‘फ्री प्यालेस्टाइन’ नाराले ‘मिटु’, ‘ब्ल्याक लाइभ म्याटर’ले जस्तै विश्वव्यापी महत्व पाउन सक्छ
युद्ध सुरु भएको झन्डै आधा महिनापछि र करिब २५० मानिस मारिएपछि हमास र इजरायल दुवैले बिहीबार युद्धविराममा सहमति जनाए । यो युद्धको अन्त्य होइन, अस्थायी अल्पविरामसम्म हो । तर पनि युद्धविरामपछि इजरायल र हमास दुवैले आफूलाई विजेताको रूपमा प्रस्तुत गरिरहेका छन् । हमासले विजय ठान्ने कारण साधारण छ । सानो भूभागमा खुम्चिएको यो समूह प्रतिद्वन्दीभन्दा निकै कम स्रोतको प्रयोग गरेर शत्रुको केन्द्रमा आक्रमण गर्न सफल भयो । उसले प्रहार गरेका हजारौँ मिसाइलमध्ये केहीले इजरायलको चर्चित ‘आइन डोम प्रतिरक्षा प्रणाली’लाई समेत भेद्न सफल भयो । विगतका भन्दा परिष्कृत मिसाइलहरू इजरायलको राजधानी तेज अभिभमै समेत खसे । इजरायलभित्रको अरबी र यहुदी समुदायमा यसपटकको आक्रमणको विषयले विभाजन निम्त्यायो । विवाद केही सहरका सडकमै पोखियो । यसले पनि हमासलाई खुसी बनाएको हुनुपर्छ । अब हमासले आफ्नो राजनीतिक प्रतिस्पर्धी फताहलाई माथ गर्दै आफूलाई जेरुसेलमस्थित मुसलमानहरूको पवित्रस्थलको संरक्षकका रूपमा दाबी गर्न सक्छ ।
जहाँसम्म इजरायलको कुरा छ, उसका सैन्य जनरलले हमासको सैन्य क्षमतामाथि उलेख्य क्षति पुर्याएको बताइरहेका छन् । तिनका अनुसार सन् २००९, २०१२ र सन् २०१४ का आक्रमणमा भएको क्षतिभन्दा पछिल्लो आक्रमणले हमासलाई बढी असर गरेको छ । तर, इजरायलले यसपटक रणनीतिक क्षति व्यहोरेको छ । उसले यसपटक हमासले आक्रमण गर्दै छ भन्ने सुइँको समेत पाउन सकेन । यो कमजोरी इजरायलको उत्तरमा बसेका हेजबुल्लाले अवश्य ख्याल गरेको हुनुपर्छ । हमाससँग भन्दा शक्तिशाली हतियार रहेको हेजबुल्ला इजरायलका लागि लामो समयदेखि टाउको दुखाइको विषय रहँदै आएको छ ।
पश्चिमका सबैभन्दा वाचाल र प्रभावशाली हिस्साले इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो संघर्षलाई विवादित राष्ट्रिय संघर्षभन्दा पनि नश्लीय न्यायका रूपमा हेरेको देखियो
पछिल्लो संघर्षका क्रममा इजरायलले अर्को रणनीतिक क्षति पनि व्यहोर्यो । विशेषतः पश्चिमको वाचाल र प्रभावशाली हिस्साले यस संघर्षलाई विवादित विषयमाथिको राष्ट्रिय संघर्षभन्दा पनि नश्लीय न्यायको रूपमा हेरेको देखियो । अघिल्लो साता लन्डनमा भएको प्रदर्शनमा देखिएको प्लेकार्डले पनि यसैतर्फ संकेत गर्छ । प्रदर्शनमा धेरैले ‘प्यालेस्टाइन कान्ट ब्रिथ (प्यालेस्टाइन निसास्सिएको छ)’,
‘प्यालेस्टाइनी लाइभ्स म्याटर (प्यालेस्टाइनीहरूको जीवनको पनि मूल्य छ)’ लेखिएका प्लेकार्ड बोकेका थिए । बिस्तारै ‘फ्री प्यालेस्टाइन’ नाराले ‘मिटु’, ‘ब्ल्याक लाइभ म्याटर’ले जस्तै विश्वव्यापी महत्व पाउन सक्छ । त्यसो भएमा त्यसलाई राजनीतिज्ञले मात्र होइन, करोडौँ प्रशंसक भएका फुटबलर, गायक–गायिकाले समेत समर्थन जनाउन थाल्नेछन् । इजरायलसँग सम्बद्ध कैयौँ मानिस प्यालेस्टाइनको विषयमा युरोपेली राजधानीका सडक र सामाजिक सञ्जाल भरिएको देखेर अलमलमा छन् । विश्वका अन्यत्र कैयौँ ठूलो नरसंहार भइरहँदा पनि युरोपेलीको ध्यान किन यही संघर्षमा परिरहेको छ त ? कारण स्पष्ट छ, इजरायल÷प्यालेस्टाइनको समस्या अन्यभन्दा बढी स्पष्ट देखिन्छ । जस्तो– जेरुसेलमका लागि एपीका एक पूर्वरिपोर्टरले उनी इजरायल÷प्यालेस्टाइन खटिएका एपीका ४० भन्दा बढी पत्रकारमध्ये एक रहेको बताएका थिए । यो भनेको एपीले चीन, रुस अथवा भारत वा ५० सब–सहारा अफ्रिकाका लागि छुट्याएकोभन्दा बढी पत्रकारको संख्या हो । यस्तो कभरेजले पाठकलाई इजरायल÷प्यालेस्टाइन ‘पृथ्वीको सबैभन्दा महत्वपूर्ण स्टोरी’ भन्ने भान पार्छ । इजरायल र प्यालेस्टाइनी सघंर्षको प्रभाव अन्तर्राष्ट्रिय यहुदी समुदायमा पर्छ । कम्युनिटी सेकुरिटी ट्रस्टका अनुसार प्रत्येकपटक त्यस क्षेत्रमा युद्ध भड्किँदा बेलायतमा यहुदीविरोधी घटनामा ६ गुणाले वृद्धि हुने गर्छ । हुन त प्यालेस्टाइनी पक्षधर अभियन्ताले तिनको विरोध डायस्पोरा यहुदीविरुद्ध नभएको भन्ने कुरामा जोड दिने गरेका छन् । तर, तनावमाझ भावना यति उत्तेजक हुन्छ कि त्यसलाई सजिलै नियन्त्रण गर्न कठिन हुन्छ ।
इजरायली नेताले तिनका हरेक कामक्रियाप्रतिको निगरानीलाई गर्ने गुनासो नाविकले समुन्द्रबारे गर्ने गुनासोजस्तै हो । बरु इजरायलको सबैभन्दा नजिकको मित्रशक्ति अमेरिकासमेत बदलिएको पाउने अवस्था बन्दै गएको छ । जस्तो– अमेरिकी कंग्रेसको तल्लो सदनकी सदस्य एलेक्ज्यान्ड्रा ओकासियो–कोर्टेजले हालै इजरायललाई ‘रंगभेदी राज्य’को उपमा दिइन् । त्यस्तै विगतदेखि इजरायल पक्षधर डेमोक्रेट्सहरूले इजरायललाई दिने हतियारमा ढिलाइ गरे ।
यसलाई अस्थायी वातावरण भनेर पन्छाउन सकिन्छ । जस्तो– अमेरिकी संसद् इजरायल सम्बन्धमा बदलिरहेको भए पनि अधिकांश युरोपियन राजनीतिज्ञ इजरायलप्रति नरम देखिएकाले इजरायली नेतालाई राहत दिन सक्छ । तर पनि इजरायलका लागि खतरा बढ्दै गएको छ । अतिक्रमणको लामो समयदेखि विरोध गरिरहेका मानिसले इजरायलले सही कदम नचाली यो समस्या अन्त्य भयो भने उसलाई दुष्टका रूपमा प्रस्तुत गरिने जोखिम हुने बताउँदै आएका छन् । पछिल्लो संघर्षले अरू केही शिक्षा दिएन भने पनि त्यस्तो अवस्था नजिकिँदै गएको संकेत गरेको छ ।
(जोनाथन गार्जियनका स्तम्भकार हुन्)
गार्डियनबाट