केएल दुगड समूहले कोहलपुर अस्पतालमा खाना खुवाउने

आइतबार, २ जेठ, २०७८
डिजिटल संस्करण

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरूलाई २ महिनासम्म पुग्ने खाद्यान्न केएल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरूका कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई केएल दुगड ग्रुपले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यसआसपासका जिल्लाहरूबाट आएका संक्रमित र तिनका कुरुवा आफन्तहरूलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको जनाइएको छ । प्रत्येक दिन बिहान दुई सयजना र बेलुका दुई सयजना संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ । 

खाना खुवाउने कार्यक्रमको सुरुवात गर्दै निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटेल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानीसमेत नपाएको कारुणिक अवस्था देखेपछि अभियान चलाएको जनाइएको छ । 

सहुलियत खाना प्रतिछाक ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरूका लागि हरेक दिन अन्डाको पनि व्यवस्थापन गरिएको छ । संक्रमित र संक्रमितका कुरुवाले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड ग्रुपका प्रबन्धक प्रदीप छाजेडले बताए । उनले भने, ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानीय समाजसेवी तथा नेता साथीहरूले प्रस्ताव ल्याउनुभयो, हामीले चामल र दाल दिन्छौँ भन्यौँ ।’ 

See More On

सुझावित समाचार