न्यून पिसिआर परीक्षणबाट देशभरिका कोभिड–१९ संक्रमितको वास्तविक चित्र कसरी आउन सक्ला र ?
अहिले नेपालका धेरै जनताले समयमै भरपर्दो स्वास्थ्य सुविधा पाउन नसकेकाले असामयिक मृत्युवरण गर्नुपरिरहेको छ । कोरोनाका कारण मर्नेको संख्या बागमती प्रदेशमा सबैभन्दा उच्च देखिए पनि अन्य प्रदेशको स्थिति योभन्दा खराब हुन सक्छ । नेपालमा अहिले निजी तथा सरकारी प्रयोगशालाले कोरोना भाइरसको परीक्षण गरिरहेका छन् । तर, देशभरका कुल पिसिआर प्रयोगशालामध्ये ४५ प्रतिशत काठमाडौं उपत्यकामै केन्द्रित छन् । यसैले उपत्यकामा संक्रमितको संख्या देशका अन्य भागमा भन्दा बढी देखिइरहेको छ । काठमाडौं उपत्यकाको २८ लाख जनसंख्याका लागि मात्र ३४ प्रयोगशाला हुँदा ६१ लाख जनसंख्या रहेको प्रदेश २ मा जम्मा सातवटा प्रयोगशाला उपलब्ध छन् ।
प्रदेश २, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका १८ जिल्ला भारतसँग जोडिएका छन् । यस भेगका सिमानामा सात प्रमुख भन्सार पोस्ट छन्, १६ वटा साना पोस्ट छन् । कैयौँ स्थानका सिमाना सहजै आउजाउ गर्न सकिने खालका छन् । तैपनि यी जिल्लामा निकै न्यून दरमा पिसिआर परीक्षण भइरहेको छ । यसलाई तथ्यांकले पनि प्रस्ट्याउँछ । अहिले देशमा भएको कुल पिसिआरमध्ये औसतमा प्रदेश १ मा ११ प्रतिशत, प्रदेश २ मा आठ प्रतिशत र बागमती प्रदेशमा ५१ प्रतिशत परीक्षण भइरहेको छ । यी तथ्यांकमा थोरै तलमाथि हुन सक्ला, तर ज्यादै ठूलो अन्तर भने छैन । त्यस्तै कुल पिसिआरमा गण्डकी प्रदेशको हिस्सा ६ प्रतिशत छ भने लुम्बिनी प्रदेशको १४ प्रतिशत छ ।
बाँकी दुई प्रदेशमध्ये कर्णालीको पिसिआर हिस्सेदारी तीन प्रतिशत र सुदूरपश्चिम प्रदेशको सात प्रतिशत छ । सीमाक्षेत्रमा हुने न्यून पिसिआरले धेरै असर पार्छ । नेपालमा हाल कोरोना महामारीको दोस्रो लहरका लागि भारतीय भेरियन्ट (बि.१.६१७) जिम्मेवार देखिन्छ । नेपालका धेरै मानिस कामका लागि भारत जान्छन्, छिमेकी भारतका पनि यहाँ रोजगारी गर्न आउँछन् । भारतबाट सडक मार्गबाट नेपाल घुमघामका लागि आउने भारतीयको संख्या पनि ठूलै हुने गरेको छ । खुला सिमानाबाट आउजाउ गर्ने मानिसको पर्याप्त परीक्षण नहुँदा संक्रमण विस्तारको खतरा बढ्छ । यसैले कोरोना परीक्षण केन्द्र र परीक्षण कम हुँदा महामारी नियन्त्रण प्रयास प्रभावित हुन्छ ।
पहाडी तथा हिमाली जिल्लाका परीक्षण केन्द्रहरू सदरमुकाम वा बजार क्षेत्रमा मात्र केन्द्रित छन् । उदाहरणका लागि जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, रुकुम, सल्यानलगायत जिल्लाका मानिसबाट संकलित स्वाब परीक्षणका लागि जुम्ला वा सुर्खेतस्थित प्रयोगशालासम्म पुर्याउनुपर्छ । दूरदराजका गाउँबाट जिल्लास्थित स्वाब संकलन केन्द्रसम्म धाएर त्यहाँ संकलित स्वाबलाई पुनः अर्को जिल्लामा रहेको पिसिआर परीक्षण केन्द्रमा लगेर परीक्षण गरी रिपोर्ट आउँदासम्म ६–७ दिन बितिसकेको हुन्छ । अझ ज्वरो आउने, टाउको दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ भोगिरहेका बिरामी सडक र मोटर नभएको पहाडी गाउँबाट टाढाका स्वाब संकलन केन्द्रसम्म जान सम्भव पनि हुँदैन ।

अध्ययनअनुसार कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेको लगभग पाँच दिनपछि रोगको संक्रमण देखिन सुरु हुन्छ । त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा रहेको व्यक्तिमा कोभिड–१९ को लक्षण देखिनुभन्दा ४८ घन्टाअघि नै भाइरस प्रवेश गरिसकेकोे हुन्छ । यसको अर्थ कुनै व्यक्ति कोभिड–१९ संक्रमित भएको थाहा हुनासाथ तिनलाई अरूबाट अलग (आइसेलेट) गर्नुपर्छ । तर, परीक्षणको परिणाम ६–७ दिनपछि आयो भने संक्रमितले आफू संक्रमित भएको थाहा पाउनुअघि नै धेरैलाई भाइरस सार्ने सम्भावना हुन्छ । यसले कोभिड–१९ लाई फैलाउँछ ।
अस्पताल, औषधि, स्वास्थ्यकर्मी र अक्सिजन पर्याप्त नभएको अवस्था कोभिड–१९ महामारीले सिर्जेको होइन, देशको स्वास्थ्य प्रणालीमा कायम असमानताले निम्त्याएको हो, कोभिड–१९ ले त उजागर गरिदिएको मात्र हो
त्यस्तै घना बस्तीयुक्त तराई मधेसमा कोभिड– १९ को परिक्षणमा हुने ढिलाइले पनि रोगको विस्तार गराउँछ । प्रदेश २ का कैयौँ परिवार साँघुरो घरमा बसोवास गर्छन् । धेरै सदस्य रहने ती घरमा स्वच्छ पानी, अलग शौचालय तथा शयन कक्षको अभाव हुन्छ । मधेसका धेरै स्थानका बासिन्दाले नेपाली भाषा नबुझ्ने र अधिकांश कोभिड–१९ सम्बन्धी सूचना नेपाली भाषामा हुने भएकाले पनि ती स्थानमा कोभिड–१९ सम्बन्धी सूचनाको समेत पहुँचमा पनि कमी देखिन्छ । न्यून पिसिआर परीक्षणले गर्दा कन्ट्याक्ट ट्रेसिङ, आइसोलेटिङ र क्वारेन्टाइनमा पनि अप्ठ्यारो उत्पन्न हुन्छ । किनकि, कुनै व्यक्तिले लक्षण नदेखिएको अवस्थामा थाहै नपाई धेरैलाई भाइरस सारिरहेको हुन्छ । अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुग्ने संक्रमित पनि सिकिस्त हुनुअघि धेरैको सम्पर्कमा पुगेको हुन सक्छ । नेपाली सेनाले पनि शवको दाहसंस्कार गर्ने हो भने पिसिआर रिपोर्ट माग्ने गरेको छ । कोभिड परीक्षण नगरी घरमै ज्यान गुमाउनेहरूको विवरण कोभिड–१९ सम्बन्धी राष्ट्रिय तथ्यांकमा समावेश नै हुँदैन ।
न्यून पिसिआर परीक्षणबाट देशभरिका कोभिड– १९ संक्रमितको वास्तविक चित्र आउन सक्दैन । जसले गर्दा तथ्यांकमा न्यून संक्रमित तथा मृत्यु रेकर्ड भएका जिल्ला तथा प्रदेशको स्वास्थ्य स्थिति राष्ट्रिय प्राथमिकतामा पर्दैन । काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा परीक्षण बढाउँदै लगिएको छ । सहरी क्षेत्रको स्वास्थ्य सेवा प्राथमिकतामा परेकाले अस्पताल निर्माणदेखि अक्सिजन, औषधोपचारको खरिद र डाक्टर–नर्सका लागि बजेट विनियोजित भइरहेको छ । यसबाट स्वास्थ्य सेवामाथिको धनी र गरिबबीचको खाडल झनै बढ्नेछ ।
स्वास्थ्य सेवाका लागि दुर्गम स्थानका विपन्न मानिसले सहरी क्षेत्रमा आउनुपर्छ । सहरमा बस्दाको खाना, यातायात तथा स्वास्थ्य शुल्कले उनीहरूको आर्थिक क्षमतामा पनि ठूलो ह्रास गराउँछ । यसले गरिब झन् गरिब बन्ने स्थिति उत्पन्न हुन्छ । विभिन्न समयमा औषधोपचारका लागि गाउँका साहुकारबाट लिएको ऋणको ब्याज बढेर परिवारहरू पुस्ता दरपुस्ता गरिबीको कुचक्रमा फसेका समाचार तथा अध्ययन रिपोर्टहरू आइरहेका हुन्छन् । विश्व बैंकको २०२० को रिपोर्टअनुसार नेपालका ३१ प्रतिशत जनसंख्या अर्थात् ८६ लाख मानिसले दैनिक १–३ डलर आयआर्जन गर्छन् । सार्वजनिक स्वास्थ्य प्रणाली सुधारिएन भने यीमध्ये अधिकांश मानिस बिरामी हुँदा स्वास्थ्योपचारविनै मर्नुपर्ने अवस्थामा पुग्नेछन् ।
नेपालमा कोरोनामा अति संक्रामक भेरियन्ट बि.१.६१७–२ उच्चस्तरमा प्रसार भइरहेको छ । यस अवस्थामा परीक्षण र आइसोलेसनलाई तीव्रता दिन अत्यावश्यक छ । यसका लागि हरेक वडामा स्वाब संकलन केन्द्र बनाउनुपर्छ, सबै जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अन्य स्वास्थ्य केन्द्रमा पिसिआर प्रयोगशाला बनाउनुपर्छ । संक्रमित व्यक्तिको परीक्षण र आइसोलेसनका लागि पर्याप्त मानव स्रोत पनि उत्तिकै आवश्यक पर्छ । दुर्गम स्थान तथा जिल्लामा समेत धेरै चिकित्सा शास्त्रका विद्यार्थी, सेवाकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उपलब्ध भइसकेको हुँदा स्थानीय सरकारले तिनको सेवा लिन सक्छन् । तिनको सहयोगले कोभिड– १९ संक्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान र निरोधात्मक स्वास्थ्य सतर्कता उपलब्ध गराउन सकिन्छ ।
कोरोना संक्रमित तथा मृतकबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराइरहेको पछिल्लो तथ्यांक पूर्ण छैन । किनकि, बागमती प्रदेशबाट आएको रिपोर्टमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाको मात्र रहेकाले त्यसमा बाँकी सबै स्थानको संख्या समावेश हुन सकेको छैन । हामीले सही तथ्यांकका लागि पछिल्ला तीन महिनामा विभिन्न वडा र जिल्लामा कोभिडजस्ता लक्षणले मृत्यु भएका मानिसबारे मृतकको परिवार वा चिनजानका मानिससँग सोधपुछ गर्न सक्छौँ । यसले कोभिड–१९ सम्बन्धी सरकारी मृत्युको तथ्यांकमा छुटेका संख्यामा प्रकाश पार्छ । कोभिडजस्तै लक्षणका कारण मृत्यु भएका व्यक्तिको चिनजानका मानिससँगको सोधपुछबाट उपलब्ध सूचनाले परीक्षणको अभावबारे पनि बताउँछ । यसले देशको कुन स्थानको स्वास्थ्य प्रणालीमा सुधार आवश्यक छ भन्ने जानकारी पनि नीति–निर्मातालाई गराउँछ ।
नेपाल कोरोना भाइरसको दोस्रो लहरका लागि तयार थिएन । विगतको भन्दा बलियो भेरियन्टका कारण प्रतिदिन सयौँ मानिसको ज्यान गइरहेको छ । त्यसैले नेपालले वर्तमान अवस्थाको नियन्त्रणका साथै महामारीको तेस्रो लहरका लागि समेत तयारी थाल्नुपर्छ । आगामी दिनमा देशको स्वास्थ्य प्रणालीको सुधार तथा स्वास्थ्य सेवामाथिको पहुँचलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ । अस्पताल, औषधोपचार, मानवीय स्रोत, अक्सिजनको पर्याप्तता छैन । यो अवस्था कोभिड–१९ महामारीले निम्त्याएको होइन । यो त देशको स्वास्थ्य प्रणालीमा कायम असमानताको परिणाम हो, कोभिड–१९ ले त उजागर गरिदिएको मात्र हो ।