कर बुझाउने म्याद थप गर्न निजी क्षेत्रको माग

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले  छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कर तिर्ने म्याद थप गर्न आग्रह

निजी क्षेत्रले कर विवरण र सोअनुसारको रकम बुझाउनुपर्ने म्याद थप गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झन्डै दुईतिहाइ भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनुपर्ने कर विवरण र कर रकम भुक्तानीका लागि समय थप गर्न माग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कर तिर्ने म्याद थप गर्न आग्रह गरेका हुन् । उनीहरूले अहिलेकोे विषम परिस्थितिलाई ध्यान दिएर मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टीलगायतका करहरूको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले सम्बन्धित सरकारी निकायमा पत्राचार गरेर कर विवरण र रकम बुझाउनुपर्ने म्याद थप गर्न आग्रह गरिसकेको जनाएको छ ।  

नेपाल उद्योग परिसंघले निषेधाज्ञाको समयमा कर दाखिला गर्ने र विवरण बुझाउने थप समय माग गर्दै महामारीका कारण समयमै कर विवरण र रकम बुझाउन नसकेमा थप शुल्क र जरिवाना नलिन आग्रहसमेत गरेको छ । ‘परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ,’ परिसंघको विज्ञप्तिमा उल्लेख छ, ‘महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले सरकारसँग माग गरेको छ ।’  

परिसंघले कोभिडको महामारीमा अत्यधिक माग देखिएको औषधि एवं स्वास्थ्य उपकरण र अक्सिजनको सिलिन्डर सरकार आफैँले तत्काल आयात गर्नसमेत माग गरेको छ । यदि सरकार आफैँले आयात गर्न नसक्ने भएमा निजी क्षेत्रलाई भन्सार महसुल र पारवहन शुल्क छुट गरी आयातका लागि प्रोत्साहित गर्नुपर्ने परिसंघको माग रहेको छ । 

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सले अहिलेको परिस्थितिमा कर विवरण बुझाउन र सोअनुसारको रकम भुक्तानी गर्न अप्ठ्यारो हुने बताएको छ । कोभिड संक्रमणको रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण उद्योग–व्यवसाय बन्द भएको तथा आवतजावतमा समेत अवरोध भएका कारण कर विवरण र रकम बुझाउन कठिन हुने चेम्बरले उल्लेख गरेको छ । 

‘नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्र रूपमा बढिरहेको छ, यो संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएको छ,’ चेम्बरले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘निषेधाज्ञाका कारण उद्योग–व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन, सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकाले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न सम्भव छैन ।’ 

अहिले अनलाइनबाट समेत कर विवरण र रकम बुझाउन सम्भव नभएकाले आवश्यक म्याद थप गरिदिने व्यवस्थाका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिएको चेम्बरले जानकारी दिएको छ ।

See More On

सुझावित समाचार