साना चुक्ता पुँजीका कम्पनीमा लगानी बढाउँदा नेप्सेको उकालो यात्रा कायमै रहने विश्लेषण
सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको छ । आइतबारबाट बजार दैनिक नयाँ रेकर्ड बनाउन सफल भएको हो । नेप्से परिसूचक ३४ अंकले बढेर २ हजार ७ सय ९३ बिन्दुमा पुगेको छ । त्यस्तै, ’क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ६४ अंकले बढेर ४ सय ९७ बिन्दुमा पुुगेको छ । विशेष गरी सानो चुक्ता पुँजी भएका कम्पनीमा लगानीकर्ताको अस्वाभाविक रूपमा आकर्षण बढ्दा नेप्सेले उकालो यात्रा तय गर्न थालेको लगानीकर्ता तथा विश्लेषक विष्णु बस्याल बताउँछन् ।
साना चुक्ता पुँजी रहेका कम्पनीले बजारमा उत्साह थपेको र यसले सेयर खरिद–बिक्रीसँगै इन्डेक्सलाई पनि उकालो लैजान सहयोग गरेक बस्यालको दाबी छ । उनले भने, ‘यही बजारलाई कायम राख्ने हो भने बजारमा भएका ठूला चुक्ता पुँजीको सेयर मूल्य बढ्नुपर्छ ।’ यसले बजारलाई दीर्घकालीन ओरालो जानबाट केही हदसम्म रोक्न मद्दत पुुग्ने बस्यालको भनाइ छ ।
कारोबार रकममा पनि नयाँ कीर्तिमान
आइतबारबाट सेयर कारोबारमा सुधार हुँदै मंगलबारसम्म आइपुुग्दा सेयर कारोबारमा पनि नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार २ करोड ३१ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । २ सय १५ प्रकारका धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका थिए ।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सो दिन ६७ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा नेसनल लाइफ इस्योरेन्सको कम्पनीको ३१ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावर कम्पनीको ३१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये १२ वटा समूहका सूचक सकारात्मक रहेका छन् भने उत्पादनगत समूहको सूचक मात्र नकारात्मक बन्न पुुगेको छ । सबैभन्दा धेरै बढ्ने समूहको सूचकमा होटेल तथा पर्यटन समूह रहेको छ । सो समूहको ६ दशमलव १५ प्रतिशत रहेको छ भने फाइनान्स, जीवन बिमा, निर्जीवन बिमालगायत समूहबाट लगानीकर्ताले उल्लेखनीय कमाएका छन् ।
३ दर्जन कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो
मंगलबार अधिकांश कम्पनीको सेयर मूल्यमै सर्किट मूल्यमा कारोबार भएका छन् । १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार हुने कम्पनी मात्र ११ वटा रहेका छन् । सोल्टी होटेल, ओरियन्ट होटेल, नेसनल हाइड्रोपावर, विशाल बजार कम्पनी, बेस्ट फाइनान्स, मिथिला लघुुवित्त वित्तीय संस्था, समता घरेलुु लघुवित्त वित्तीय संस्था, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
त्यस्तै, तारा गाउँ रिजेन्सी, नेपाल फाइनान्स, राधी विद्युत् कम्पनी, नेपाल हाइड्रो डेपलपर्स, रुरु जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि सर्किट लेभलमा नाफा कमाउन सफल भएका छन् । मंगलबार सबैभन्दा धेरै गुमाउनेमा नेपाल दूरसञ्चार कम्पनी, अपर तामाकोसी हाइड्रोपावर, शिखर इन्स्योरेन्स, ज्योतिलाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् ।