थाई नरेशले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो, चिनियाँ सामग्री पनि आइपुग्यो

आइतबार, १६ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा बढेको कोभिड संक्रमण महामारी नियन्त्रणका लागि  थाइल्यान्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहले पठाएका अनुदानका स्वास्थ्य सामग्री आइतबार आइपुगेका छन् । थाई एयरको विशेष कार्गोबाट आएको ‘रोयल एड’ नेपालका लागि थाई राजदूत भोसिता भोरासाफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा थाई नरेशले सामान पठाएका हुन् । 

थाइल्यान्डबाट आएका सामग्री हस्तान्तरण समारोहमा पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए । नेपालमा कोभिडको सेकेन्ड भेरियन्टको संक्रमण अत्यधिक बढेपछि अक्सिजनलगायत स्वास्थ्य उपचारका सामग्री उपलब्ध गराइदिन सरकारले अन्तर्राष्ट्रिय समुदाय एवं अन्तर्राष्ट्रिय दातृ निकायहरूलाई आग्रह गरेको थियो । 

नेपाललाई थाई राजदरबारबाट सहयोग जुटाउन थाइल्यान्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाई राजकीय विहारबाट बोभर्नका उपप्रमुख भिक्षु फ्रा देव शाक्य वंशपण्डित अर्थात् फ्रा डा. अनिल शाक्यसँग शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले समन्वय गरेका थिए । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार शाक्यले राजदरबारसँग समन्वय गरेका थिए । 

राष्ट्रपति भण्डारीको पत्र प्राप्त भएपछि थाई नरेशले  नेपाललाई सहयोग गर्न सरकारलाई निर्देशन दिएका थिए । सोही आधारमा १० लाख थान सर्जिकल मास्क, चार हजार पाँच सय पिपिई गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, पाँच हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, एक हजार पाँच सय थान डिजिटल थर्मामिटर, एक हजार थान बडी ब्याग सहयोग सामग्री आइपुगेको हो । थाई राजकुमारीले सात हजार थान पिपिई गाउन छुट्टै उपलब्ध गराएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

यसैबीच, चीन सरकारको सहयोगमा नेपाललाई उपलब्ध गराइने स्वास्थ्य सामग्री तातोपानी सीमामा आइपुगेको छ । आठसय अक्सिजनसहितका सिलिन्डर, दुई सय आइसियु बेड, ४५ थान भेन्टिलेटर, २० वटा कन्सन्ट्रेटर, १५ हजार एन्टिजेन किट, २० थान अटोमेटेड एनालाइजर्स, अल्ट्रासाउण्ड, एनेस्थेसियालगायत ६० वटा मेशिन आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार