अस्पताललाई र नर्सिङ होमलाई आधारदरमै दिने
सिद्धार्थ बैंक लिमिटेडले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणको खरिद तथा क्षमता विस्तारका लागि अक्सिजन लोन दिने भएको छ । बैंकले कोभिड–१९ संक्रमण बढ्दै गएपछि देखिएको अक्सिजनको अभावलाई मध्यनजर राखी अस्पताल तथा नर्सिङ होमहरूलाई लक्षित गरी कर्जा सुविधा ल्याएको हो ।
यो कर्जा बैंकको आधारदरमै प्रदान गरिने बैंकले जनाएको छ । प्रदान गरिएको कर्जा सम्बन्धित संस्थाको नगद प्रवाहका आधारमा भुक्तानी अवधि तय गरिने जनाइएको छ । यो कर्जामा कुनै पनि सेवाशुल्क नलाग्ने र उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिङ गरिने बैंकले जनाएको छ । यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको सहुलियत कर्जा निर्देशिकाअनुरूप हुने जनाइएको छ ।
सीमित अवधिका लागि ल्याइएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले यस आवमा मात्र कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड ४ लाख रुपैयाँ प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिसकेको जनाएको छ ।