यो महामारी परास्त गर्न के चाहिन्छ ?

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिड–१९ को कारक भाइरस सार्स–कोभ–२ मानव समुदायले खेप्ने अन्तिम संक्रामक विषाणु हुनेछैन । तर, हामीले विवेक पुर्‍यायौँ भने यो नै यति विधि नोक्सानी मच्चाउने अन्तिम भाइरस हुन भने सक्छ ।

कोभिड–१९ सम्बन्धी विश्व स्वास्थ्य संगठनका महासचिवको विशेष दूतका रूपमा हामीले विशेष गरी गरिब मुलुकहरूमा यो महामारीको कहरको सघनतालाई प्रत्यक्ष अनुभव गरेका छौँ । यो गम्भीर सुख हाम्रै आँखाअगाडि विकसित भयो र अहिलेसम्म यसको अन्त्यको कुनै छेकछन्द छैन ।

हाम्रो अनुभवमा वर्तमान एवं भावी पुस्ताको जीवनरक्षा तथा स्वास्थ्य र कल्याणको सुरक्षा गर्न संक्रामक रोगहरूप्रति प्रतिक्रिया नै पहिलो प्राथमिकता हो । अहिले कोभिड–१९ ले मच्चाएको भयानक सामाजिक एवं आर्थिक हानिनोक्सानीले हाम्रो चिन्ता बढ्दो छ । कोरोना भाइरसको जारी संकटमाझ सम्पूर्ण मानव समुदाय आफ्नो आजीविका जोगाइराख्न संघर्षरत रहनुपरेको छ । यसले यो महामारी स्वास्थ्य आपत्काल मात्रै होइन, निकै ठूलो संकट हो भन्ने प्रस्ट भइसकेको छ । यो समग्र विश्वकै ठूलो संकट बनेको छ ।

हाम्रो सबभन्दा ठूलो डर के भने दशकौँपछि भावी पुस्ताको भविष्य अकस्मात् रोकिएको छ । केही क्षेत्रमा गत २० वर्षमा हासिल भएका उपलब्धिहरू उल्टिन थालेका छन् । उच्च रोजगारी, अत्यावश्यक सेवाहरूको विस्तार, छोरीहरूको शिक्षामा हासिल उपलब्धिलगायतका प्राप्ति खतरामा परेका छन् । त्यस्तै, पूर्वाधार, पानी तथा सरसफाइ, रोग नियन्त्रण, राजनीतिक स्थायित्व तथा शासनका संस्थाहरूमा भएका सुधार पनि दाउमा लागेका छन् । अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्य २०३० तर्फको गतिमा आएको यो रुकावट र क्षतिको लागत दूरगामी हुनेछ । जसको अधिकतम् भार तिनै कमजोर मुलुकले वहन गर्नुपर्नेछ । 

खोपकरणलाई नै लिऔँ । अन्तर्राष्ट्रिय समुदायले असाधारण विश्वव्यापी वैज्ञानिक सहयोग एवं सहकार्यमार्फत प्रविधि साझेदारीलाई सहजीकरण गर्न एक्ट–ए (एक्सेस टु कोभिड–१९ टुल्स एक्सिलेरेटर) र विश्वभर समतामूलक एवं प्रभावकारी रूपले खोपको वितरण गर्न कोभ्याक्स (कोभिड–१९ भ्याक्सिन ग्लोबल एक्सेस) संयन्त्र सिर्जना गरेको छ । विश्वभर करोडौँ डोज खोप उपलब्ध भइसकेको छ । तर, यसको वितरणमा व्यापक असमानता छ । उच्च–आययुक्त मुलुकहरूमा प्रत्येक चारमध्ये एकलाई खोपको आपूर्ति पुगिसकेको छ । तर, गरिब मुलुकमा औसतमा पाँच सयजनामा एकले मात्रै खोप पाएको अवस्था छ । यो क्षणमा हामीले यो खोप हरेकमा नपुर्‍याएसम्म विश्वमा कोही पनि सुरक्षित हुनेछैन भन्ने बुझ्न जरुरी छ । यसमा हामी जति ढिलाइ गर्छाैं, नयाँ र खतरनाक भेरियन्टहरूको उदयको जोखिम पनि उत्तिकै बढ्दै जान्छ ।

निःसन्देह कोभिड–१९ को कारक भाइरस सार्स–कोभ–२ मानव समुदायले खेप्ने अन्तिम संक्रामक विषाणु हुनेछैन । तर, हामीले विवेक पु¥यायौँ भने यो नै यति विधि नोक्सानी मच्चाउने अन्तिम भाइरस हुन भने सक्छ । यसर्थ, अर्काे महामारीको रोकथाम हुन सक्ने/नसक्ने, त्यो हामीमै निर्भर छ । तर, सफलता विषाणुको सीमापार संक्रमण तथा अन्य स्वास्थ्य आपत्कालप्रति प्रतिक्रियाका लागि डब्लुएचओले तयार गरेका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको कार्यान्वयनमा मुलुकहरूको प्रतिबद्धतामा भर पर्नेछ । 

मौजुदा उपायहरूको अनुसरणबाहेक विश्वका नेताहरूले अरू थप ६ ओटा पहल लिनुपर्ने हुन्छ । पहिलो, विश्वव्यापी पूर्वतयारीमा लगानी नाटकीय रूपले बढाउनुपर्छ, ताकि अर्काे सम्भावित महामारी सक्दो छिटो रोक्न सकौँ । अहिले हामीसँग केले राम्रोसँग काम गर्छ भन्ने पर्याप्त प्रामाणिक अनुभव छन् । उपयोगी प्रणाली कसरी प्राप्त गर्ने अनुभव भएको छ । सम्पूर्ण मुलुकले यससम्बन्धी सान्दर्भिक सूचनाहरूको दु्रत साझेदारी र विश्वसनीयता सुनिश्चिताको प्रतिबद्धता गर्नु 
जरुरी छ । 

दोस्रो, हामीले विषाणुहरूलाई मानवबाट जनावर र वातावरणमा सर्नबाट जोगाउन थप प्रयास गर्नुपर्नेछ । अर्थात्, हाम्रो नाजुक पर्याप्रणालीलाई सुरक्षित गर्ने साझा दायित्व हो । साथै, जैविक अन्तरनिर्भरताप्रति सजगता प्रतिबिम्बित गर्नेखालको स्वास्थ्य अवधारणा अनुसरण गर्नुपर्छ, ताकि एक प्रजातिबाट अर्काेमा संक्रमणको जेखिम नहोस् ।

तेस्रो, खतराको घन्टी बज्न सुरु भएसँगै सबै मुलुकले तीव्र प्रतिक्रिया जनाउने सु्निश्चितता गर्नु पनि जरुरी छ । स्थानीय, राष्ट्रिय, तथा क्षेत्रीय स्वास्थ्य प्रणाली विशेष गरी तत्काल डिटेक्सन तथा रेस्पोन्स क्षमता कमजोर भएका मुलुकमा तत्कालै थप लगानीको आवश्यकता छ । 

चौथो, विश्वका नेताहरूले रचनात्मक अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यमा संलग्नता एवं प्रतिबद्धता जनाएर सुझबुझपूर्ण नेतृत्व देखाउन जरुरी छ । २६ मुलुकका प्रमुख, युरोपेली परिषद्का अध्यक्ष र डब्लुएचओका महानिर्देशक तेद्रोस अधानोम घेब्रेसेसले महामारी रोकथामको पूर्वतयारीसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सन्धिका लागि आह्वान गरेबाट हामी उत्साहित छौँ । यसले सरकारहरूबीच उच्चस्तरको सहयोगका लागि ठोस आधार तयार गर्नेछ । वस्तुतः यसले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको परिपूरकका रूपमा र सँगसँगै सबै राष्ट्रिय प्रणालीलाई अद्यावधिक गर्न पनि सहयोग गर्नेछ ।

पाँचौँ, सर्वाभौम स्वास्थ्य सुरक्षा हासिल गर्न आवश्यक खोप, निदान र उपचारहरूको विकास तथा वितरणका लागि हामीले अन्तराँष्ट्रिय सहयोग एवं सहकार्यलाई थप सघन बनाउनैपर्छ । अर्थात्, जरुरतमन्दका लागि आवश्यक स्वास्थ्य हेरचाहका प्रविधिहरूमा समतामूलक पहुँच सुनिश्चित गर्नका लागि स्थायी प्रकृतिको एक्ट–ए जस्ता पूर्वदर्शी पहलकदमीको निर्माण गर्नुपर्छ ।

छैटौँ तर सबभन्दा महत्वपूर्ण, यो संकटप्रतिको प्रतिक्रियालाई तत्कालै रिसेट गर्नु जरुरी छ । यो महामारीलाई जतिसक्दो छिटो अन्त्य गर्ने एक मात्र ध्येयबाट समता र निष्पक्षताका आधारमा समग्रतामा निर्मित एकल रणनीतिलाई सहयोगको पुनः प्रतिबद्धता सबैले जनाउन पनि जरुरी छ । र, डब्लुएचओको मन्त्र– ऐक्यबद्धता, विज्ञान र समाधानलाई अनुसरण गर्न जरुरी छ ।

कोभिड–१९ को विशेष दूतमण्डलको यो संकटसँग जुझिरहेका सबै समुदाय तथा मुलुकलाई सहयोग जारी रहनेछ । हाम्रो अहिलेको काम महामारीको क्षतिलाई जतिसक्दो कम गराउने हो । यसका लागि जुन मुलुकलाई आवश्यक छ, त्यहाँ क्षमता निर्माण र समुचित जनस्वास्थ्य नीतिहरूको कार्यान्वयनका लागि उक्त मुलुकभित्र र मुलुकहरूमाझ पनि पहलकदमीलाई थप सघन बनाउन जरुरी छ । यो प्रयासलाई कायम राख्नु महत्वपूर्ण छ । किनकि, भाइरसका अहिलेका वा अब आउने भेरियन्टबाट सुरक्षित गराउने खोपकरणका लागि महिनौँ वा वर्षाैं पनि लाग्न सक्छ ।

हाम्रो भनाइ अर्काे लहरको प्रकोपको व्यवस्थापन, पूर्वतयारी तथा रोकथामका लागि हरेकले आफ्नो हिस्साको काम गरून् भन्ने हो । हामी आजका नेताहरूसँग साझा हितका लागि मिलेर काम गर्ने ऐक्यबद्धतालाई थप मजबुत बनाउन पनि आह्वान गर्छाैं । आज नेताहरूले जे निर्णय गर्छन्, त्यसले आज र भोलिको पुस्ताका लागि समेत ठूलो महत्व राख्नेछ । 

(अवेकुन श्रीलंकाको स्वास्थ्य मन्त्रालयका वरिष्ठ सल्लाहकार हुन् । रब्बाट इजिप्टका भूतपूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री र रबार्टाे संयुक्त राष्ट्रसंघको महासचिवका पूर्व विशेष सल्लाहकार हुन्)

© Project Syndicate 2020
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

सुझावित समाचार