गत साता नेप्से परिसूचक उच्च उतारचढावमा देखिएको छ । समग्रमा नेप्सेले ८७ अंक गुमाएको छ । २ हजार ६ सय ३२ सम्म पुगेर घट्न थामिएको नेप्से अन्तिम दिन बिहीबार १५ अंकले बढेको हो ।
यससँगै बजार पुनः वृद्धिको बाटोमा जान सक्ने अनुमान गरिएको छ । बजारलाई अन्य आधारभूत पक्षले साथ दिइरहेकै छ । निक्षेप र कर्जाको ब्याजदर खासै बढेको छैन । तरलताको समस्या खासै नआउनेमा पनि बैंकरहरू विश्वस्त छन् । केही कम्पनीहरूको नाफा वृद्धि ठिकै देखिएको छ । यसले बजारलाई सकारात्मक प्रभाव पारिरहेकै छ । यद्यपि, केहीबाहेक धेरैजसो समूहमा रहेका कम्पनीहरूको मूल्य उच्च तहकै हाराहारीमा रहेकाले कम्पनीले दिन सक्ने प्रतिफललगायतको विश्लेषण गरेर लगानी गर्नु सही हुन्छ ।
गत साता भने कारोबार रकम ४० प्रतिशतभन्दा धेरैले बढेर ३२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता तीन दिन मात्रै बजारमा कारोबार भएकाले गत साता कारोबार रकम उच्च वृद्धि देखिएको हो । औसत दैनिक कारोबार रकम भने करिब १६ प्रतिशतले घटेको छ । औसत दैनिक कारोबार रकम ६ अर्ब ५५ करोड रुपैयाँ छ ।
समूहगत सूचकहरू सबै घटेका छन् भने कारोबार संख्या र कारोबार रकमका आधारमा एनआइसी एसिया लघुवित्त अग्रस्थानमा छ । कम्पनीको २६ हजारपटकको कारोबारमा १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । स्वदेशी लघुवित्तलाई हालै मर्जर गरेको यस कम्पनीको तेस्रो त्रैमासमा नाफा ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको नाफा १२ करोड थियो ।
त्यस्तै, कारोबार भएको सेयर संख्याका आधारमा एनसिसी बैंक अग्रस्थानमा छ । बैंकको २९ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको हो । बैंकको मर्जर हल्लाले पनि मूल्य बढेको हो । बैंकको मूल्य ३ सय ४६ रुपैयाँमा सेयर किनबेच भएको हो ।
गत साता बजारमा ४ करोड ५ लाख ५१ हजार थप सेयर थपिएका छन् । साना किसान लघुवित्त, नागरिक लगानी कोष र नारायणी विकास बैंकको हकप्रद सूचीकृत भएको हो । त्यस्तै, साना किसान लघुवित्त, गरिमा विकास, नेपाल इन्भेष्टमेन्ट, साधना विकास र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर सूचीकरण भएको हो ।
प्राविधिक विश्लेषण
नेप्सेको मैनबत्ती चित्रले अन्तिम दिन सानो शरीरसहितको सेतो (हरियो) मैनबत्ती आकृति बनाएको छ । बजार घट्नेक्रममा ब्रेक लागेको संकेत गर्छ । तर, यो दरिलो संकेत होइन । आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।
नेप्सेको ७ दिने रेखाले अहिले पनि २१ दिने रेखालाई मुनि पारेको छ । यसले बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ । तर, यी दुई रेखा निकै नजिकिएका छन् । २१ दिने रेखा माथि लागेमा भने बजारमा डेथ क्रस ओभर हुनेछ र बजार बियरिस प्रवृत्तिमा जानेछ । सोही कारण लगानीकर्ता ‘पर्ख र हेर’मा रहनु सही हुन्छ ।
१४ दिने आरएसआई सूचकले भने बजारमा माग र आपूर्ति सन्तुलित अवस्थामै रहेको देखाउँछ । यो सूचक गत बिहीबार ५५ स्केलबाट थोरै माथि छ । सूचक स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । यो स्केलमा नेप्से घट्दोक्रममा नै रहेकाले ध्यान दिनुपर्ने देखिन्छ ।
पिभट विश्लेषणले भने सेयर बजारमा आगामी एक साता २ हजार ६ सय ५७ मा पहिलो लक्ष्य रहेको र सो बिन्दुमा प्रतिरोध भएमा २ हजार ६ सय २० मा पहिलो टेवा पाउनेछ ।