निषेधाज्ञा अवज्ञा गर्ने आठजनालाई कारबाही

निषेधाज्ञाको अवज्ञा गर्ने हजार भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

रुपन्देहीमा निषेधाज्ञा कडाइ गर्ने क्रममा निषेधाज्ञा अवज्ञा गर्ने आठजना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा अवज्ञा गर्ने एकजना महिलासहित आठजनालाई कारबाही गरिएको हो ।

उनीहरूलाई सम्झाइबुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई ड्युटीमा बाधा–अवरोध पुर्याएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्वास्थ्य मापदण्डदेखि महामारीबारे जानाकारी गराउँदा प्रहरीको ड्युटीमा अवरोध पुर्याएपछि उनीहरूलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको थियो । 

निजहरूमध्ये सातजना पुरुषलाई एक महिना कैद वा सोबराबरको जरिवानाअनुरूप जनही नाै हजार एक सय रुपैयाँ र एक महिलालाई जरिवानाबापत ६ सय जरिवाना तोकिएको थियो । तीमध्ये पाँचजना व्यक्तिलाई कैद र जरिवानाबापतको रकम दाखिला गराई छाडिएको र अन्य तीनजना कारागार चलान भएका छन् । 

एक महिना कैद वा सोबराबरको जरिवानाअनुरूपको रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ  ।यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा अवज्ञा गर्ने एक हजार २० वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । 

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये धेरै मोटरसाइकल रहेका छन् ।  
 

सुझावित समाचार