अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग लडिरहेका अविकसित देशहरूलाई भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आगामी ६ साताभित्र त्यस्ता देशहरूलाई थप दुई करोड डोज खोप उपलब्ध गराउने लक्ष्य लिएको उनले बताएका छन् । बाइडेनले ह्वाइट हाउसमा सोमबार अन्तर्राष्ट्रिय मिडियासँग कुराकानीका क्रममा यस्तो जानकारी दिएका हुन् ।
यसअघि नै अमेरिकाले ६ करोड खोप निर्यात गरिसकेको छ जुन महिनाको अन्तिम सातासम्म अमेरिकामा उत्पादन भएका खोपको १३ प्रतिशत बाँड्न लागेको बाइडेनले बताएका छन् । बाइडेनले आफ्नो घोषणा पूरा हुँदा अमेरिका विश्वकै ठूलो परिणाममा खोप वितरण गर्ने देश हुने दाबी पनि गरेका छन् । ‘पहिले विश्व नै सुरक्षित हुनुपर्छ, त्यसपछि मात्र अमेरिका पूर्ण रूपले सुरक्षित हुनेछ,’ राष्ट्रपति बाइडेनले भने, ‘जबसम्म हामी सुरक्षित रूपमा बस्दैनौँ, त्यसवेलासम्म कोरोनाबाट सुरक्षित हुन सक्दैनौँ ।’ बाइडेनले समुद्रको उदाहरण दिँदै भनेका छन्, ‘हेर्नुस् समुद्र कति फराकिलो छ, यसमा हामीले न त पर्खाल लगाउन सक्छाँै न त उचाइ मापन गर्न सक्छौँ, हामी कोरोनासँग सुरक्षित रहने एक मात्र उपाय भनेको नै भ्याक्सिन लगाउने र सबै सुरक्षा विधि अपनाउने हो ।’
अहिलेसम्म विश्वमा रसिया र चीन धेरै खोप निर्यात गरिरहेका छन् । गत महिना अमेरिकाले छिमेकी राष्ट्र क्यानडा र मेक्सिकोलाई अक्सफोर्ड–एस्ट्राजेनेकाको ४० लाख डोज खोप दिएको थियो । यद्यपि एस्ट्राजेनेकाले गत महिना मात्र अनुमति पाएको हो । यो अमेरिकामा अझै प्रयोगमा आएको छैन । बाइडेनले अन्य देशमा पठाइने भ्याक्सिन फाइजर, मोडर्ना वा जोनसन एन्ड जोनसन हुने जनाएका छन् । यसमध्ये मोर्डना र फाइजर अमेरिकामा प्रयोग भइरहेका छन् ।
ह्वाइटहाउसकी प्रेससचिव जेन साकीले विश्वबाट कोरोना भाइरस महामारी हटाउने लक्ष्यका साथ अमेरिकाका राष्ट्रपति बाइडेन अग्रसर भएको बताइन् । ‘अहिले राष्ट्रपति बाइडेनको मुख्य उद्देश्य नै विश्वबाट कोरोना निर्मूल पार्ने हो, यसै कार्य सफल बनाउन उहाँले थप दुई करोड खोप वितरण गर्न लाग्नुभएको हो ।’ ह्वाइट हाउसले कोरोना निर्मूल बनाउने अभियानमा जेफरी जिएट्स कम्पनीसमेत समावेश गर्ने भएको छ ।
चीन र रसियाले भ्याक्सिनको व्यापार गरेको आरोप
राष्ट्रपति बाइडेनले यस्तै कम्पनीसँग सहकार्य गर्न तयार भएको ह्वाइट हाउसकी प्रेससचिव जेनले बताइन् । बाइडेनले मानव रक्षार्थ नै भ्याक्सिन अभियान चलाएको बताएका छन् । रसिया र चीनले भ्याक्सिनमा व्यापार गरेको आरोपसमेत उनले लगाएका छन् । ‘रसिया र चीनले आआफ्नो भ्याक्सिनको मार्केटिङ मात्र गरेका छैनन्, उनीहरूले यसको व्यापार पनि गरिरहेका छन्,’ राष्ट्रपति बाइडेनले भने, ‘हामीलाई यस्तो केही पनि चाहिएको छैन, केवल विश्व सुरक्षित हुनुपर्छ ।’
दोस्रो विश्वयुद्धताका अमेरिकाले नेतृत्व गरेको स्मरण गराउँदै बाइडेनले भने, ‘जसरी दोस्रो विश्वयुद्धमा अमेरिकाले नै नेतृत्व गरी सफलता प्राप्त गर्यो, त्यसैगरी नै यो कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाले नै नेतृत्व गर्नेछ, यसलाई निर्मूल पनि पार्नेछ, कोरोनामाथि जित प्राप्त हुने विश्वास छ ।’ अमेरिकी राष्ट्रपति बाइडेनले थप दुई करोड डोज खोप वितरण गर्ने घोषणा गर्नुअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का डाइरेक्टर जनरल डाक्टर ट्रेडोसले महामारी फैलिरहेको र आर्थिक रूपमा कमजोर देशहरूलाई खोप वितरण गर्न आह्वान गरेका थिए । ‘कोरोना भाइरसको चपेटामा परेका देशहरूलाई तत्काल बढीभन्दा बढी खोप दिलाउनुपर्ने अवस्था आएको छ,’ डाक्टर ट्रेडोसले भनेका छन् ।