नेपाल चेम्बरद्वारा ६ अस्पताललाई स्वास्थ्य सामग्री वितरण

मंगलबार, ४ जेठ, २०७८
डिजिटल संस्करण

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीको समूहले काठमाडौंका सरकारी अस्पतालहरूलाई पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, भिटामिन सी ट्याब्लेट, सिटामोल ट्याब्लेटलगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो । 

चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, क्षेत्रपाटी निःशुल्क अस्पतालमा स्वास्थ्य सामग्रीहरू वितरण गरेको जनाइएको छ । चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जनाएको छ । उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ । 

अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथाशीघ्र सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर आयात गरी एक साताभित्र अस्पतालहरूमा वितरण गरिने नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मलहोत्रा र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको उपस्थिति रहेको जनाइएको छ । 

सुझावित समाचार