सिराहा कारागारमा कैदीबन्दी भेटघाट बन्द

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

जिल्ला कारागार सिराहाका कैदीबन्दी भेटघाट बन्द गरिएको छ । भेटघाटको क्रममा कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै प्रशासनले रोक लगाएको बताएको छ । कोरोनाको पहिलो लहरमा सबै अर्थात् पाँच सय सात कैदीबन्दी संक्रमित भएका थिए । भेटघाटका क्रममा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने जोखिम उच्च रहेकाले तत्काललाई भेटघाट बन्द गरिएको सिराहा कारागार प्रमुख बबिता महतोले बताइन् । 

नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा प्रतिबन्ध लगाउँदै आफन्तलाई गेटबाट फर्काउने गरेको उनले बताइन् । जिल्ला अदालत सिराहाले सजाय वा पुर्पक्षमा पठाउने कैदीबन्दीलाई कोरोना परीक्षण अनिवार्य गरिएको जनाएको छ । 

झन्डै चार गुणा बढी कैदीबन्दी
जिल्ला कारागार सिराहामा अहिले पाँच सय ८१ जना कैदीबन्दी छन् । १५ महिला र एक सय ३५ पुरुष राख्ने क्षमता रहे पनि झन्डै चार गुणा बढी कैदीबन्दी राखिएको छ ।

पुरुष पाँच सय ५५, महिला २३ र तीनजना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताइन् । कारागारमा रहेका कैदीबन्दीमध्ये चार सय ८१ जनाले कोरोनाविरुद्धको दोस्रो चरणको खोप र ४१ जनाले पहिलो चरणको खोप लगाइसकेको प्रमुख महतोले बताइन् ।
 

सुझावित समाचार