कोभिड– १९ विरुद्धको लडाइँका लागि बेलायत र फिनल्यान्ड सरकारले पठाएका स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुगेका छन् । दुवै देशका नेपालस्थित राजदूतले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
बेलायतबाट चार्टर उडानमा ल्याइएका दुई सय ६० भेन्टिलेटर, दुई हजार थान पिपिईलगायतका सामग्री राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री त्रिपाठीलाई एक संक्षिप्त समारोहमार्फत हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजदूतले ट्विटरमा भिडियो सन्देश दिँदै भनेकी छिन्, ‘बेलायतबाट पठाइएका भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आवश्यक स्वास्थ्य सामग्रीहरू अवतरण भएका छन् ।
यसले कोभिड– १९ का बिरामीको उपचार गर्न सहयोग गर्न सहयोग पुग्नेछ । उनले भनिन्, ‘नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी खुसी छौँ ।’ नेपाललाई सहयोग जारी राख्ने पनि बेलायती राजदूतको भनाइ थियो ।
स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल सरकारका तर्फबाट बेलायत सरकारलाई धन्यवाद दिँदै महामारीको दोस्रो चरणमा पीडामा परेका नेपालीहरूलाई ठूलो सहयोग भएको बताए । नेपाल र बेलायतबीच जनस्तरमा रहेको ऐतिहासिक सम्बन्धको पृष्ठभूमिमा सहयोग प्राप्त भएको भन्दै त्रिपाठीले खुसी व्यक्त गरे ।
बेलायतबाट १९ हजार दुई सय आई प्रोटेक्टरलगायतका सामानहरू पनि आएका छन् । सोही उडानबाट बेलायतमा रहेको नेपाल मेड युके नामक च्यारिटी संस्थाले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि आइपुगेको छ ।
यसैबीच, फिनल्यान्ड सरकारले पठाएका स्वास्थ्य सामग्री बोकेको जमाज पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । साढे तीन लाख एफएफपिटु मास्क, एक लाख केएन ९५ मास्क, दुई लाख ३२ हजार पाँच सय चस्मा, ३० हजार गाउन, २४ लाख ९८ हजार फेस मास्क तथा तीन लाख ५० हजार थान फेस सिल्ड आइपुगेको छ ।
नेपालका लागि फिनल्यान्डकी राजदूत पेर्टी एन्टिनेनले स्वास्थ्यमन्त्री त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् ।
फिनल्यान्ड सरकार तथा युरोपियन युनियनको सिभिल प्रोटेक्सन मेकानिज्म नामक संयन्त्रबाट सामग्री नेपालका लागि उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।