प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोना भाइरस संक्रमणको गम्भीर अवस्था भएका कारण अदालतबाट हुने सेवामा संकुचन ल्याउनुपर्ने बाध्यता परेको बताएका छन् । कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश जबराले संविधानप्रदत्त अधिकारको उपचार एवं न्याय प्राप्तिमा सर्वसाधारणलाई असुविधा भएको स्विकार्दै उनले छिट्टै यो अवस्थाको अन्त्य हुने उल्लेख गरेका छन् ।
‘कोरोना भाइरस संक्रमणको गम्भीरतालाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार एवं सम्बद्ध निकायबाट जारी भएका आदेशलाई समेत दृष्टिगत गरी अदालतहरूको सेवा प्रवाहमा पनि संकुचन ल्याइएको छ । यसबाट आमनागरिकका संविधानप्रदत्त हक–अधिकारको उपचार प्राप्ति एवं न्यायको पहुँचमा असुविधा वा कठिनाइ उत्पन्न हुन गएको छ,’ उनले सन्देशमा भनेका छन्, ‘यस अवस्थालाई परिस्थितिजन्य बाध्यताका रूपमा लिइदिनुहुन पनि म हार्दिक अनुरोध गर्दछु । विद्यमान परिस्थितिको आकलन गरी सेवा प्रवाहलाई क्रमशः विस्तार गर्दै लगिने पनि म यहाँ उल्लेख गर्न चाहन्छु ।’
त्यसैगरी उनले सरकारलाई कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । ‘नेपालमा पनि अहिले कोरोना भाइरसको संक्रमण अत्यन्त तीव्र गतिमा बढिरहेको छ । यस रोगबाट कैयौँ व्यक्तिहरूले मृत्युवरण गर्नुपरेको दुःखद अवस्था हाम्रोसामु छ,’ उनको सन्देशमा छ, ‘कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि हरसम्भव उपायहरूको अवलम्बन गर्न म नेपाल सरकारलगायत सम्बद्ध निकायलाई विशेष आग्रह गर्दछु ।’ उनले सर्वसाधारणलाई सुरक्षित भौतिक दूरीका साथै अन्य स्वास्थ्य मापदण्ड प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।