नेपालमा कोरोना भाइरस संक्रमण पहिलो लहरको तुलनामा दोस्रो लहर तीन गुणा बढी घातक रहेको तथ्यांकले देखाउँछ
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको आनुवांशिकीमा उत्परिवर्तन भएका नयाँ स्वरूपका संक्रामक एवं खतरनाक भाइरसका कारण अहिले नेपालमा संक्रमणको दोस्रो लहर चरम उत्कर्षमा देखिँदै छ । यो लहरले नेपालको जनस्वास्थ्यका साथै आर्थिक, शैक्षिक, सामाजिकलगायतका सबै क्षेत्रमा व्यापक र गम्भीर प्रभाव पार्दै लगेको छ । समग्र मुलुक अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट आक्रान्त छ ।
नेपालमा कोरोना संक्रमणको पछिल्ला १० दिनको आधिकारिक तथ्यांकलाई विश्लेषण गर्दा दैनिक सरदर दुई सय मानिसको कोभिड–१९ बाट ज्यान गइरहेको छ । कोभिड–१९ को मृत्युको आधिकारिक तथ्यांकमा गणना नहुनेको संख्या कति छ, अहिले भन्न सकिने अवस्था छैन । नेपालमा जारी दोस्रो लहरमा हरेक सात मिनेटमा एक संक्रमितको जीवन गुमिरहेको छ । संक्रमणको तीव्र वृद्घिले नेपालको मौजुदा स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ । दिनदिनै संक्रमण र मृत्यु–संख्याका कीर्तिमानहरू भत्कँदै नयाँ–नयाँ कीर्तिमान कायम भइरहेका छन् । मानिसहरू अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर छटपटाइरहेका कारुणिक दृश्य आम भएका छन् । त्यसैले जनता र सरकार दुवैलाई झकझक्याउन नेपालमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा तुलनात्मक रूपले कति गम्भीर छ भन्ने देखाउन उमेरसमूह, लिंग र दीर्घरोगका आधारमा सूक्ष्म विश्लेषणसहित तथ्य र निचोड प्रस्तुत गर्न खोजिएको हो । यी तथ्य र प्रमाणले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनमा रणनीतिक कार्ययोजनासहितका उचित कदम यथाशीघ्र चाल्न सहयोग गर्ने अपेक्षा पनि गरिएको छ ।
०७६ माघ ९ गते नेपालमा कोरोनाको पहिलो केस चीनबाट अएका व्यक्तिमा पुष्टि भएको थियो । तर, पहिलो लहरको प्रसारण र संक्रमण ०७७ वैशाख २६ गतेबाट सुरु भएको मान्नुपर्ने हुन्छ । त्यसअगाडि नेपालमा आयातीत केसहरू मात्रै पाइएका थिए, २६ वैशाखपछि स्थानीय रूपमै संक्रमितको संख्या क्रमिक रूपमा बढ्न थालेको हो । कोरोनाको पहिलो लहर ३०९ दिन चल्यो । तथ्यांकअनुसार यस अवधिमा २२ लाख १० हजार ४३४ नमुना परीक्षण गरिएको थियो, जसमध्ये दुई लाख ७५ हजार ११८ जनामा कोरोना संक्रमण पुष्टि भयो । यी ३०९ दिनमा ३,०१२ जनाको मृत्यु भयो । मृत्युको त्यो संख्या कुल संक्रमितको लगभग १ प्रतिशत हुन आउँछ।
दोस्रो लहरको एकल दिनको मृत्युको रेकर्ड–संख्या पहिलो लहरको एकल दिनको मृत्युको रेकर्ड–संख्याभन्दा आठ गुणा र मृत्युदर तीन गुणाले बढी छ । यसले कोरोना कहर अनियन्त्रित बनेको र जनस्वास्थ्य गम्भीर मोडमा पुगेको देखाउँछ । दोस्रो लहर जनस्वास्थ्यका दृष्टिकोणले धेरै नै घातक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जन्मेको पाँच दिनदेखि १०८ वर्ष उमेरसम्मका नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पहिलो लहरको चरम उत्कर्षमा पुगेर घट्ने क्रमको सबैभन्दा कम संक्रमित पुष्टि भएको दिन ०७७ फागुन २८ लाई पहिलो लहरको अन्तिम दिन मानेर डाटाको विश्लेषण गरिएको छ । उक्त दिन पहिलो लहरको संक्रमित सबैभन्दा कम ४८ जना र मृत्यु शून्य रहेको थियो । २९ फागुनबाट संक्रमण र मृत्यु पुनः बढ्न थाल्यो । सोही दिनलाई दोस्रोे लहरको सुरुआत मानेर विश्लेषण गरिएको छ ।
०७८ जेठ ५ गते दोस्रो लहर सुरु भएको ६८ दिन पुग्यो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यी ६८ दिनमा ६ लाख ४५ हजार ८४७ नमुना परीक्षण गरिएको छ र सो परीक्षणबाट दुई लाख पाँच हजार ५७५ जना संक्रमित पुष्टि भएका छन् । यसबीचमा २६ सय ४५ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितमा करिब १.३ प्रतिशत हो । यस अवधिको मृत्युको संख्या औसत दैनिक ३९ जना रहेको छ भने कुल परीक्षणमा संक्रमण दर करिब ३२ प्रतिशत रहेको छ । तथ्यांकले दोस्रो लहरको दैनिक मृत्युको संख्या पहिलो लहरको भन्दा तेब्बर बढी रहेको देखाउँछ । पहिलो लहरमा दैनिक मृत्युसंख्या औसतमा १० जना थियो, दोस्रो लहरमा ३९ जना रहेको छ ।
परीक्षण गरिएकामध्ये संक्रमण दर पनि दोस्रोे लहरमा धेरै उच्च छ । पहिलो लहरमा १२ प्रतिशत रहेको संक्रमण दर दोस्रो लहरमा झन्डै तीन गुणाले बढेर ३२ प्रतिशत पुगेको छ । संक्रमण दर ३ प्रतिशतभन्दा तल गए मात्र त्यसलाई नियन्त्रणको संकेतको रूपमा लिन सकिन्छ ।
नेपालमा संक्रमणको पहिलो लहर चलेको गत असोज–कात्तिकमा कोरोनाको उच्च संक्रमण मापन गरिएको थियो । ५ कात्तिकमा सबैभन्दा धेरै पाँच हजार सात सयभन्दा बढी संक्रमित निदान भएका थिए, अर्थात् संक्रमण दर करिब २९ प्रतिशत थियो । सो दिन २६ जनाको मृत्यु भएको थियो, जुन करिब ०.४५ प्रतिशत हो । १९ कात्तिकमा तीन हजार तीन सय नयाँ कोरोना संक्रमित निदान भएका थिए र ३० जनाको मृत्यु भएको थियो, जुन पहिलो लहरको सबैभन्दा धेरै मृत्युको घटना हो । उक्त दिन पनि संक्रमणमा मृत्युदर १ प्रतिशतभन्दा कम नै थियो ।

५ जेठमा नयाँ कोरोना संक्रिमतको संख्या आठ हजार १७३ पहिचान भएकोमा २४६ जनाको रेकर्ड–मृत्यु पुष्टि भएको छ । मृत्युको यो संख्या सो दिन पाइएका कुल संक्रमितको करिब ३ प्रतिशत हुन जान्छ । दोस्रो लहरको एकल दिनको मृत्युको रेकर्ड–संख्या पहिलो लहरको एकल दिनको मृत्युको रेकर्ड–संख्याभन्दा आठ गुणा र मृत्युदर तीन गुणाले बढी छ । यसले कोरोना कहर अनियन्त्रित बनेको र जनस्वास्थ्य गम्भीर मोडमा पुगेको देखाउँछ । दोस्रो लहर जनस्वास्थ्यका दृष्टिकोणले धेरै नै घातक छ ।
कुनै दीर्घरोग नभएका ५० वर्षमुनिका व्यक्तिमा समेत कोभिड–१९ मृत्युको जोखिम पहिलो लहरको तुलनामा अहिलेको लहरमा पाँच गुणा बढी भएको तथ्यांकले देखाउँछ । दीर्घरोग नभएका ५० वर्षमाथिका व्यक्तिमा संक्रमणबाट मृत्युको जोखिम पहिलोको तुलनामा दुई गुणा बढी छ ।
कोभिड–१९ ले दोस्रो लहरको संक्रमणमा केवल ६८ दिनको अवधिमा २६ सयभन्दा बढीको ज्यान लिएको छ । यसले पनि कोरोनाको नयाँ भेरियन्ट एकदमै संक्रामक र घातक भएको पुष्टि गर्छ । ०७७ फागुन २९ देखि ०७८ जेठ १ सम्मको तथ्यांकको विश्लेषण गर्दा दोस्रो लहरमा ५० वर्षभन्दा कम उमेरसमूहका ३८ प्रतिशत मानिसको मृत्यु भएको देखिन्छ । पहिलो लहरमा मृत्यु भएकामध्ये यो समूहका २३ प्रतिशत थिए । दोस्रो लहरमा मृत्यु हुनेहरूमा ५० वर्षभन्दा माथिकाको संख्या ६२ प्रतिशत छ, पहिलो लहरमा भने यस्तो संख्या ७७ प्रतिशत थियो । पहिलो लहरमा वृद्ध र दीर्घरोगीहरूमा उच्च जोखिम र गम्भीरता देखिएको थियो, तर दोस्रो लहरमा भने सबै उमेरसमूह तुलनात्मक हिसाबले उच्च जोखिममा रहेको देखिएको छ ।
नेपालमा कोरोनाबाट मृत्युको जोखिम महिलामा भन्दा पुरुषमा दुई गुणाले बढी देखिएको छ । पुरुषहरू प्रायः कामको सिलसिलामा घरबाहिर जाने हुँदा कोरोना संक्रमणको बढी जोखिममा देखिएको हुन सक्छ । साथै, परीक्षणको दायरामा संक्रमित भएका महिलाहरू पुरुषको तुलनामा नपुगेको वा आधिकारिक तथ्यांकमा प्रवेश नभएकाले पनि महिलाको तुलनामा पुरुष बढी संक्रमित देखिएको वा पुरुषको मृत्यु बढी भएको पनि हुन सक्छ ।
यहाँ ०७८ जेठ १ गतेसम्मको मात्र आधिकारिक तथ्यांकको अध्ययन र विश्लेषणको रिपोर्ट प्रस्तुत गरिएको छ । तर, त्यसपछिका दिनमा अझै परीक्षण, मृत्यु र संक्रमितको तथ्यांक बढेको छ । दोस्रो लहरको जेठ १ गतेसम्मको ६५ दिनमा मृत्यु हुनेको संख्यामा ५० वर्षभन्दा मुनिका ६१८ र ५० वर्षमाथिकाको संख्या १,०२५ रहेको छ, जुन क्रमशः ३८ र ६२ प्रतिशत हो । तथ्यांकअनुसार महिलाभन्दा पुरुषको मृत्यु १.८ गुणा अर्थात् झन्डै दोब्बर बढी भएको देखिन्छ । दोस्रो लहरमा मृत्यु हुने उमेरसमूह पहिलो लहरको भन्दा निकै कम उमेरको छ । दोस्रो लहरमा मृत्युको औसत उमेर ५७ वर्ष छ भने अधिकांश ४१–७३ वर्ष उमेरसमूहका मानिसको मृत्यु भएको छ । पहिलो लहरमा मृत्युको औसत उमेर ६३ वर्ष थियो । मर्नेहरू अधिकांश ४६ देखि ८० वर्ष उमेरसमूहका थिए । यसले दोस्रो लहरमा मर्नेहरू पहिलो लहरमा मर्नेहरूभन्दा कम उमेरका बढी रहेको देखाउँछ । कोभिडबाट मृत्यु भएकामा करिब १ प्रतिशतको हाराहारीमा १८ वर्षभन्दा कम उमेरसमूहका छन् ।
पहिलो लहरको ३०९ दिनमा २२ लाख १० हजार ४३४ परीक्षण भएको थियो । जसमध्ये २ लाख ७५ हजार ११८ संक्रमित पाइएका थिए । सो अवधिमा ३,०१२ को मृत्यु भएको थियो । मृत्युदर १ प्रतिशत, प्रतिदिन औसत मृत्यु १० जना र परीक्षण संक्रमण दर १२ प्रतिशत रहेको थियो । पहिलो लहरको अवधिमा मृत्यु हुनेहरू १८ वर्षभन्दा कम उमेरका १.२६ प्रतिशत, १९–४० वर्षका ११.७८ प्रतिशत, ४१–५० वर्षका २२.९९ प्रतिशत र ५१–१०८ वर्षका ७७ प्रतिशत छन् । दोस्रो लहर (फागुन २९–जेठ १)मा मृत्यु हुनेहरूमा १८ वर्षभन्दा कम उमेरका ०.७३ प्रतिशत, १९–४० वर्षका १७.७७ प्रतिशत, ४१–५० वर्षका ३७.३९ प्रतिशत र ५१–१०८ वर्षका ६२.३९ प्रतिशत छन् ।
दीर्घरोगले कोभिड–१९ जन्य मृत्युमा कस्तो भूमिका खेलेको छ भनेर हेर्दा कुनै दीर्घरोग नभएका ५० वर्षमुनिका व्यक्तिमा पनि दोस्रो लहरको नयाँ स्वरूपका कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । दोस्रो लहरको कोरोना संक्रमणले ५० वर्षमुनिका दीर्घरोग भएका ९५ जनाको मृत्यु भएको छ, जुन दोस्रो लहरको जम्मा मृत्युको ६ प्रतिशत हो । त्यस्तै, ५० वर्षमाथिका दीर्घरोग भएका २६८ जनाको मृत्यु भएको छ, जुन दोस्रो लहरको जम्मा मृत्युसंख्याको १६ प्रतिशत हो । कुनै पनि दीर्घरोग नभएका ५० वर्षमुनिका ५२३ जनाको कोभिड–१९ को संक्रमणले ज्यान लिएको छ, जुन दोस्रो लहरको जम्मा मृत्युसंख्याको ३२ प्रतिशत हो । दोस्रो लहरको जम्मा मृत्युसंख्याको ४६ प्रतिशत अथवा ७५७ जना कुनै पनि दीर्घरोग नभएका ५० वर्षमाथिको समूहका छन् ।
पहिलो लहरमा मृत्यु–संख्यामा ३२७ जना वा ११ प्रतिशत दीर्घरोग भएका ५० वर्षमुनिका थिए । त्यसैगरी, पहिलो लहरमा ५० वर्षमाथिका दीर्घरोग भएका १२ सयजनाको मृत्यु भएको थियो, जुन पहिलो लहरको मृत्युको ४० प्रतिशत हो । सो अवधिमा कुनै पनि दीर्घरोग नभएका ५० वर्षमुनिका ३६४ जनाको कोभिड–१९ संक्रमणले जीवन लिएको देखिन्छ । यो पहिलो लहरको कुल मृत्युको १२ प्रतिशत हो । सो अवधिमा दीर्घरोग नभएका ५० वर्षमाथिका ११ सय १५ जना मरेका थिए, जुन ३७ प्रतिशत हो । कुनै पनि दीर्घरोग नभएका र ५० वर्षमुनिका व्यक्तिमा कोभिड–१९ को मृत्युको जोखिम पहिलो लहरको तुलनामा अहिलेको लहरमा पाँच गुणा बढी भएको तथ्यांकको विश्लेषणले पुष्टि गर्छ । त्यस्तै, दीर्घरोग नभएका ५० वर्षमाथिका व्यक्तिमा कोभिड–१९ को मृत्युको जोखिम पहिलो लहरको तुलनामा दोस्रो लहरमा दोब्बर बढी छ ।
पहिलो लहरमा संक्रमण गराएका कोभिड–१९ सार्स–कोरोना भाइरस–२ का एल, एस, भी र जी भेरियन्टहरूभन्दा दोस्रो लहरको संक्रमणका वर्तमानका आनुवंशिक उत्परिवर्तन भएका भेरियन्ट बढी संक्रामक र घातक छन् । हाल दोस्रो लहरको कोभिड–१९ संक्रमणको नेपालका विभिन्न ठाउँबाट संकलन गरिएका ३५ नमुनाको जेनेटिक्स अध्ययनले यो भाइरस शतप्रतिशत भारतको ‘डबल म्युटेन्ट बी.१.६१७’ भएको पुष्टि गरेको छ । जेनेटिक अध्ययन गरिएका ९७ प्रतिशत नमुनामा बी.१.६१७.२ डबल म्युटेन्ट कोरोना भाइरसको बाहिरी सतहमा रहेको स्पाइक प्रोटिनमा रहेको १२७३ एमिनो एसिड (प्रोटिनका एकाइ)मध्ये सातवटा उत्परिवर्तन भएको देखिएका छन् । त्यस्तै, तीन प्रतिशत नमुनामा बी.१.६१७.१ डबल म्युटेन्टको स्पाइक प्रोटिनमा पाँचवटा एमिनो एसिडमा उत्परिवर्तन पाइएको छ ।
आनुवंशिक उत्परिवर्तनले भाइरसमा जेनेटिक संरचना परिमार्जित भई मानिसको कोषिकामा बाँधिने र भित्र छिर्ने क्षमता वृद्घि हुने भएकाले अधिक संक्रमण गराउन, मानिसको प्रतिरक्षा प्रणाली छल्न र स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने प्रारम्भिक वैज्ञानिक प्रमाण उजागर भएका छन् । नेपालको कोभिड–१९ को पहिलो र दोस्रो लहरको तथ्यांकको विश्लेषणबाट पनि हामी यही निचोडमा पुग्छौँ । यी तथ्य र आधारहरू नियाल्दै अझै नयाँ कोरोना भाइरसका भेरियन्टहरूको चुनौती कसरी सामना गर्ने, यसलाई पूर्ण नियन्त्रणमा कसरी लिने र कसरी कोभिड–१९ का गम्भीर बिरामीको उपचार र व्यवस्थापन गर्ने भन्ने रणनीतिक चाल नै आजको तात्कालिक तथा व्यग्र आवश्यकता बनेको छ । यसका लागि राज्य र राज्यका निकायका साथै अन्य सबैले पनि सम्पूर्ण ऊर्जा, प्रयास, समय खर्चनु अपरिहार्य भएको छ ।
(दुलाल अनुसन्धान वैज्ञानिक तथा जिवाणुविज्ञ हुन्)