विश्व मिडियाले भारतको संकटलाई कसरी प्रस्तुत गरे ?

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

भारतमा विध्वंस मच्चाइरहेको कोरोना भाइरसको दोस्रो लहरलाई अन्तर्राष्ट्रिय प्रमुख मिडियाले ठूलो स्थान दिइरहेका छन् । कोभिडको पछिल्लो लहरमा मरेका मानिसहरूको सामूहिक दाहसंस्कार, अक्सिजनको अभाव, कमजोर स्वास्थ्य प्रणाली र उपचार नपाई तड्पेर मरेका घटनाहरूले विश्वकै ध्यान तानेकाले बाह्य मुलुकका मिडियाको ध्यान नतान्ने कुरै हुँदैन ।

अन्तर्राष्ट्रिय समाचारमा विशेषतः सामूहिक दाहसंस्कारमा जलिरहेको चिता वा चिता जलेपछिको मसानघाटको माथिबाट खिचिएको फोटो सकेसम्म छुटेका छैनन् । यी तस्बिरहरू भारतको महामारीको स्तर अभिव्यक्त गर्न प्रभावकारी बनेका छन् । 

अन्तर्राष्ट्रिय मिडियामा छापिएका समाचार, सम्पादकीय र विचार आलेखहरूमा पछिल्लो संकटका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारलाई दोषी मानिएको छ । धेरैको आरोप छ, मोदी र उनको सरकारले टार्न सकिने विपद् निम्त्यायो । विशेषतः कुम्भ मेला आयोजना गर्न अनुमति दिने मोदी सरकारको निर्णय र सत्तारूढ भाजपाले कोभिड नियन्त्रण नियमावली बेवास्ता गर्दै आयोजना गरेको ठुल्ठूला चुनावी सभाले स्थिति भयावह बनाउन भूमिका खेलेको आरोप छ ।

पछिल्लो समय अमेरिकामा मुख्यालय रहेको टाइम म्यागेजिनले भारतको कोरोना विपद्बारे लेखेको छ । म्यागजिनमा ‘हाउ मोदी फेल्ड अस ? (मोदीले हामीलाई कसरी असफल बनाए)’ शीर्षकको आलेख लेख्दै भारतीय पत्रकार राना अयुबले मोदीको आलोचना गरेकी छन् । ‘प्रधानमन्त्री मोदीको ‘स्ट्रोङम्यान’ सत्ताले सम्पूर्ण सतर्कतालाई बेवास्ता गर्दा भारतले दोस्रो लहरसँग जुध्नका लागि तयारी गर्न सकेन ।’ अयुबले लेखमा मोदीले ढिलो गरी मात्र कुम्भ मेलाको ‘प्रतीकात्मक’ सहभागिताका लागि आह्वान गरेको उल्लेख गरेकी छन् । ‘हजारौँ मानिस चिकित्सकीय सहायता मागिरहेका थिए । तर, हाम्रा गृहमन्त्री तथा प्रधामन्त्री तिनलाई बेवास्ता गर्दै चुनावी अभियानमा केन्द्रित भए,’ अयुबले टाइमको आलेखमा लेखेकी छन् । 

अन्य प्रमुख अन्तर्राष्ट्रिय मिडिया ‘द न्युयोर्क टाइम्स’ र ‘द गार्जियन’मा प्रकाशित रिपोर्ट तथा विचार आलेखमा पनि यस्तै विचार व्यक्त गरिएको छ । ‘कोभिड–१९ ले भारतमा विध्वंस मच्चाइरहँदा सबै मृतकको गन्ती भइरहेको छैन,’ आशयमा अघिल्लो साता न्युयोर्क टाइम्सले समाचार लेखेको थियो । समाचारमा मसानघाट हेर्ने अधिकारीले कोभिडले मरेका मानिसको मृत्युको कारणमा पनि ‘अन्य बिरामी’ लेखेको पाइएको लेख्दै ‘तथ्यांकको पूर्ण हत्या’ भइरहेको उल्लेख गरेको छ । ‘महामारीका कारण सिर्जना भएको हताहती बेवास्तामा परेको छ, महामारीको वास्तविक मानवीय क्षतिलाई कम देखाइँदै छ,’ न्युयोर्क टाइम्सको समाचारमा भनिएको छ । 

गार्जियनमा ‘भारतको कोभिड आपत्’ शीर्षकको लामो आलेख लेख्दै लेखक तथा राजनीतिक अभियन्ता अरुन्धती रोयले लेखेकी छन्, ‘भारतमा जे भइरहेको छ, त्यो मानवीयतामाथिको अपराध हो । भारतको कोभिडको हताहतीको वास्तविक संख्या डोनाल्ड ट्रम्पको भारत भ्रमणको समय एहेमदाबादमा निर्माण भएको पर्खालजस्तै छ ।

प्रमुख अन्तर्राष्ट्रिय मिडियाले भारतको पछिल्लो संकटलाई महत्वका साथ कभर गरिरहेका छन् र अधिकांश समाचार तथा आलेखमा पछिल्लो स्थितिका लागि प्रधानमन्त्री मोदी र उनको सरकारलाई दोषी ठहर्याइएको छ 

फेब्रुअरी २०२० मा मोदीले ट्रम्पको सम्मानमा आयोजना गरेको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुन आएका ट्रम्प कार्यक्रमस्थलसम्म पुग्दा बाटोछेउका झुपडी बस्ती नदेखून् भनेर पर्खाल बनाइएको थियो । सरकारले दिएको तथ्यांक भयानक छ, तर त्यसले सरकारले देखाउन चाहेको भारतको चित्र प्रस्तुत गर्छ, वास्तविक भारतको होइन । वास्तविक भारतमा त मानिसहरूले हिन्दूको रूपमा मतदान गरून्, तर कुकुर–बिरालाजसरी मरून् भन्ने आशा गरिन्छ,’ रोयले लेखेकी छन् । 

बेलायतबाट प्रकाशित हुने गार्जियनले २३ अप्रिलमा भारतको अवस्थाबारे एक सम्पादकीय पनि लेखेको थियो । सम्पादकीयले दोस्रो लहरले विनाशकारी रूप लिनुमा मोदीको ‘अति आत्मविश्वास’ जिम्मेवार भएको आरोप लगाएको छ । कुल जनसंख्याको जम्मा १ प्रतिशतभन्दा कमले मात्र खोप लगाएको अवस्थामा मोदीले आफूहरू ‘विश्वको फार्मेसी’ भन्दै गर्व गर्दै हिँडेकोमा उनको आलोचना गरेको छ । साथै, न्यून जनसंख्यालाई मात्र खोप लगाएको अवस्थामै आमजनजीवन महामारीपूर्वकै अवस्थामा खुकुलो बनाउनु पनि घातक भएको सम्पादकीयमा भनिएको छ । मोदीलाई ट्रम्पसँग तुलना गर्दै भाइरसले हजारौँको ज्यान लिन सुरु गर्दासमेत मोदीले मास्कविनै चुनावी अभियान सञ्चालन गरेको पनि गार्जियनले उल्लेख गरेको छ । 

रुपर्ट मर्डकको स्वामित्वमा रहेको अस्ट्रेलियाको राष्ट्रिय दैनिक ‘द अस्ट्रेलियन’ले अघिल्लो साता भारतको महामारीबारे लेखेको समाचारलाई लिएर भारतीय उच्च आयोगले विरोध जनाएको थियो । पत्रिकाको एसिया संवाददाता फिलिप सेरवेलले लेखेको समाचारमा ‘अहंकार, उग्र राष्ट्रवाद र कर्मचारी अक्षमताको योगले भारतको संकट भयावह बनेको र जनता निस्सासिरहँदा भीड मन पराउने मोदीले बेवास्ता गरेको’ भनिएको छ । समाचारमा भारतको केन्द्र सरकारको ‘घमण्ड’, ‘राष्ट्रवादी राजनीति’, सुस्त खोप अभियान र ‘नियन्त्रणमा भन्दा अर्थतन्त्रको प्रवद्र्धन गर्ने’ प्रवृत्तिको आलोचना गरिएको छ । 

द अस्ट्रेलियनमा प्रकाशित समाचारप्रति अस्ट्रेलियास्थित भारतीय उच्च आयोगले प्रतिक्रिया जनाउँदै समाचार ‘आधारहीन, द्वेषपूर्ण र झुटो’ भएको जवाफ दियो । तर, पत्रिकाले अर्को दिन भारतको कोभिड संकटलाई झन् प्राथमिकता दिँदै लेख्यो । ‘भारतीयहरू अझै मरिरहेका छन्, मरिरहेका छन् र मरिरहेका छन्’ शीर्षक राखेर लेखिएको समाचारमा भारतको राजधानीमा समेत अस्पतालको बेड अभाव रहेको र अक्सिजन, रेम्डेसिभिरजस्ता अत्यावश्यक औषधि आवश्यक मात्रामा पाउन छाडेको’ लेखिएको छ ।

समाचारमा पछिल्लो संकटमा सरकारभन्दा स्वयंसेवी समूहहरू बढी उत्तरदायी रहेकोसमेत लेखिएको छ । ‘जहाँ सरकार असफल भएको छ, जनता त्यहाँ अघि सरेका छन्,’ समाचारमा भनिएको छ । अंग्रेजी भाषामा प्रकाशित हुने चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले भने भारतको महामारीको पछिल्लो लहरको समाचारमा बेग्लै पक्षको आलोचना गरेको छ ।

ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले यस संकटमा पनि अमेरिकाले भारतलाई सहयोग नगरेकोमा प्रश्न उठाएका छन् । ‘युएस भ्याक्सिन हेल्प टु इन्डिया टु लिटल, टु लेट (भारतलाई अमेरिकी खोप सहयोग थोरै र ढिलो आयो)’ शीर्षकमा हुले लेखेको आलेखमा अमेरिकाले ‘प्रचारका लागि मात्र’ र ‘वासिङ्टनको कोमल पक्ष’को ढोंग गर्न मात्र सहयोग गरेको हुन सक्ने आशंका गरिएको छ । ढिलो गरी मात्र सहयोग गरेकोमा अमेरिकाको आलोचना गर्दै लेखमा भनिएको छ, ‘यति ढिलो गरी त्यो पनि मन नलागी–नलागी गरिएको सहयोगलाई पनि उनीहरू समयमै सहयोग गरेजसरी उत्साहका साथ प्रचार गरिरहेका छन् ।’

अप्रिल २४ मा अमेरिकाको द वासिङ्टन पोस्टको सम्पादकीय बोर्डले पनि भारतको नयाँ लहरबारे सम्पादकीय लेख्यो । सम्पादकीयमा भारतमा हाल देखिएको कोभिडको नयाँ लहरलाई पन्छाउन सकिने विपद् उल्लेख गरिएको छ । ‘भारत सरकारले निकै चाँडै सबै कुरा खुला गरेकाले कोभिड अहिलेको स्तरमा बढ्यो ।

मार्चको अन्तिमतिर महामारीको दोस्रो लहरले गति लिन लाग्दा केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वद्र्धनले कोभिड अन्त्य भएको घोषणा गर्ने गल्ती गरेका थिए ।’ पोस्टले आफ्नो सम्पादकीयमा कुम्भ मेलाजस्तो विशाल धार्मिक भेलालाई अनुमति दिएको, चुनावी र्यालीमा सतर्कता बेवास्ता गरिएको र श्रमिकको आवागमनका कारण दोस्रो लहरले यति भयावह रूप लिएको लेखेको छ । 

प्रमुख शक्तिराष्ट्रका बाहेक एसियाको सम्पन्न राष्ट्रका रूपमा गनिने सिंगापुरबाट प्रकाशित हुने ‘द स्ट्रेट्स टाइम्स’ले पनि ‘भारतको राजनीतिले अहिलेको संकट निम्त्याएको’ लेखेको छ । पत्रिकाको सहसम्पादक रवि भेलुरद्वारा लेखिएको लेखमा मोदीले पछिल्लो समय विभिन्न राज्यमा मास्कविनै ठुल्ठूला सभा आयोजना गरेको बताउँदै त्यसले महामारीप्रति मानिसको डर कम भएको भनिएको छ ।

लेखकले मोदीको क्याबिनेटमा हुने छलफलको प्रभावकारितामाथि पनि प्रश्न उठाएका छन् । ‘यो संकटलाई हेर्दा मेरो मनमा मोदीको नेतृत्वमा हुने क्याबिनेट छलफलमा आखिर के कुरा हुन्छ भन्ने प्रश्न आइरहेको छ । उनको क्याबिनेटका स्वास्थ्यमन्त्री एक सक्षम चिकित्सक हुन् र उनी विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डका प्रमुखसमेत हुन् । उनको क्याबिनेटमा रहेका अन्य दुई सहकर्मी पनि भारती विदेश सेवाबाट अवकाश पाएका प्रतिष्ठित व्यक्तित्व हुन् । उनीहरूको पूरा करिअर बाह्य विश्वमा केन्द्रित भएको थियो । तर, अवस्था यस्तो छ । भारतमा जारी स्वास्थ्य विपद् प्राकृतिक विपद् भए पनि यो सरकारी उदासीनता, खराब शासन र शक्तिको खेलले विकाराल बन्यो,’ आलेखमा रविले भनेका छन् ।

 अप्रिल २० मा न्युयोर्क टाइम्समा छापिएको विचार लेखमा अर्थशास्त्री तथा संक्रमण रोगविद् रामानन लक्षीनारायनले भारतको पछिल्लो अवस्थाबारे लेख्दै भनेका छन्, ‘सरकार आफ्नो विगतको काममै रमाएर तयारी नगर्दा अभूतपूर्व संकटमा धकेलियो ।’ लक्षीनारायनका अनुसार फेब्रुअरीमा संक्रमितको संख्या उल्लेख्य कम हुँदा भारतीय सरकार र नीतिनिर्माताले ‘समयअघि नै महामारीमाथि विजय पाएको घोषणा’ गरे । त्यसकै कारण स्थिति नाटकीय रूपमा बदलिन सुरु भएको लक्षीनारायनको विश्लेषण छ । ‘भारतीय मिडियाले राजनीति, धर्म र खेलकुदका समाचारलाई अत्यधिक महत्व दिएर प्रसारण गर्यो । यसबाट आममानिसमा महामारी साम्य भइसकेको सन्देश प्रवाहित भयो,’ लेखमा रामानन लक्षीनारायनले लेखेका छन् । 
(लेखक द प्रिन्टकी रिपोर्टर हुन्) द प्रिन्टबाट

सुझावित समाचार