देशमा देखिएको आवास संकट समाधान गर्ने उपाय समेटिएको दुई विधेयकलाई सांसदका दक्षिणपन्थी सांसदहरूले अस्वीकृत गरिदिएपछि स्पेनभर हजारौँ मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार संसद्ले प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले आवास संकट सम्बोधन गर्न प्रस्ताव गरेका दुईवटा कानुनलाई अस्वीकृत गरेको थियो । गत महिनाको अन्त्यतिर राजधानी म्याड्रिडमा ८७ वर्षीया एक वृद्धालाई उनी ७० वर्षदेखि भाडामा बस्दै आएको घरबाट निकालिएपछि पछिल्लो विरोध प्रदर्शन सुरु भएको हो । (वृद्धा मारिया डेल कारमेन अबास्कल बसेको घर एउटा अन्तर्राष्ट्रिय लगानी कोषले खरिद गरेर भाडा बढाएपछि उनी बाहिरिन बाध्य भएकी थिइन् ।) अहिले अध्यादेश असफल भएपछि विरोधले थप उग्ररूप लिएको छ ।
देशभर शनिबार भएको विरोध प्रदर्शनको व्यापकता हेरेपछि प्रधानमन्त्री सान्चेजले नोभेम्बर महिनाभित्रै मध्यावधि चुनाव घोषणा गर्न सक्ने स्थानीय सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् । स्पेनको वर्तमान विधायिकाको कार्यकाल जुलाई २०२७ सकिनुपर्ने हो । तर, नयाँ घटनाक्रमबिच के मिडियाले अनुमान गरेअनुसार स्पेनमा आवास संकटले मध्यावधि चुनाव निम्त्याउला ?
शुक्रबार संसद्मा के भयो ?
आवासको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएर उत्पन्न भएको संकट समाधान गर्न स्पेनको अल्पमतमा रहेको वामपन्थी सरकारले आपत्कालीन उपाय समेटेर ल्याएको प्रस्ताव शुक्रबार संसदमा निस्तेज गरियो । सरकारले देशका भाडामा बस्नेहरूलाई संरक्षण गर्न दुईवटा उपाय प्रस्ताव गरेको थियो ।
पहिलो विधेयकले जोखिममा रहेका मानिसलाई घरबाट निकाल्न नपाउने, घरजग्गाको सट्टेबाजीलाई अहिलेभन्दा कठिन बनाउने, अल्पकालीन भाडा सम्झौतामा कठोर प्रावधान लगाउने तथा घर भाडामा दिने कार्य तथा आवास निर्माणलाई प्रोत्साहन गर्न कर सहुलियत प्रदान गर्ने विषय समेटेको थियो ।
दोस्रोले भने भाडा सम्झौताको म्याद सकिने वेला स्वतः नवीकरण हुने व्यवस्था प्रस्ताव गरेको थियो, जसले गर्दा ती सम्झौताहरू मूलतः अनिश्चितकालसम्म लम्बिन सक्ने थिए । सम्झौता तोड्नुपरेको खण्डमा घरधनीले भाडामा बस्ने व्यक्तिलाई १२ महिनाको भाडाबराबरको रकम तिर्नुपर्ने हुन्थ्यो । स्पेनको वर्तमान सोसलिस्ट पार्टी र उग्रवामपन्थी ‘सुमार’ मिलेर बनेको गठबन्धन सरकारको नेतृत्व गरिरहेका सान्चेजले मतदानअघि सांसदहरूलाई राजनीतिक दबाबलाई पन्छाउन आग्रह गरेका थिए ।
‘पार्टीको सांसदका रूपमा भन्दा पनि आफैँले साधारण मानिसबारे विचार गर्नुहोस् । ती मानिसहरूबारे सोच्नुस् जसलाई सार्वजनिक संस्थाहरूको संरक्षणको सबैभन्दा बढी खाँचो छ । आफ्ना अभिभावकको घर छोडेर छुट्टै बस्न नसक्ने लाखौँ युवाबारे सोच्नुहोस् । निरन्तर बढिरहेको घरभाडाको चिन्तामा बाँचिरहेका परिवारबारे सोच्नुहोस्,’ संसद्मा मतदान सुरु हुनुअघि सान्चेजले भनेका थिए । सान्चेजको आह्वानका बाबजुद उनको सरकारले प्रस्ताव गरेका उपायलाई संसद्को तल्लो सदन (जसमा ३५० सिट छ)को बहुमतले अस्वीकार गरिदियो ।
सरकारले समर्थनको आशा गरेको क्याटालन पृथक्तावादी पार्टी ‘जुन्ट्स’ले आवाससम्बन्धी सरकारले ल्याएका अध्यादेशलाई समर्थन गर्न नसकिने बतायो । यसले अन्ततः आवास बजारलाई अझ साँघुरो बनाउने उसले तर्क गरेको थियो । जुन्ट्स पार्टीकी सांसद मिरियम नोगुएरासले अहिले ल्याइएका अध्यादेशका कारण केही घरधनीले आफ्ना घरहरू भाडामा नराख्ने र यसले भाडामा जाने कोठाको संख्या घटाउने र लगत्तै भाडामूल्य थप बढ्ने बताइन् ।
उता सान्चेसकी स्वास्थ्यमन्त्री मोनिका गार्सियाले भने दक्षिणपन्थी पार्टीहरूले ‘सामन्ती अर्थतन्त्रको पक्षमा मतदान गरेको’ आरोप लगाएकी छिन् । ‘उनीहरूले बहुसंख्यक मानिसहरूको ज्याला दोहन गरेर विलासितामा बाँच्ने सानो समूहको पक्षमा मतदान गरेका छन् ’ गार्सियाले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छिन् ।
संसदीय मतदानअघि टिप्पणी गर्ने क्रममा बार्सिलोना विश्वविद्यालयमा समाजशास्त्र विभागकी प्रमुख मार्ता सोलेर गालार्टले सरकारले ल्याएका दुवै विधेयकमध्ये कुनैले पनि मध्यम वा दीर्घकालीन रूपमा आवास समस्यालाई सम्बोधन नगर्ने बताइन् ।
‘यी आदेशहरूको पक्षधरले भियना सहरको न्यून भाडादर मोडेलको उदाहरण दिइरहेका छन् । तर, भियनाको मोडेल र अन्य यस्तै मोडेलमा कम भाडा हुनुको मुख्य कारण वर्षौँदेखि सार्वजनिक आवास निर्माण र व्यवस्थापनमा राज्यको सहभागिताले मुख्य भूमिका खेल्ने गरेको छ,’ सोलार गालार्टले भनिन ।नयाँ उपायले साना वा थोरै सम्पत्ति भएका घरधनीहरूलाई बेफाइदा पुर्याउने गालार्टको तर्क छ । किनकि यसले पाँचवर्षे बहाल सम्झौतालाई थप दुई वर्ष लम्ब्याउने तथा लिज (बहाल)को अवधि अनिश्चितकालका लागि बढाउन सकिने व्यवस्था गरेको छ ।
स्पेनभर किन भइरहेको छ विरोध ?
सेप्टेम्बरको अन्त्यतिर ८७ वर्षीया अबास्कललाई उनको घरबाट निकालिएपछि स्पेनभरि विरोध प्रदर्शन सुरु भयो । उनको भवन खरिद गर्ने लगानी कोषले भाडा रकम २०० प्रतिशतभन्दा बढीले बढाएर मासिक करिब १,८८० डलर पु¥याएको थियो । यो कदमको उद्देश्य लामो समयदेखि बस्दै आएका भाडावाललाई हटाएर नाफामुखी पर्यटक अपार्टमेन्टहरूका लागि ठाउँ खाली गर्नु थियो ।
महँगी बढाउन भूमिका रहेको भन्दै पछिल्लो केही वर्षदेखि स्पेनका कैयौँ स्थानमा अधिक पर्यटक आगमनविरुद्ध विरोध प्रदर्शन भएका छन् । यसलाई आवास संकट र बढ्दो जीवनयापनको लागतसँग जोडेर हेरिने गरिएको छ । स्पेन विश्वमा सबैभन्दा बढी पर्यटक जाने देशहरूमा दोस्रो स्थानमा पर्छ, जहाँ गत वर्ष नौ करोड ७० लाख पर्यटकहरू पुगेका थिए ।
स्पेनभर भएका प्रदर्शनहरूमा सरकारले यो समस्याको समाधान गर्नुपर्ने माग उठेको छ । शुक्रबार सरकारी सुधारका प्रयासलाई संसद्ले अस्वीकार गरेकोमा थप आक्रोश बढ्यो । हजारौँ मानिस सडकमा उत्रिए । ‘यो लज्जास्पद कुरा हो । राजनीतिक दलहरू जनताको चाहनाअनुसार अघि बढ्नुको सट्टा हामी जनता नै राजनीतिक दलको इच्छअनुसार चल्नुपर्ने अपेक्षा गरिँदै छ । यो क्रम यसरी नै चलिरहन सक्दैन,’ म्याड्रिडमा शनिबार भएको विरोध प्रदर्शनमा सहभागी २६ वर्षीय नान्दो डे आन्गुलोले रोयटर्स समाचार एजेन्सीसँग भनिन् ।
विरोध प्रदर्शन प्रायः शान्तिपूर्ण भए पनि, दक्षिण–पूर्वी सहर भ्यालेन्सियामा भने प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न रबरको गोली र अश्रुग्यास प्रहार गर्यो । ‘टेनन्ट्स युनियन’ (भाडामा बस्नेहरूको संघ)की प्रवक्ता भलेरिया राकुले शनिबारका र्यालीहरूले ‘लामो समयदेखि नदेखिएको नयाँ ऊर्जा’ उजागर गरेको बताइन् । ‘यस ऊर्जाले आठ दिनमा जनताको शक्तिले आठ वर्षको प्रगतिशील सरकारले भन्दा बढी उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरा देखाइरहेको छ । अब वास्तविक राजनीति सुरु हुन्छ– यस्तो राजनीति जुन सधैँ जनताको थियो र जुन अब सधैँका लागि सडकमा फर्किनेछ,’ राकुले थपिन् ।
संवेदनशील मुद्दा बन्दै आवास
स्पेनमा आवास एक संवेदनशील मुद्दा हो । यसले आममतदाताको मतदान गर्ने निर्णयलाई नै प्रभाव पार्छ । विगत १० वर्षमा देशमा औसत घरभाडा लगभग दोब्बर भएको छ । ‘भ्यानिटी फेयर’मा अक्टोबर १ मा प्रकाशित एक लेखमा स्पेनिस पत्रकार जर्ज डिओनी लोपेजले विगत आठ वर्ष सत्तामा रहेका सान्चेजले महँगो आवासकै कारण शिक्षित युवा र मध्यम वर्गीय परिवारको समर्थन गुमाइरहेको लेखेका छन् ।
‘सरकार कठिन परिस्थितिमा छ । पहिलो कारण हो, अधिकांश सम्बन्धित अधिकार सरकारका अन्य तहहरूसँग निहित छन् । दोस्रो कारण हो, स्पेन खासमा घरधनीहरूको देश हो । अन्य युरोपेली देशहरूभन्दा फरक रूपमा यस देशमा निर्माण गरिएका लगभग सबै सार्वजनिक आवास अन्ततः निजी क्षेत्रको नियन्त्रणमा छन् । ऐतिहासिक रूपमा भाडामा बस्नुभन्दा घरको स्वामित्व लिनु बढी आकर्षक मानिन्छ,’ लोपेजले लेखमा उल्लेख गरेका छन्, ‘स्पेनमा आवास बचतको माध्यम हो । यो पुस्तान्तरणमार्फत सम्पत्ति हस्तान्तरण गर्ने मुख्य साधन पनि हो ।’
शुक्रबार स्पेनको संसद्ले सरकारको आवास सुधारसम्बन्धी विधेयकहरू अस्वीकार गरेपछि, मध्य–दक्षिणपन्थी ‘पिपुल्स पार्टी(पिपी)’का नेता अल्बर्टो नुनेज फेइजुओले सान्चेसलाई ‘जतिसक्दो चाँडो निर्वाचन घोषणा गर्न’ आह्वान गरे । उनले सान्चेजसँग ‘न सडकको, न संसद्को’ समर्थन बाँकी रहेको दाबी गरे । सान्चेजले नयाँ निर्वाचनबारे आधिकारिक घोषणा गरिसकेका छैनन् । तर, स्पेनको अनलाइन समाचार साइट ‘एल डियारियो’ले निर्वाचन नोभेम्बर २९ भित्र हुन सक्ने रिपोर्ट गरेको छ ।
अलजजिराबाट