भुक्तानी सेवाप्रदायक सेलकम प्रालिले वालेटमार्फत पनि सेलपे चलाउन मिल्ने सेवा सुरु गरेको छ । ग्राहकहरूको मागबमोजिम सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै सेलपेका ग्राहकले बैंक लिंकमार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्ने सुविधा सुरु भएको हो ।
वालेट सुरु गरेको अवसरमा कम्पनीले आफ्नो नयाँ युआई पनि सार्वजनिक गरेको जनाएको छ । यसबाट सेवा प्रयोग गर्दा ग्राहकलाई अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरू गरिएको जनाइएको छ । सेलपे वालेटमार्फत विनाझन्झट सरल रूपमा कारोबार गर्न सक्ने तथा सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
नयाँ सेवामा कम्पनीले ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ । यसअन्तर्गत सेलपेका ग्राहकले मोबाइल टपअप र टिभी महसुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, इन्टरनेटको महसुलमा १.५ प्रतिशत क्यासब्याक, नेपाल टेलिकमको डेटा प्याकको १ घन्टा अनलिमिटेड सेवा ११ रुपैयाँमा, एनसेलको डेटा प्याक २१ रुपैयाँमा १ दिनको अनलिमिटेड र वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसुङ एस२१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउने कम्पनीको भनाइ छ । यो योजना असार १२ सम्म लागू हुने जनाइएको छ ।