माथिल्लो दोर्दी ‘ए’ मा जेठमा बिजुली बल्ने

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना जेठमा विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माणाधीन आयोजनाको ९९ प्रतिशत काम सकिएसँगै जेठबाट विद्युत् उत्पादन हुने भएको हो ।

संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी सुरुङमा परीक्षण सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजनाका सञ्चालक रामबहादुर पाण्डेले बताए ।

उनका अनुसार विद्युत् उत्पादन परीक्षणका लागि आयोजनाको सुरुङमा पानी हाल्न सुरु भएको छ । गत चैतमा व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने भनिए पनि उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न प्रसारण लाइन नहुँदा व्यावसायिक उत्पादनमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

यद्यपि, दोर्दी करिडोरमा १ सय ३२ केभी राष्ट्रिय प्रसारण लाइन पनि करिब सम्पन्न अवस्थामा पुगेकाले विद्युत् उत्पादनमा समस्या नहुने आयोजनाको दाबी छ । आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भएको पाण्डेको भनाइ छ ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा पर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन आयोजनाले हेडवक्र्ससँगै बाँध क्षेत्र, पावरहाउस, इलेक्ट्रो मेकानिकललगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरिसकेको छ । आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । 

सुझावित समाचार