भारतको कोभिड संकट विश्वलाई चेतावनी

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

मुलुकहरूले एक्ला–एक्लै लडेर यो महामारीलाई नजित्ने प्रमाणित भइसकेको छ, एउटा डढेलो निभाइनसक्दै अर्काे लागिहाल्छ

भारतमा भयावह बनेको कोभिड–१९ को संकट पूरै विश्वका लागि एउटा ठूलो झड्का हो । संक्रमणको उछाल जुन स्तरमा छ त्यो भारतका छिमेकीका लागि मात्रै होइन विश्वभरकै लागि गम्भीर चेतावनी पनि हो । हामीले यो चेतावनीलाई अनदेखा गरे हामी लकडाउन, आर्थिक क्षति एवं निरन्तरको त्रासको दीर्घकालीन घनचक्करमा फस्ने जोखिम छ ।

अहिले भारतमा दैनिक चार लाखनजिकमा संक्रमण र ३५ सय हाराहारीमा मृत्युको आँकडा छ । उसको स्वास्थ्य प्रणाली पूरै अस्तव्यस्त बनेको छ । अस्पतालमा शय्या पाउन असम्भवप्रायः भएको छ । अक्सिजनको हाहाकार छ र निदानात्मक परीक्षणको ठूलो अभाव छ । यसपटक साना बालबालिका पहिलेभन्दा बढी संक्रमित भएका छन् र कहरको कडामार गरिबमा बढी नै बर्सिएको छ । भारतमा विनाशकारी बनेको दोस्रो लहरका लागि असफल रोकथाम योजना, सार्वजनिक स्वास्थ्य मापदण्ड खुकुलो बनाउनको हतारो, विशाल चुनावीसभा, अपर्याप्त खोप र थप संक्रमक र कडा बि.१.१.७ र बि.१.६१७ जस्ता नयाँ भेरियन्ट प्रमुख रहे । भारतसँग ९५ हजार सघन उपचार शय्या र ४८ हजार भेन्टिलेटर छन् । तर, यही महिनाको मध्यसम्ममा भारतलाई तीन लाख ४० हजार आइसियू र सात लाख भेन्टिलेटरहरू चाहिने आकलन छ । भारतको ग्रामीण क्षेत्रमा आइमसियू एवं भेन्टिलेटरको सुविधा नहुँदा अवस्था दुरुह छ । यसर्थ पनि यो संकटबाट उभरिन भारतलाई विश्वव्यापी अन्तर्राष्ट्रिय सहयोगको नितान्त आवश्यक छ ।

भारतसँग ९५ हजार सघन उपचार शय्या र ४८ हजार भेन्टिलेटर छन्, तर यही महिनाको मध्यसम्ममा भारतलाई तीन लाख ४० हजार आइसियू र सात लाख भेन्टिलेटर चाहिने आकलन छ 

भारत दोस्रो लहरलाई नियन्त्रण लिन संघर्षरत रहेको यही बखत नेपाल, पाकिस्तान, बंगलादेश तथा श्रीलंकालगायतका छिमेकी मुलुकमा पनि प्रकोप तीव्रतामा छ । बि.१.६७१ भेरियन्ट १८ भन्दा धेरै मुलुकमा फैलिइसकेको अवस्थामा ती मुलुकमा यही नयाँ भेरियन्ट फैलिएको हो वा होइन अहिलेसम्म स्पष्ट भइसकेको छैन । भारतको तुलनामा अन्य दक्षिण एसियाली मुलुकमा चिकित्सकीय पूर्वाधार तथा स्रोतसाधनको निकै न्यूनता छ । उदाहरणका लागि नेपाललाई नै लिऔँ । पूरै नेपालमा केवल १४८६ आइसियू र ६३४ भेन्टिलेटर छन् । नेपालको स्वास्थ्य मन्त्रालयले जुलाई महिनासम्ममा नेपाललाई १५ हजार आइसियू आवश्यक पर्न सक्छ । १६ करोड ३० लाख आवादी भएको बंगलादेशसँग त कोभिड–१९का लागि छुट्याएका आइसियू बेड ११३४ वटा मात्रै छन् । पाकिस्तानसँग पनि चार हजारभन्दा थोरै मात्र भेन्टिलेटर छन् । भारतले अहिले सामना गरिरहेको स्तरको संक्रमण भए भारतका यी छिमेकीको हालत भारतको भन्दा बेहाल हुनेछ ।

यी मुलुकमा प्रकोपको लहर रोक्ने गरी खोपको अवस्था उत्साहजनक छैन । पाकिस्तान, बंगलादेश र नेपालले क्रमशः १,३.५ र सात प्रतिशतलाई पहिलो मात्राको खोप दिन सकेका छन् । भारतले खोप अरू मुलुकलाई दिन छोड्दा तीनले छिट्टै खोप पाउने अवस्था छैन, डब्लुएचओले दिने भनेको खोप पनि भारतलगायतले खोप उपलब्ध नगराउँदा अवरुद्ध छ । न्यून आयमूलक खासगरी अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरूमा कडा र बढी संक्रामक भाइरसको प्रसार अर्काे डरलाग्दो परिदृश्य हो । ब्राजिलमा नियन्त्रणबाहिर पुगेको कडा भाइरस अधिकांश दक्षिण अमेरिकी मुलुकमा फैलिसकेको अवस्था छ ।

अधिकांश अफ्रिकी मुलुकमा स्वास्थ्य पूर्वाधारको अवस्था दयनीय छ । अफ्रिकाका ४१ मुलुकमा भेन्टिलेटरको संख्या २००० पनि नभएको आकलन गरिन्छ । यहाँका १० मुलुकमा त एउटै भेन्टिलेटर छैनन् । अहिलेसम्मका केवल दुई प्रतिशत खोप मात्रै अफ्रिकामा पुगेका छन् । यस हिसाबले त्यहाँका गरिब मुलुकले २०२४ सम्ममा पनि खोप पाउने अवस्था देखिँदैन । त्यसैले, अहिले एसिया र दक्षिण अमेरिकामा सन्त्रास मच्चाइरहेको नयाँ भेरियन्ट अफ्रिका महादेशमा फैलिए त्यो ठूलो अभिशाप बन्न सक्छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न छोडे अहिले दक्षिण एसियामा मच्चाइरहेको विनाश लिलाले चाँडै अफ्रिकालाई छोप्नेछ ।

कुनै मुलुक सुरक्षित छैनन् । पछिल्लो भेरियन्टले यो महामारीलाई थप रौद्ररूपको बनाइदिएको छ । धनी मुलुकहरूले मात्रै खोप लगाउँदैमा उनीहरू सुरक्षित हुन सक्दैनन् । यो महामारीलाई अन्त्य गर्ने एउटै उपाय सबैतिरबाट यो भाइरसलाई निमिट्यान्न पार्ने नै हो । अन्यथा, निरन्तर रूप बदलिरहेको यो भाइरससँग लुकामारीको खेल सधैँ चलिनैरहनेछ । खोपमा विश्वव्यापी पहुँच नहुने हो भने हामीप्रति इतिहास निर्दयी हुनेछ । यतिखेर हामीसँग विज्ञानको वरदानले अत्यन्त प्रभावकारी खोपहरू छन् । तर, खोपहरू आफैँले मात्रै थुपार्ने र यसका कच्चा पदार्थ र जानकारीलाई सार्वभौमिक नबनाउने कार्य नै हाम्रो सबभन्दा ठूलो रणनीतिक भुल हुँदै छ ।

विश्वका नेताहरूले खोपबाट बौद्धिक सम्पत्ति अधिकार हटाउन, प्रविधि साझेदारी र अधिकभन्दा अधिक मुलुकलाई खोप उत्पादन गर्न सघाउनै पर्छ । एमआएरएन खोप प्रविधिको साझेदारी यो लडाइँमा महत्ववपूर्ण छ । यो प्रविधिले खोपलाई तत्कालै नयाँ भेरियन्टअनुसार बनाउन सक्षमता दिएको छ । भारतको संकट विश्वका लागि नै खतराको चेतावनी हो । मुलुकहरूले एक्लाएक्लै लडेर यो महामारीलाई नजित्ने प्रमाणित भइसकेको छ । एउटा डढेलो निभाए अर्काे लागिहाल्छ । विश्वका नेताले आफ्नो देशको सीमाबाहिर निस्किएर सोच्न र सम्पूर्ण मानवताको पक्षमा पहलकदमी लिन ढिला हुँदै छ । 

(पाई म्याकगिल विश्वविद्यालयमा महामारी विज्ञानका प्राध्यापक छन् । मनु प्रकाश स्ट्यानफोर्डमा बायो–इन्जिनियरिङका सहप्राध्यापक छन्)
वासिङ्टन पोस्टबाट

 

सुझावित समाचार