नेपालका ट्रेड युनियन महासंघहरूले विश्व व्यापार संगठन (डब्लुटिओ) मार्फत फर्मास्युटिकल क्षेत्रको ट्रेड रिलेटेड एस्पेक्ट्स अफ इन्टेलेक्चुअल प्रोपर्टी राइट्स (ट्रिप्स) कानुन निलम्बनमा समर्थन जनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनसम्बद्ध राष्ट्रिय समन्वय समिति नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै ट्रिप्स कानुन निलम्बनका लागि सहमति जनाउन आग्रह गरेका हुन् । डब्लुटिओको बैठक आगामी ८ जुनमा बस्दै छ ।
हाल अन्तर्राष्ट्रिय ट्रान्सपोर्ट वर्कर्स फेडेरेसन बेलायतले विश्वभरिका ट्रेड युनियनहरूमार्फत ट्रिप्स कानुन निलम्बनका लागि लबिङ गर्न सर्कुलर गरेको छ । डब्लुटिओले केही वर्षअघि मात्रै ट्रिप्स कानुन लागू गरेको थियो । फेडेरेसनको सर्कुलरबमोजिम नेपालमा पनि फेडेरेसन आबद्ध तीन ट्रेड युनियन महासंघहरूका तर्फबाट राष्ट्रिय समन्वय समितिले सरकारलाई पत्राचार गरिएको फेडेरेसनका कार्यसमिति सदस्य एवं नेपालस्थित राष्ट्रिय समन्वय समितिका अध्यक्ष अजयकुमार राईले बताए ।
उनका अनुसार डब्लुटिओमार्फत ट्रिप्स कानुन निलम्बन भएमा कोभिड–१९ लाई पराजित गर्न विभिन्न देशमा बनेको भ्याक्सिनलगायत आवश्यक स्वास्थ्य सामग्री कुनै पनि मुलुकले सहजै उत्पादन गर्न सक्ने र कोभिड–१९ लाई पराजित गर्न सकिने फेडेरेसनले बताएको छ । फेडेरेसनमा विश्वभरिका १ सय ५० देशमा ७ सयभन्दा बढी ट्रेड युनियनहरू आबद्ध छन् भने २ करोडभन्दा बढी सदस्य आबद्ध छन् । ट्रिप्स कानुन निलम्बनका लागि भारत र दक्षिण अफ्रिका सरकारले गत अक्टोबरमै विश्व व्यापार संगठनमा प्रस्तावपत्र बुझाइसकेका छन् ।