रसुवागढी जलविद्युत् आयोजनाका २५ वटा अक्सिजन सिलिन्डर प्रशासनलाई हस्तान्तरण

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले २५ वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय रसुवालाई उपलब्ध गराएको छ । आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले २५ वटा खाली अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय रसुवालाई उपलब्ध गराएको हो ।  

कोरोना महामारीमा अक्सिजन सिलिन्डरसमेत नपाएको र अक्सिजनको अभावमा ज्यान गुमाएको घटना धेरै रहेकाले महामारीको समयमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई २५ वटा खाली सिडिन्डर हस्तान्तरण गरेको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए । 

‘महामारीको समयमा केही राहत पुग्ने हुँदा हामीले अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराएका हौँ, यो महामारी सकिएपछि हामीलाई पुनः फिर्ता हुने गरी सिलिन्डर दिएका छौँ, हामीले दिएको सिलिन्डर बिहीबार नै हाम्रै आयोजनाको टिपरमा राखेर प्रशासनले अक्सिजन भर्नका लागि नुवाकोटको ककनी पठाएको छ,’ उनले भने  ।

विद्युत् विभागले जलविद्युत् आयोजनामा रहेको अक्सिजन सिलिन्डर स्थानीय प्रशासनलाई उपलब्ध गराउन निर्देशन दिएसँगै अहिले जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रशासनलाई अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराउन थालेका छन् । हाल जिल्लामा निजी क्षेत्रबाट प्राप्त करिब एक सयवटा अक्सिजनको खाली सिडिन्डर रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । 

सुझावित समाचार