहुँदा कतिपयले त राजीनामा दिने गरेका छन् । 

त्यस्तै, जवानबाट हवल्दारमा बढुवामा हुन पनि १५ वर्षभन्दा धेरै समय लाग्ने अवस्था छ । जवानमा भर्ना भएका कतिपयले असइमा समेत नपुगी ३० वर्षे अवधि पुगेर अवकाश पाउने गरेका छन् । यो समस्या सम्बोधन गर्न जवानपछि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दारको पद सिर्जना गर्न लागिएको हो । 

सकेसम्म दरबन्दी थपेर, नभए हालकै दरबन्दीबाट मिलान गरेर नयाँ पद थप्नेबारे छलफल भइरहेको एक उच्च प्रहरी अधिकारीले बताए । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक कामसमेत भइसकेको छ । तर, प्रहरी समायोजनका लागि केन्द्र र प्रदेशको संगठन तथा दरबन्दी संरचनासमेत स्वीकृत भइसकेकाले नयाँ पद तत्काल थप्दा समस्या हुन सक्ने गृह मन्त्रालयका केही अधिकारीहरूको भनाइ छ । 

अवकाशअघि एक तह बढुवाको प्रावधान पनि हेरफेर हुँदै 
पछिल्लो पदमा कम्तीमा पाँच वर्षसम्म बहाल रहेका कर्मचारीले अवकाश पाउने वेला एक तह बढुवाको व्यवस्था पनि नियमावलीमा गर्न लागिएको छ । अहिले अनिवार्य अवकाशको वेलासम्म पछिल्लो पदमा काम गरेको १२ वर्ष भएमा अवकाशअघि एक तह बढुवा दिने गरिएको छ । जुन सुविधा डिएसपीसम्मका कर्मचारीले मात्रै पाउँछन् । 

सशस्त्रमा भने पछिल्लो पदमा पाँच वर्ष मात्र पुगेको अवस्थामा पनि अवकाशअघि एक तह बढुवा पाउँछन् । एसपीसम्मका कर्मचारीले यस्तो सुविधा पाउने गरेका छन् । नियमावली संशोधन भए नेपाल प्रहरीले पनि अवकाशको समयको पदमा कम्तीमा पाँच वर्ष पदावधि पुगेमा एक तह बढुवाको सुविधा पाउनेछन् । जुन सुविधा एसएसपीसम्मका कर्मचारीले पाउनेछन् ।

नियमावली संशोधन नहुँदा बढुवा र भर्नाको पर्खाइमा रहेकालाई अन्याय 
गृह मन्त्रालयले तीन महिनाअघि पनि प्रहरी नियमावली संशोधन प्रक्रिया अघि बढाएको थियो । तर, निर्णय नहुँदा केही पदमा बढुवा रोकिएको छ भने इन्स्पेक्टर पदमा नयाँ भर्ना पनि अन्योलमा परेको छ । सइबाट इन्स्पेक्टर पदको बढुवामा देखिएको समस्या समाधानका लागि नियमावली संशोधन गर्न लागिएको थियो । इन्स्पेक्टरमा ६० प्रतिशत भर्ना र ४० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधानलाई संशोधन गरी भर्ना र बढुवाबाट ५०–५० प्रतिशत बनाउने सहमति भएको थियो । 

गृहले नियमावली संशोधनको मस्यौदा कानुन मन्त्रालय पनि पठाएको थियो, तर कानुनले अझै राय दिएको छैन । त्यस्तै, लोकसेवा आयोगमा पदाधिकारी नहुँदा सहमति प्राप्त हुन सकेको छैन, जसले नियमावली संशोधन प्रभावित भएको गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ । 

सइबाट इन्स्पेक्टरमा बढुवा हुन हाल १७ वर्ष लाग्ने अवस्था छ । बढुवाबाट हुने कोटा वृद्धि गरे धेरै बढुवा हुने भएकाले ५०–५० प्रतिशत गर्न लागिएको हो । तर, समयमा निर्णय नहुँदा बढुवा रोकिएको छ । प्रहरीमा इन्स्पेक्टरका करिब डेढ सय पद रिक्त छन् । 

नियमावली संशोधन नहुँदा बढुवाका आकांक्षी मात्र होइन, भर्ना हुन खोजेका हजारौँ युवासमेत प्रभावित छन् । नियमावली संशोधनपछि मात्र इन्स्पेक्टरको भर्ना गर्न लागिएकाले आकांक्षीहरूको कुर्दाकुर्दै २५ वर्ष उमेर पुग्ने अवस्था छ । त्यसरी पीडित भएका एक युवा हुन् अमित पडाल । ‘विभागीयले ३५ वर्षसम्म र फ्रेस क्यान्डिडेटले २५ वर्षसम्म आवेदन दिन पाउने व्यवस्था छ । त्यसमा पनि दुई वर्ष विज्ञापन नै नखुल्दा मजस्ता हजारौँ युवा अन्यायमा परेका छौंँ,’ उनले भने । 
इन्स्पेक्टर भर्नाका लागि स्नातक उत्तीर्ण र उमेर २५ वर्ष ननाघेको हुनुपर्छ । तर, लामो समयसम्म भर्ना नखुल्दा केही युवा आवेदनबाटै वञ्चित हुने गरेका छन् । कोभिड महामारी र नियमावली संशोधनको ढिलाइले यो वर्ष यस्तो समस्या आएको हो ।

प्रहरीमा सबैभन्दा कम पद 
सुरक्षा निकायमा पदको संख्या पनि फरक–फरक छ । नेपाल प्रहरीमा राजपत्रांकित पद सात र राजपत्रअनंकित पाँचवटा पद छन् । सशस्त्रमा राजपत्रांकित पद सात र राजपत्रअनंकित आठ तह छन् भने सेनामा राजपत्रांकित १० र राजपत्रअनंकित आठ गरेर १८ वटा दर्जा छन् । 

करिब ८० हजार दरबन्दी भएको नेपाल प्रहरीमा सबैभन्दा कम पद छन् । सशस्त्रमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी नेपाल प्रहरीको भन्दा तीन पद बढी छन् । ती पद नेपाल प्रहरीमा पनि राख्नुपर्नेबारे विगतदेखि नै छलफल भइरहेको थियो । थोरै पद हुँदा बढुवामा समस्या भएको भन्दै यसलाई संशोधन गर्न प्रहरीले लबिङ गर्दै आएको छ । 

प्रहरीले गरेको आन्तरिक सर्वेक्षणका क्रममा पनि कर्मचारीले बढुवामा लामो समय लाग्ने समस्या सुनाएका थिए । सुरक्षा निकायका बीचमा रहेको असमानताको विषयमा पनि प्रहरीभित्र पटक–पटक छलफल हुने गरेको छ । 

सुझावित समाचार