यमनका इरान समर्थित हुथी समूहले साउदी अरबका चार सहरमा आक्रमण गर्दा ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् । केही तेल उत्पादन क्षेत्रसमेत निसानामा पर्दा आगजनी भएको अधिकारीले जनाए । यसलाई पहिलेदेखि द्वन्द्वग्रस्त मध्यपूर्वमा उलेख्य तनावको वृद्धिका रूपमा हेरिएको छ ।
साउदी अरबले देशको दक्षिण क्षेत्रका कैयौँ तेल संयन्त्रलाई लक्षित गरी रातभर आक्रमण भएको बताएको छ । समाचारका अनुसार आक्रमणमा दर्जनौँ ड्रोन र मिसाइल प्रयोग भएको थियो । ‘आक्रमणविरुद्ध हामीले आफ्नो देशको सार्वभौमिकताको रक्षा गर्न सबै आवश्यक उपाय अपनाउनेछौँ,’ साउदी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जवाफ दिइने चेतावनी दिएको छ ।
हुथी विद्रोहीका प्रवक्ता याह्या सारीले रियादले यमनमा हवाई आक्रमण गरेकाले आफूहरूले जवाफ दिएको बताएका छन् । साउदी अरबको दक्षिणी सहर खामिस मुसैतका एअरबेसनजिकैको आभा सहरको सरकारी तेल कम्पनी, यमनको सीमामा रहेको नजरान र जिजानमा तेल संयन्त्रमाथि आक्रमण गरेको याह्याले बताए । आक्रमणमा प्रयोग भएको ड्रोन र मिसाइल साउदी अरबको धेरै गहिराइसम्म पुगेको समूहको दाबी छ । साउदी अरबको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमध्ये एक रहेको जिजान यमनको सिमानानजिक छ । केही हप्ताअघि भएको आक्रमणमा पनि त्यस भागलाई निसाना बनाइएको थियो । साउदी अधिकारीले आक्रमणमा ७३ जना घाइते भएको र तिनमा अधिकांश महिला र बालबालिका रहेको बताएका छन् ।
ठुलो संख्यामा घाइतेको संख्या हेर्दा पछिल्लो आक्रमण फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेयताकै साउदीविरुद्ध गरिएको सबैभन्दा ठुलो आक्रमण भएको अनुमान गरिएको छ । साउदी अरबले एक दशकभन्दा लामो समयदेखि यमनमा हुथीविरुद्ध चलिरहेको संघर्षमा अरब गठबन्धनको नेतृत्व गरिरहेको छ ।
हालैका वर्षमा युद्ध रोकिएको अवस्था रहेकोमा पछिल्लो समय फेरि झडप सुरु हुन थालेको छ । हुथीहरूले यमनको प्रमुख जनसंख्या रहेको क्षेत्र र राजधानी सानामाथि वर्षौंदेखि नियन्त्रण कामय गरेपछि देश गृहयुद्धमा फसेको छ ।